उपेन्द्रको शोकमा मंगलवार अमरज्योति विद्यालयकाे पठनपाठन बन्द

 असार ५, २०७५ मंगलबार ९:२०:३९ | किरण लोहनी

गोरखा - वरिष्ठ स्नायु शल्यचिकित्सक उपेन्द्र देवकोटाको निधनको शोकमा, उहाँले पढेको अमरज्योति जनता मावि, लुईंटेल मंगलबार बिदा गरिएको छ ।

पालुङटार नगरपनलिका-४ मा रहेको विद्यालय परिवार आफ्ना पूर्व विद्यार्थी डाक्टर देवकोटाको निधनमा शोकाकुल भएकाले मंगलबार एकदिन विद्यालय बन्द गरिएको व्यवस्थापन समिति अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।

दिनभर विद्यालयको पढाई बन्द गर्ने र बेलुका देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त गरिने उहाँले बताउनुभयो । आफ्ना पूर्व विद्यार्थीको निधनले विद्यालय परिवार, अभिभावक, उहाँका सहपाठी लगायत गाऊँ नै शोकाकुल भएको न्यौपानेले बताउनुभयो ।

डाक्टर देवकोटाले कक्षा ५ देखि १० सम्म अमरज्योति जनता माविमा पढ्नुभएको थियो । ४ कक्षासम्म घर नजिकैको सुदर्शन प्राविमा पढेका देवकोटा त्यहाँबाट पहिलो हुँदै अमरज्योतिमा भर्ना हुनुभएको थियो ।

अमरज्योति विद्यालयमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र देवकोटाले ५ कक्षादेखि सँगै पढ्नुभएको हो ।

२०२६ सालमा यहि विद्यालयबाट प्रवेशिका परीक्षा दिएका देवकोटा देशभरमै उत्कृष्ट दशौं अर्थात बोर्ड टेन्थ हुनुभएको थियो । भट्टराई भने बोर्ड फस्ट हुनुभएको थियो । 

गएकाे वर्ष प्रतिनिधिसभा चुनाव अघि गाऊँ पुगेका बेला देवकोटा घरदेखि पैदलै हिँडेर विद्यालयसम्म पुगेको व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले स्मरण गर्नुभयो ।

‘बोहोरा गाऊँ    (देवकोटाको घर)  देखि स्कुलसम्म पैदलै हिँडेर आउनुभयो, न्यौपानेले भन्नुभयो’ , ‘वाल्यकालमा स्कुल गएको सम्झना पनि हुन्छ भन्दै झण्डै आधा घण्टा हिँडेर स्कुल आउनुभएको थियो । ’

 

अमरज्योतिको पुरानो शैक्षिक साख जोगाउने विषयमा डाक्टर देवकोटाले पटकपटकको भेटमा सल्लाह सुझाव दिने गरेको प्रधानाध्यापक गोविन्द खनालले बताउनुभयो ।

‘अंग्रेजी शिक्षा सुधारमा जोड दिनुहुन्थ्यो, खनालले भन्नुभयो, ‘अघिल्लो वर्ष भेट हुँदा अंग्रेजी सिकाउने गरी पाँचजना विदेशी स्वयंसेवी पठाईदिन्छु भन्नुभएको थियो ।’ उनीहरु विद्यालय आउने प्रक्रिया चलिरहेको छ । 

भूकम्पले भत्किएको पुरानो भवन भएकै ठाऊँमा नयाँ भवन निर्माणका लागि पनि देवकोटाले चासो दिनुभएको थियो ।

३० वर्षसम्म पढाएकी अमेरिकी गुरुआमा एलिनोर एल्किन्सको सम्मानमा चारकोठे भवन बनाउने उहाँको इच्छा थियो । त्यो अवधारणाले मूर्त रुप नलिएपनि देवकोटा लगायतको सक्रियतामा अहिले १२ कोठे नयाँ भवन निर्माण शुरु भएको छ ।

देवकोटानै संस्थापक अध्यक्ष रहेको गोरखा फाउण्डेशनले भवन निर्माण शुरु गरेको हो । 

देवकोटाको सम्झनामा विद्यालयमा स्मृति उद्यान निर्माण गर्ने सोच बनाएको पनि व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया