बुटवलमा कांग्रेसको शक्ति प्रदर्शन : रुपन्देहीबाट राजधानी नसार्न चेतावनी

 माघ ३, २०७५ बिहिबार १७:३:४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर पाँचको अस्थायी राजधानी रुपन्देहीबाट अन्यत्र सारे त्यसको सशक्त प्रतिरोध गर्ने कांग्रेसका नेताहरुले चेतावनी दिएका छन ।

प्रदेशको स्थायी राजधानी रुपन्देही र प्रदेशको नाम लुुुम्बिनी राख्न दबाब दिने उद्देश्यले नेपाली कांग्रेसले बुटवलमा आयोजना गरेको जनप्रदर्शनमा लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, संघ र प्रदेशसभा सदस्य तथा जिल्ला सभापतिहरुले रुपन्देही आर्थिक, सामाजिक, भौगोलिक तथा पर्यटकीय दृष्टिकोणले प्रदेश राजधानीको लागि उपयुक्त भएको भन्दै प्रदेशको स्थायी राजधानीका लागि जस्तोसुकै आन्दोलनको लागि तयार रहेको बताएका हुन ।

सरकाले प्रदेशको राजधानी रुपन्देहीबाट अन्यत्र सार्न षड्यन्त्र गरिरहेको भन्दै उनीहरुले राजधानी सार्ने धृष्टता गरे ठूलो मुल्य चुकाउनु पर्ने बताए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो वर्षको आजकै दिन रुपन्देहीलाई प्रदेश नम्बर पाँचको स्थायी राजधानी तोकेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रदेशको राजधानी रुपन्देहीबाट सार्न खोजिए सरकारले थेग्न नसक्ने आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले केपी ओलीको सरकार केन्द्र र शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार भष्ट्राचारमा चुर्लुम्म डुबेको आरोप समेत लगाउनुभयो । उहाँले केन्द्र र प्रदेश सरकारले जनमतको निरन्तर अपमान गरिरहेको आरोप लगाउनुभयो ।

अर्का केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले रुपन्देहीलाई स्थायी राजधानीको रुपमा स्थापित गर्दा समग्र प्रदेशको विकासमा योगदान पुग्ने बताउनुभयो । अखण्ड पाँच नम्बर प्रदेशको लागि भएको आन्दोलनले प्रदेशलाई अखण्ड राखेको स्मरण गराउँदै उहाँले रुपन्देहीलाई स्थानीय राजधानी बनाउनका लागि थालेको जनदबाबले स्थायी राजधानी कायम हुने बताउनुभयो ।

उहाँले वाइडबडी बिमान खरिद प्रकरणमा ओली सरकार र गाडी खरिद प्रकरणमा प्रदेश सरकारले चरम भष्ट्राचार गरेको भन्दै छानबिन गरी दोषिलाई जेल पठाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नवलपरासीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल, कपिलबस्तुबाट प्रतिनिधित्व गर्ने सांसद बिरेन्द्र कनौडिया, अर्घाखाँची कांग्रेसका सभापति बिष्णु मुस्कान, रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाक, पाल्पाका सभापति वीरबहादुर राना, गुल्मीका सभापति भुवन श्रेष्ठ, प्रदेशसभा सदस्य रमा अर्याल, जिल्ला सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति हरि लम्सालले बोल्दै चौतर्फी रुपमा असफल बनेको सरकारले प्रदेशको राजधानी सार्ने षड्यन्त्र गरिरहेको भन्दै त्यसकाविरुद्ध कांग्रेसले सदन र सडक दुवै तताउने बताउनुभयो ।

प्रर्दशनमा रुपन्देहीका ग्रामिण क्षेत्रहरुबाट समेत समर्थक र कार्यकर्ताले विभिन्न झाँकीसहित सहभागिता जनाएका थिए । प्रर्दशनका क्रममा बुटवलको आवागमन अस्तब्यस्त बनेको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया