PUBG खेलकाे लत : मानसिक समस्याको खतरा !

 माघ ४, २०७५ शुक्रबार १३:२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्जिनियरिङ पढ्दै गरेका बुटवलका सोहन न्यौपाने (परिवर्तित नाम) लाई अनलाइनको माध्मद्वारा कम्प्युटर तथा माेबाइलमा खेलिने ‘प्लेयर अननोन ब्याटलग्राउण्ड’ अर्थात PUBG खेलकाे लत बस्यो । याे खेल खेल्न थालेपछि उनले धेरैपटक खाना खान समेत बिर्सिए । परीक्षाकोसमेत वास्ता हुन छाड्यो ।

अघिल्ला सेमेस्टर राम्रै अंक ल्याएर पास गरेका सोहन चौंथो सेमेस्टरमा दुई विषयमा फेल भए । ‘कलेजको परीक्षा भन्दा पबजीको टार्गेट बढी महत्वपूर्ण लाग्थ्यो, अब खेल्दिनँ भन्दा पनि छोड्न सकेको थिइनँ,’ उनले भने ‘मलाई मेरो सर्कलका साथीहरुले चिकेन डिनरसमेत भनेर जिस्काउँथे ।’ 

सोहन पहिले एक्लै कोठामा बस्थे । त्यसपछि मामा पनि सँगै बस्न थाले । मामा सँगै भएपछि भने सोहनको खेल्ने बानी बिस्तारै कम हुन थाल्यो । तर कतिपटक त पढ्न जान्छु भनेर साथीकोमा रातभरी पबजी खेलेर समेत बस्न थाले । 

‘त्यो थाहा पाएर मामा खुब रिसाउनुभयो, घरमा पनि भनिदिनुभएछ,’ सोहनले भने ‘बाबाले गाली गर्नुभयो, अनि आफै‌ंलाई आत्मग्लानी भयो, त्यसपछि मैले अब यस्तो गेम चलाउँदिन भनेर एक महिनासम्म ल्यापटप नै थन्काएर राखें ।’ त्यसपछि सोहनले भर्चुअल खेल पबजी खेल्न छाड्नुभयो र खेलसँगै भर्चुअल ‘चिकन डिनर’ पनि छुट्यो । याे खेलमा चिकेन डिनर भन्नाले खेलकाे मिसन कटाइसकेपछि  विजेताले पाउने डिनर पार्टि हाे ।

सोहन त एउटा प्रतिनिधि पात्र मात्र हुन् । हिजोआज उनीजस्तै धेरै युवाले आफ्नो महत्वपूर्ण समय पबजी खेलेर बिताउने गरेका छन् । 

पबजी एउटा भर्चुअल खेल हो । यो खेल इन्टरनेटको माध्यामबाट कम्प्युटर तथा राम्रो मोबाइलमा खेल्न सकिन्छ । यसको नसा बसेपछि छुटाउन गाह्रो हुने यो खेल खेल्नेहरु बताउँँछन् । 

अछामका प्रेम जोशी भन्नुहुन्छ, ‘रक्सीको नसा भन्दा पनि बढी नसा लाग्दोरहेछ यसको त ।’ उहाँ अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ । दिनभरी कोठामा खाली बस्दा समय बिताउन यो खेल खेलेको उहाँले बताउनुभयो । 

‘खाली हुँदा खेलेको हो, व्यस्तता बढेपछि त आफै छुट्छ होला नि,’ उहाँले भन्नुभयो ।

मानसिक स्वास्थ्यको लागि हानिकारक

एक हप्ताअघि मात्र भारतको जम्मुका एकजना फिटनेस ट्रेनर पबजी खेलको लतमा परेर मानसिक सन्तुलन नै गुमाउन पुगेका थिए । उनी १० दिनदेखि यो खेल खेलिरहेका थिए । पछि मानसिक अवस्था गुमाउन पुगे र उनलाई अस्पताल भर्ना गरियो । जम्मुमा यो छैटौं घटना हो । अहिले त्यहाँका विद्यार्थी सहित आमनागरिकले यो खेलमाथि प्रतिबन्ध लगाउन सरकारसँग माग गरिरहेका छन् । 

मनोविद बशु आचार्य पबजी जस्ता भर्चुअल खेलले मानसिक समस्या निम्त्याउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यसले व्यक्तिलाई एकोहोरो बनाउँछ, सामाजिक कार्यमा सहभागी हुन मन लाग्दैन, कसैले बोलेमा पनि रीस उठ्ने हुन्छ । जसका कारण उ बिस्तारै डिप्रेसनको शिकार हुँदै जान्छ ।’

पछिल्लो समय पढाइ बिग्रियो, केही काम गर्नमा पनि मन लाग्दैन भन्ने जस्ता समस्या लिएर आउनेहरुको संख्या बढ्दै गएको र यसको प्रमुख कारण यस्तै भर्चुअल खेलहरु भएको मनोविद आचार्य बताउनुहुन्छ ।

‘यसको लत अल्कोहलको भन्दा पनि बढी हुन्छ,’ अर्का मनोचिकित्सक सञ्जय झा भन्नुहुन्छ, ‘कमजोर मस्तिष्क भएका बालबालिका तथा कहिलेकाहीँ युवा समेतले गेममा मिसन पूरा गर्न नसक्दा अर्थात असफल हुँदा आत्महत्याको प्रयास समेत गर्ने गरेका छन् ।’

सरकारले नै यस्ता खेलहरुलाई गम्भीर रुपमा लिनुपर्ने र नियन्त्रण गर्नुपर्ने मनोचिकित्सक सञ्जय झा बताउनुहुन्छ । ‘यस्तै अवस्था रहने हो भने अबको ४÷५ वर्षमा यसले भयावह रुप ननिम्त्याउला भन्न सकिंदैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले अहिलेदेखि नै सोच्नुपर्छ ।’

सामाजिक सञ्जालमा पबजीको ट्रोल

हिजोआज युवाहरु जम्मा भएको ठाउँमा पबजीको बारेमा गफ हुने गरेको छ ।

सामाजिक सञ्जालमा यसको ट्रोल बनाएर उडाउनेको संख्या पनि त्यति नै छ । ‘केटी टिकटककी अभिनेत्री’ र ‘केटा पबजीमा आर्मीको जागिरे’ भएको भन्दै ट्रोल बनाइएका छन् ।

पबजीको ट्रोल बनाउनेहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि छोडेका छैनन् ।

यो पनि पढ्नुहाेस् । 

मानसिक स्वास्थ्यका लागि घातक बन्दै PUBG

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया