वर्षाैं बित्दा पनि बनेनन् डोटीका मोटर चल्ने पुलहरु

 माघ ५, २०७५ शनिबार १७:५९:८ | विमल बिष्ट
unn.prixa.net

डोटी - निर्माण कार्य सुरु गरेको वर्षौ बितिसक्दा समेत डोटीका मोटर चल्ने पुलहरु अझै निर्माण हुन सकेका छैनन् । 

ठेकेदार कम्पनीहरुको लापरबाहीका कारण ती पुलहरु अझै निर्माण सम्पन्न हुन नसकेको स्थानीयको आरोप छ । ठेकेदार कम्पनीहरुले विभिन्न बहाना बनाएर पुल निर्माणको कार्यमा ढिलाइ गर्ने गरेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ । 

तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्नेगरी २०७१ सालमा सम्झौता भएको डोटीको शिखर नगरपालिकामा रहेको सातनाली सडक पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको छ । पहिलो पटक भएको तीन वर्षे सम्झौताको म्याद २०७४ सालमा सकिएपछि न त अर्को सम्झौता भएको छ, न सम्बन्धित निकायले सम्झौता रद्द नै गरेको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड २० लाखको लागतमा निर्माण हुने करिब चार सय मिटर लम्बाइको उक्त पुल डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प-राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण कार्य सुरु गराएको थियो । 

पुल निर्माण हुने समयावधि सकिएर एक वर्ष बितिसक्दासमेत पुलका दायाँ र बायाँ पिल्लर समेत बनेका छैनन् । पुल निर्माणको कार्य सुरु भएपछि आफूहरु पनि सडक सञ्जालमा जोडिने आश लिएर बसेका स्थानीयहरु फेरि निराश हुन थालेका छन् । 

सेती नदीमा निर्माण हुने उक्त पुल अझै निर्माण हुन नसक्दा शिखर नगरपालिकाको वडा नं. ११ सडक सञ्जालमा जोडिन सकेको छैन । पुल निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरबाही भएको पुलको साइड हेर्ने डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका इन्जिनियर बसन्तकुमार गायी बताउनुहुन्छ । 

अन्य पुलहरुकाे हालत पनि उस्तै

‘पिल्लरको फाउण्डेसनमा चट्टान भेटियो, डिएमसी मेसिनले काम गरेन’ इन्जिनियर गायी भन्नुहुन्छ, ‘अर्को मेसिन ल्याउनु पर्ने हो तर अहिलेसम्म आइपुगेको छैन ।’ 

उहाँले करिब १० प्रतिशत मात्रै काम भएको स्वीकार गर्नु भयो । 

पुल निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साँउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका नगर प्रमुख हुनु भएको छ । यस्तै दुई वर्षमा बनेर सञ्चालनमा आउनु पर्ने डोटीकै अर्को सडकको पुल ६ वर्ष बितिसक्दा समेत सञ्चालनमा आएको छैन् । 

जोरायल गाउँपालिकाको कुम्रेली गाड (नदी) मा निर्माणाधीन पुल दुई वर्षमा सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय कुल्पाते दिपायल र एस.बि.ए.÷चन्द्र एण्ड बसन्त र आई.एस.जे.भि. निर्माण कम्पनीहरुले २०६८ सालमा पहिलो सम्झौता गरी काम सुरु भएको थियो । 

कुल लागत २ करोड ५८ लाख ७२ हजार ९ सय १७ मा निर्माण भइरहेको उक्त पुल निर्माणको समय २०७० साउन ४ गतेसम्म मात्र रहेको थियो । ५० मिटर लम्बाइ रहेको उक्त पुल निर्माण सम्झौता तेस्रो पटकसम्म थप भइसक्दा समेत अझै निर्माण कार्य पूरा हुन सकेको छैन । 

‘ठेकेदारको लापरवाहीका कारण योजना समयमा सम्पन्न हुन नसकेको हो’ उक्त योजनाको हेर्ने सडक डिभिजन कार्यालय कुल्पाते दिपायलका इन्जिनियर महानन्द जोशीले भन्नु भयाे, ‘सम्झौता भएको समयमा निर्माण कार्य सम्पन्न नभएका कारण १० प्रतिशत हर्जाना लिन्छौं ।’ 

निर्माण कम्पनीले योजना सम्पन्न पनि गर्नुपर्ने र ढिलो भएमा हर्जाना पनि तिर्नुपर्ने बताउँदै जोशीले थप्नुभयो, ‘यदि पुल सम्पन्न नगरीकन छोड्छन् भने कम्पनीलाई कालो सूचीमा राख्छौं, अब हामी कारबाहीको प्रक्रियामा छौं, तीनवटै निर्माण कम्पनीहरुलाई कारबाही हुन्छ ।’ 

स्थानीयलाई सकस

तेस्रो पटक २०७२ माघ २९ गतेदेखि २०७३ भदौ १४ गतेसम्मको लागि पुल निर्माणको सम्झौताको म्याद थप गरिएको थियो । निर्माण कार्य अझै बाँकी रहेको भएपनि २०७३ भदौ १४ गतेदेखि भने हालसम्म सम्झौताको म्याद थप नगरिएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ ।

पुल निर्माण नभएका कारण स्थानीय तथा विद्यार्थीहरुले नदी तर्न नसक्दा पुलमा भर्‍याङ लगाएर नदी वारपार गर्न बाध्य भएका छन् । 

‘समयमा पुल बनेन, नदीमा पानीको बहाव बढेका बेला हामी पुलमा लगाएको भर्‍याङको सहायताले नदी तर्न बाध्य छाैँ, स्थानियवासी तथा शिक्षक विजयप्रकाश मल्लले भन्नुभयो, ‘ठेकेदारले पुल बनाइदिएन, नदीमा ठूला बाढी आएको बेला त बग्ने डरले स–साना बालबालिका स्कुल नै आउँदैनन्, बालबालिका स्कुल नआउँदा साना कक्षाहरु त बन्द नै गर्नु पर्ने हुन्छ ।’
 

अन्तिम अपडेट: चैत ११, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया