प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित

 माघ ४, २०७५ शुक्रबार १४:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएकाे छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रहेर देशलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्‍याएको योगदानको उच्च कदर गर्दै घिसिङलाई सम्मान गरेको हो । 

काठमाण्डौको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गर्नुभएको हो । 

२०७३ को भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले ब्यहोरिरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गर्नुभएकाे थियाे । कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार तथा पुनर्संरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल हुनुभएको छ । 

घिसिङले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गर्नुभएको छ । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नती तथा सुदृढीकरणलगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । उहाँकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेको जलविद्युत उत्पादन, प्रसारण लाइन र वितरण आयोजनाका कामले पनि तीव्रता पाएको छ । 

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको बताउनुभयो । यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको उहाँले बताउनुभयो । 

भृकुटीमण्डपको प्रदर्शनीस्थलमा सुरु भएको एक्स्पोमा सहभागी हुन ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल राखेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताउनुभयो ।

एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको हो । एक्स्पोमा जलविद्युत प्रवर्द्धक, उपकरण आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया