कांग्रेस सभापतिहरुको भेला हेटौंडामा सुरु हुँदै

 असार ५, २०७५ मंगलबार ९:२:२७ | उज्यालो सहकर्मी

मकवानपुर - नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला मंगलबारदेखि हेटौंडामा सुरु हुँदैछ । 

भेलाका लागि ७७ वटै जिल्ला सभापति र केन्द्रीय सदस्यहरु हेटौंडा पुगेका छन् । भेला हुने स्थान हेटौंडाको पल्पसा हल र हेटौंडा बजार कांग्रेस पार्टीको झण्डा र चुनाव चिन्हका तुल ब्यानरले झकिझकाउ बनाइएको छ । 

सडक किनारामा झण्डा फहराइएको छ । खासगरी मेनरोड, कान्तिलोकपथ, पारिजात पथ, बुद्धचोक, स्कुलरोड, पल्पसा रोड, कांग्रेस चोक लगायतका क्षेत्र रंगिचंगी बनाइएको छ । 

तीन दिनसम्म सातवटै प्रदेशका छुट्टाछुट्टै छलफल गरी निस्कर्ष निकालेर सभापतिलाई बुझाइने कांग्रेस मकवानपुरका सभापति तथा भेला आयोजक समितिका संयोजक ईन्द्रबहादुर बानियाले जानकारी दिनुभयो । 

बिहान ११ बजे भेलाको उद्घाटन गरी मंगलबारदेखि नै बन्द सत्र शुरु गर्ने तयारी छ । बन्दसत्रमा जिल्ला सभापति र केन्द्रिय सदस्य सहभागी हुनेछन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेला मुख्यगरी तीनवटा विषयमा केन्द्रित हुने बताउनुभयो । 

पार्टीको संगठन, पार्टीको विधान र वर्तमान राजनीतिक परिस्थितिका बारेमा जिल्ला सभापतिले आ–आफना जिल्लाका तर्फबाट धारणा राख्ने प्रवक्ता शर्माले बताउनुभयो । 

चुनावमा सोचेजस्तो परिणाम नआएपछि त्यसको कारण खोज्ने र अब पार्टी कस्तो रणनीतिका साथ अघि बढ्ने भन्नेबारे धारणा तय गर्ने दावी कांग्रेसको छ ।

तर, नेताहरुले भने भेलालाई पार्टीका कमजोरी केलाउने र रणनीति बनाउने भन्दा पनि आफ्नो गुटलाई कसरी बलियो देखाउने र अर्को गुटको विरोधमा कसरी लाग्ने भन्ने कुरामा केन्द्रित गरेको देखिएका छन् । 

भेलामा केन्द्रीय कार्यसमितिको बैठकमा जस्तै आरोपप्रत्यारोप बढी हुने, एक गुटले अर्को गुटका नराम्रा कुरामात्र खोतल्ने र आफ्नो गुटको बचाउमा लाग्ने खतरा रहेकाले रचनात्मक सुझाव आउने सम्भावना कम रहेको भन्दै केही जिल्ला सभापतिहरुले भने असन्तुष्टि जनाएका छन् ।

भेला पार्टीलाई नयाँ दिशाबाट अघि बढाउने भन्दा पनि आगामी महाधिवेशनमा आफ्नो पकड कसरी जमाउने भन्ने ध्याउन्नमा केन्द्रित हुने खतरा रहेको उनीहरुको भनाई छ । 

सभापति शेरबहादुर देउवा गुटका नेताहरुले आफु पक्षका सभापतिहरुसँग बेग्लै छलफल गरी पौडेल, कोइराला र सिटौला पक्षलाई भेलामा कसरी हावी हुन नदिने भन्ने रणनीति बनाएको छ।

नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला तथा नेता कृष्ण सिटौला पक्षले पार्टीभित्र आफ्नो समूह हावी हुँदै गएको सन्देश दिनेगरी तयारी गरेको छ । 

पौडेल, कोइराला र सिटौला गुटले काठमाडौंमा नै आफ्नो पक्षका सभापतिहरुको बेग्लै बैठक गरेको थियो । 

निर्वाचन पछि पार्टीको पुर्नसंरचना वारेमा तीव्र बहस गरिरहेको काग्रेसले जिल्ला सभापतिहरु लाई समेत पार्टीको नयाँ संरचना बारेमा जिल्ला तहका सबै निकायहरुसँग छलफल गरेर सभापति भेलामा सुझाव सहित आउन परिपत्र जारी गरेको थियो ।

उपसभापति विमलेन्द्र निधिका अनुसार पार्टीले राज्यको नयाँ संरचना कसरी बनाउने  भन्ने बारेमा जिल्ला सभापतिहरुलाई गाउँदेखि वडासम्म र सबै भातृ संगठनदेखि शुभेच्छुक संघसंस्थासंग परामर्श गरेर सुझाव संकलन गर्न निर्देशन गरिएको छ । 

काग्रेसको महासमितिले बनाउने पार्टीको नयाँ विधान अनुसार काग्रेसको पुनर्संरचना सुरु हुने प्रक्रिया अघि बढ्ने छ । त्यसका लागि सभापतिहरुले सुझाव दिनेछन् ।

काँग्रेसको हाल जिल्ला, क्षेत्र र गाविस स्तरीय संरचना रहेकोमा अब पार्टी र भातृ संगठनका समितिहरु केन्द्र, प्रदेश, जिल्ला, गाउँ-नगर स्तरीय बनाउने तयारी भइरहेको कांग्रेसले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया