पासपोर्ट थन्क्याएर बाख्रा पालेका सोमबहादुरको कमाई वर्षको ४ लाख

 माघ ५, २०७५ शनिबार १५:८:५७ | श्यामशितल परियार

लमजुङ – सँगैका साथी मुग्लान पसेको देख्दा आफू पनि विदेश जाउँ कि भन्ने लाग्थ्यो चितवनको कालिका नगरपालिका–८, देवीटारका सोमबहादुर मगरलाई । विदेश जानका लागि पासपोर्ट पनि बनाउनुभयो । तर म्यानपावरमा पुग्नु अघि उहाँले एक पटक देशमै केही गर्ने अनि कमाउन नसके मात्रै विदेश जाने सोच्नुभयो ।

यही सोचाइले सोमबहादुरले बाख्रा पाल्न सुरु गर्नुभयो । २०६४ सालमा ४ वटा माउ बाख्राबाट सुरु भयो बाख्रापालन । ‘सरकारको ग्रामीण युवा स्वरोजगार कार्यक्रमबाट ३० हजार अनुदान पनि पाएँ अनि बिस्तारै बाख्राको संख्या पनि बढाउँदै लगेँ,’ उहाँले भन्नुभयो ।

अनुदान पाएको पैसा बाख्रा थपेर १० वटा पु¥याउनुभयो । २०६५ सालमा ‘हेफर ईन्टरनेशनल नेपाल’को कार्यक्रम आयो । उहाँलाई यो परियोजनाले पनि आर्थिक सहयोग ग¥यो । सोमबहादुरको बाख्राका खोरमा अझै ५ वटा बाख्रा थपिए । खोर व्यवस्थित पनि बनाउनुभयो । 

बाख्राबाट राम्रो आम्दानी हुने भएपछि सोमबहादुरले विदेश जाने सोच दिमागबाटै निकालिदिनुभयो । ‘देशमै गरेको उद्यमबाट चित्त बुझ्दो कमाई भएकै छ । अब विदेश जाने सोच छैन,’ सोमबहादुर भन्नुहुन्छ । 

बाख्रा पालेर अहिले वर्षमा ४ लाख रुपैयाँसम्म बचत गरिरहेको उहाँ बताउनुहुन्छ । ६० वटासम्म बाख्रा पालेका सोमबहादुरका खोरमा अहिले २५ वटा खसी छन् । 
गएको असोजदेखि उहाँले माउ बाख्रा पाल्न छाड्नुभयो ।

माउ बाख्रा पाल्नुभन्दा खसी पाल्दा फाइदा हुने देखेपछि उहाँको ध्यान त्यसैले खिच्ये । खसीसंगै उहाँले कुखुरा र हाँस पनि  पाल्नुभएको छ । सोमबहादुरले बाख्रा पाल्न थालेको १० वर्ष भयो ।

यो एक दशकमा आफूले बाख्रापालनका लागि व्यवस्थित खोर, राम्रो जातको बाख्रा र घाँसको व्यवस्था हुनुपर्ने रहेछ भन्ने सिकेको सोमबहादुरको भनाई छ । यही सिकाइले सोमबहादुरले खोरबाट बाख्रा फार्म नै बनाउनुभयो । बाख्राको घाँसका लागि ५० रोपनीमा टाँकी, बकाइनो, खनायोलगायतका रुख रोप्नुभएको छ । अहिलेसम्ममा उहाँको लगानी २५ लाख नाघिसकेको छ । 

परिवारको साथ र सहयोग अनि राम्रो कमाइले हौसिएका सोमबहादुर यसलाई व्यवस्थित र बिस्तार गर्दै लाने सोचमा हुनुहुन्छ । 
 

अन्तिम अपडेट: चैत २९, २०७५

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया