ओलीकै पालामा ढुक्कसँग बिदा बस्न मिल्ने !

 माघ ५, २०७५ शनिबार ८:२८:४ | मिलन तिमिल्सिना
unn.prixa.net

केही केही सार्वजनिक बिदा ससुराली र माइती मावल जान तथा तास खेलेर बस्नकै लागि हो । बिदा दिनेदेखि बिदा मनाउनेसम्म सबैले देखेजानेको र भोगेको सत्य यही हो । पत्यार लाग्दैन भने पोहोरसम्म हुने केही सार्वजनिक बिदाको बेलिविस्तार लगाऔं । 

सबैभन्दा पहिले प्रजातन्त्र दिवसको कुरा गरौं । प्रजातन्त्र दिवसमा प्रधानमन्त्री, मन्त्री र अरु केही मान्छे टुँडिखेल जान्थे । सेना र प्रहरीले कवाज देखाउँथे । प्रधानमन्त्रीले परेवा उडाउँथे, भाषण गर्थे । केही विभाग र स्थानीय तहका कर्मचारीले झाँकी पनि देखाउँथे ।

त्यहाँ नजाने अरु कर्मचारीको के काम ? घरमा प्रजातन्त्र दिवस मनाउने कुरा भएन । अफिस पनि बिदा । के गरेर बस्ने ? अनि साथीभाइ जम्मा भयो, तासको पत्ता फिट्न थाल्यो । म्यारिज खेल्यो ।

लोकतन्त्र, गणतन्त्र र शहीद दिवसमा पनि गर्ने काम त्यही थियो । शहीद दिवसको दिन घरको आँगनमा उभिएर मौनधारण गर्ने कुरा भएन । श्रीमती र छोराछोरीलाई बोलाएर भाषण गर्न पनि मिलेन । म्यारिज नखेले दिन कसरी काट्ने ?

ल्होसारमा निश्चित समुदाय मात्र नाचगानमा रमाउँछन्, ल्होसार नमनाउने कर्मचारीले म्यारिज नखेलेर के गर्ने ? कृष्णाष्टमी र रामनवमीमा उनै भगवानलाई मात्र भ्याईनभ्याई हुने हो, अरुलाई त फुर्सदै फुर्सद । जनै पूर्णिमामा पनि बिहान एकछिन डोरो र जनै लगाएपछि अरु काम हुँदैन । कार्यालय बिदा हुँदा तासै खेलेर समय बिताउने हो ।

तीजको बेला महिला कर्मचारीलाई दरखाने दिन दिउँसैदेखि बिदा मिल्थ्यो । आज माइत जानुछ, अलि छिटो जान्छु है भनेपछि हाकिमले नाईं भन्दैनथिए । हाकिमलाई पनि दरखाने दिन चाँडै घर पुग्नुपर्थ्याे । 

हाकिमलाई नै चाँडै जान परेपछि अरु कर्मचारी मात्र किन ढिलोसम्म बसिरहने ? त्यही दिन बेलुका माइत पुगिन्थ्यो । महिना दिनदेखि नै दर खाने गरे पनि तीजको अघिल्लो दिनको दरको छुट्टै मज्जा । दर खाँदाखाँदै आधारात हुन्थ्यो । भोलिपल्ट तीजको दिन घाँटी बस्नेगरी गीत गाउँदा, कम्मर मर्काएर नाच्दा र ताली पड्काउँदा जीउ गलेर हैरान ।

अफिस खुल्ने दिन भए पनि धेरैले त बिरामी भएँ भनेर टार्थे । भोलिपल्ट ऋषिपञ्चमीमा बिदा हुने भएपछि बीचको एकदिन किन अफिस जाने ? नगए पनि सुख पाइन्थ्यो । तर ओली सरकारले यसवर्ष ऋषिपञ्चमीको बिदा दिएन ।

ऋषिपञ्चमीमा बिदा नपाइने भएपछि माइत जाने बाटो बन्द भयो । अफिसमा पूरा समय काम गर्ने हो भने दरखाने दिन टाढाको माइत पुग्न भ्याईंदैन । भ्याईहाले पनि तीजको दिनमै माइतबाट फर्किनुपर्छ, भोलिपल्ट अफिस भ्याउनलाई । दरखाने दिन पनि पुरै काम गर्नुपर्ने, तीजको भोलिपल्ट पनि बेलैमा अफिस पुग्नुपर्ने भएपछि तीजमा कसरी माइत जाने ?

पुरुष कर्मचारीको समस्या पनि यही हो । पहिले पहिले त महिला कर्मचारीलाई बिदा हुन्छ के काम गर्ने भनेर छलछाम गर्न पाइन्थ्यो । दरखाने दिनदेखि तीन दिनसम्म काम नगरे पनि हुन्थ्यो । तर ऋषिपञ्चमीमा समेत महिला अफिस आउने भएपछि खुरुखुरु काम गर्नुपर्यो, छलछाम गर्न पाइएन ।

तीजको कुरा छोडौं, सबैभन्दा ठूलो आपत त दशैंमा भयो । पोहोर परारसम्म टीकाको दिन घरमा अक्षता र जमरा लगाएर हिँडेपछि द्वादशी र पूर्णिमासम्म सबै आफन्तको घरमा टीका र आशीर्वाद थापेर भ्याइन्थ्यो । आफ्नो मावल, बाको मावल, आमाको मावल, माइत, ससुराली, ससुरालीका खलक सबैतिर चाहार्न भ्याउँदा खल्तीमा अटाईनअटाई दक्षिणा हुन्थ्यो ।

एकातिर दक्षिणा, अर्कोतिर भेटघाट र रमाइलो । पूर्णिमासम्म ढुक्कले दशैं मनाएपछि बल्ल अफिस जाने दिन आउँथ्यो । पूर्णिमाको भोलिपल्ट अफिस खुले पनि काम लयमा आउन दुईचार दिन लाग्थ्यो । दुईचार दिन काम भएपछि फेरि तिहारको बिदा आउँथ्यो । घटस्थापनादेखि छठसम्म छलछाम गरेरै दिन जान्थ्यो ।

वर्षौंदेखि यसैगरी छलछाम र रमाइलो गरी बित्दै आएको यी बिदा यसपटक कटौती भयो । सबैभन्दा दुःखको कुरा त सरकारले माइत, मावली र ससुराली जाने बाटो नै बन्द गरिदियो ।

पहिले पूर्णिमासम्मै बिदा हुन्थ्यो, पछि त्रयोदशी र चतुर्दशीमा बिदा दिने चलन हरायो । तर पूर्णिमामा बिदा हुने भएपछि बीचको दुई दिन अफिस नपुग्दा पनि केही हुन्नथियो । अफिसका हाकिम आफैं घरबाट आइपुग्न भ्याउँदैनथिए । हाकिमले नभ्याएपछि अरुलाई पनि अफिस पुग्नैपर्ने अनिवार्य थिएन । त्यसमाथि पूर्णिमाअघि काम हुने होइन भनेर सेवाग्राही पनि जाँदैनथिए । ढुक्क थियो ।

तर ओली सरकारले गर्नु गर्‍याे । दशैंमा फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्रै बिदा भयो । फूलपातीको दिन बल्ल घर पुगियो । टीकाको दिन घरमा अक्षता र जमरा लगाएपछि न मावल जान भ्याइयो, न ससुराली पुग्न । द्वादशीको दिन अफिस पुग्न टीकाको भोलिपल्टै घरबाट हिँड्नुपर्यो ।

पहिले पूर्णिमासम्मै हुने दशैं अब एकादशीदेखि नै सकियो । न तीज रमझम भयो, न दशैं । न घुमघाम र रमाइलो, न जुवातास र कौडा । ओली सरकारले गर्नु गर्योे । न घ्वाँ घ्वाँ रुन सकियो, न पेट मिचिमिची हाँस्न । 

हप्तामा दुई, चार दिनसम्म रमाइलो गरेर बिदा बस्ने बानी भएकालाई यसवर्ष निकै उकुसमुकुस भयो । केही स्थानीय तह र प्रदेश सरकारले राहत दिन खोजे पनि सबैले बिदाको सुविधा पाएनन् । 

बिदाभन्दा धेरै काम गर्न परेपछि कर्मचारीको सिर्जनशील क्षमता कमजोर भयो । धेरै काम भएर छिटै समृद्धि हासिल हुने हो कि भन्ने डर बढ्न थाल्यो । चुनाव भएको वर्ष दिनमै सबैथोक काम गरेर सक्ने हो भने बाँकी चार वर्ष के गरेर बस्ने ? डर सरकारलाई पनि भयो । 

त्यसैले बिदा कम र काम धेरै गरेर छिट्टै समृद्धि हासिल गर्न खोजेको सरकार हच्किएको छ । समृद्धि ल्याउनुभन्दा पहिले काम गर्ने कर्मचारी र भोट दिने नागरिकको चित्त बुझाउनुपर्छ । जति धेरै विदा र अरु यस्तै सुविधा दिन सक्यो, त्यति नै कर्मचारी र नागरिकको चित्त बुझ्छ । यति कुरा थाहा पाउन वर्ष दिन लगाएको ओली सरकारले अब अर्को वर्षदेखि पुराना विदा थमौती गर्दैछ । 

अनि प्रदेश र स्थानीय तहमा पनि कुनै जनप्रतिनिधि जेलबाट छुट्टा या कसैको छोराछोरीको बिहे ब्रतबन्ध हुँदा पाइने बिदा आफ्नो ठाउँमा छँदैछ । पहिलेभन्दा पनि धेरै बिदा हुने हुने भएपछि ओली सरकारको जयजयकार गरौं । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया