मन्त्रीले सचिव पिटेकाे सम्बन्धमा छानबिन समिति बनिसकेकाेले केन्द्रले बाेल्न मिल्दैन: मन्त्री बाँस्काेटा

 माघ ३, २०७५ बिहिबार १८:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपिट गरेको विषय छानबिनको क्रममा रहेकाले थप टिप्पणी गरिरहन नमिल्ने स्पष्ट पारेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो घटनाबारे प्रदेश २ को सरकारले छानबिन सुरु गरेकाले त्यसमा थप बोलिरहन नमिल्ने प्रतिक्रिया दिनुभएको हो । प्रदेश २ को सरकारले सो घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।

छानबिन समितिले दिएको रिपाेर्टका आधारमा दोषीमाथि कडा कारबाही हुने तर अहिले नै सो सम्बन्धमा पूर्वानुमान गर्न नमिल्ने सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाको भनाइ छ ।

बिहीबार मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रदेश २ को सरकारले छानबिन सुरु गरेकाले त्यसमा केन्द्र सरकारले चासो नदिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले सरकार अन्तराष्ट्रिय लगानी भित्र्याउन राष्ट्रिय हित अनुकूल हुनेगरी कानुन संशोधन गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले लगानीकर्ताको लगानी प्रवर्द्धन र राष्ट्रिय हित दुवै कुरालाई केन्द्रमा राखेर सरकारले कानुन संशोधन गरेर अघि बढने नीति लिएको पनि बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकारले विभिन्न प्रक्रिया पूरा गरेर जानुपर्ने भएकाले २५ अर्बभन्दा बढीको लगानीमा सम्पन्न हुने आयोजना प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट सोझै अगाडि बढाउने व्यवस्था गरेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया