डोटीमा वन्यजन्तु चोरीशिकारी बढ्यो

 असार ५, २०७५ मंगलबार १०:५८:१४ | विमल बिष्ट

डोटी - डोटीका ग्रामीण भेगवाट वन्यजन्तुको चोरीशिकारी गर्ने क्रम बढेको छ । तर चोरी शिकारी नियन्त्रण गर्न प्रभावकारी काम हुन सकेको छैन ।

जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा रतुवा मृग, बँदेल, घोरल, कालिज लगायतका वन्यजन्तुको चोरी शिकारी हुने गरेपनि नियन्त्रणका लागि प्रभावकारी काम नभएको स्थानीयवासीन्दाको भनाई छ । ग्रामीण भेगबाट तस्करले जंगली जनावरको मासुको सुकुटी बनाई छिमेकी तराईका जिल्ला र काठमाडौसम्म पुर्‍याउने गरेका छन् ।

सँगसँगै जंगलबाट बहुमूल्य जडिबुटी समेत ओसारपसार हुने गरेको उनीहरुको भनाई छ । 

वन्यजन्तुको चोरीशिकारी र ओसारपसार बढेको गुनासो आएपछि महाभारत श्रृखला अन्तरगतको तेलेलेक बनमा जिल्ला बन कार्यालय, शिखर नगरपालिकाका प्रतिनिधिऽ राजनितिक दलका नेता र पत्रकारले अनुगमन गरेका थिए ।

अनुगमनमा तस्करले वन्यजन्तु मार्ने तरिका, मारेका बन्यजन्तुका हड्डी, छाला, चोरी शिकारीमा संलग्नको बासस्थान र प्रयोग गर्ने नाका तथा उनीहरुले प्रयोग गरेका सामाग्री फेला परेका डोटीका जिल्ला वन अधिकृत बद्रिकुमार कार्कीले जानकारी दिनुभयो । 

चोरी शिकारी नियन्त्रण गर्न स्थानीय तह र स्थानीय बासिन्दासँग मिलेर चोरी शिकारी विरुद्धको अभियान संचालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तस्करीका कारण वन्यजन्तु लोप हुने अवस्थामा पुगेको ठहर गर्दै शिखर नगरपालिका र स्थानीय बासिन्दाको सहयोगमा यसबिरुद्ध अभियान चलाउने निष्कर्ष निकालिएको हो । 

तस्करहरु हप्तौंसम्म हातहतियारसहित जंगलमै बस्ने र शिकार गर्ने गरेको पाइएको छ ।

जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज संग जोडिएका वनहरु र महाभारत श्रृखला अन्तरगत रहेको तेलेलेक बनवाट बढी चोरी शिकारी हुने गरेको छेउछाउका बासिन्दा बताउँछन् । 

होटल व्यवसायीहरु जंगलवाट दैनिकजसो रतुवा मृग र बँदेलको सुकुटी बजारसम्म आउने र काठमाडौं पनि पुग्ने गरेको बताउँछन् । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया