प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि

 असार ५, २०७५ मंगलबार ७:४६:२१ | उज्यालो सहकर्मी

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि चीनको ६ दिने भ्रमण शुरु गर्दै हुनुहुन्छ ।

चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङ प्रस्थान गर्न लाग्नुभएको हो ।  

चीन भ्रमणका क्रममा उहाँले चीनिया राष्ट्रपति शी चीन फिङ, प्रधानमन्त्री ली खछ्याङ, लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा नेपाल–चीनबिच अन्तरदेशीय सीमापार प्रसारण लाईनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै गल्छी–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाईन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी छ । 

चीन भ्रमणका बेला उर्जा, रेल वे, विजुलीको प्रसारण लाइन र भूकम्प पछिको पुनर्निर्माणका क्षेत्रमा सम्झौता हुने प्रधानमन्त्री ओलीले हिजो संसदलाई जानकारी गराउनुभएको छ ।

अघिल्लोपटक आफु प्रधानमन्त्री हुँदा भएका आपसी सहमतिको कार्यान्वयनका विषयमा पनि थप छलफल हुने उहाँले बताउनुभयो । साथै २ देशका नाका खोल्ने विषयमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्री अ‍ोलीले, नेपालको विकासका प्राथमिकताबारे जानकारी गराउनुका साथै लागि चीनले गर्न सक्ने सहयोगका बारेमा छलफल गरि आपसि सहयोगका क्षेत्र पहिल्याइने पनि संसदलाई जानकारी गराउनुभएको छ । 

प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार बिहान ९ बजे हिमालयन एयरलाइन्सको चार्टर विमानबाट बेइजिङ जानेछ । 

मंगलबार बेलुका नै प्रधानमन्त्री ओलीको टोली बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुनुहुनेछ । बुधबार बिहान ८ बजे प्रधानमन्त्री अ‍ोलीले चीनमा रहेको नेपाली दूतावासका कर्मचारी र चीनमा रहेका नेपालीहरुसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार दिउसो ४ बजे प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफीङसँग झण्डै पौने घण्टा भेट्नुहुनेछ । शुक्रबार प्रधानमन्त्री ओलीको टोली ल्हासाका जानेछ भने शनिबार ल्हासामा रहेको पोतला दरबार,जोखाङ मन्दिर,क्युसु कृषि आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।

आइतबार बिहान ११ बजेर ५० मिनेटमा प्रधानमन्त्री ओली नेतृत्वको टोली सिचुआन एयरलाईन्समार्फत स्वदेश फर्कने कार्यक्रम छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया