जन्ती चढेको बस दुर्घटना: उपचारका लागि ४ घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ पठाइयो

 माघ ४, २०७५ शुक्रबार १४:४३:१७ | उषा तामाङ

दाेलखा – दाेलखामा जन्ती चढेकाे बस गुड्नेबित्तिकै बस दुर्घटनामा पर्दा ३५ जना घाइते भएका छन् ।

शुक्रबार बिहान दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर-४, मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली जान लागि तयार बा २ ख ३७६० नम्बरको बस स्टार्ट गर्नासाथ दुर्घटना भएको थियो ।

बिहेघर अगाडि नै भएको दुर्घटनामा करिब ३५ जना घाइते भएका छन् । बस दुर्घटना हुँदा घाइते भएका ४ जनालाई हेलिकप्टरबाट काठमाण्डौ लगिएको दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । 

तामाकोशी गाउँपालिका वडा नम्बर-४ का कुमोदराज योगी, ४९ वर्षीय उद्धव पोखरेल, १७ वर्षीय टोप बहादुर मिजार र २२ वर्षीय रन्जीत मिजारलाई धुलिखेल अस्पताल शाखा किर्नेटारमा सामान्य उपचार गरी काठमाण्डौ पठाइएको हो । 

त्यसैगरी २४ वर्षीय विकास मिजार र तामाकोशी गाउँपालिका वडा नम्बर-५ का १७ वर्षीय सरोज खड्कालाई एम्बुलेन्सबाट काठमाण्डाै पठाइएको छ । 

घाइतेमध्ये १३ जनाको प्रस्तावित चरिकोट अस्पतालमा, ३ जनाको दोलखा सामुदायिक अस्पतालमा र ३ जनाको धुलिखेल शाखा अस्पताल किर्नेटारमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु प्राथमिक उपचार पछि घर फर्किएका दोलखा प्रहरीले जनाएको छ ।

बेहुला भने छुट्टै गाडीमा बसेका हुनाले सुरक्षित रहेकाे जनाइएकाे छ । ओरालोमा बस रोकिराखेकोले बस दुर्घटनामा परेको प्रहरीले बताएका छन् । 

अन्तिम अपडेट: फागुन २८, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया