कार्यालय रित्तै, कर्मचारी भ्रमणमा

 माघ ७, २०७५ सोमबार १२:३८:५३ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – दैनिक कामकाज प्रभावित हुने गरी पलाँता गाउँपालिकाका सबै कर्मचारी भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न दुई साताअघि काठमाण्डौ गएपछि अन्य कर्मचारी भ्रमणमा गएका हुन् । 

‘गाउँपालिका अध्यक्ष गाउँपालिकामा हुँदा सबै कर्मचारी गाउँपालिकामै हुन्छन् तर अध्यक्ष गाउँपालिका बाहिर जाँदा सबै कर्मचारी विभिन्न बहानामा कार्यालय छोडेर भाग्छन्’ नाम नबताउने शर्तमा एक स्थानीय सेवाग्राहीले भन्नुभयो ।

कर्मचारी नभएपछि सेवाग्राही पनि आउन छाडेको कार्यालय कुर्न बसेका स्वास्थ्य सह–संयोजक विनोदकुमार न्यौपानेले बताउनुभयो । लेखापाल खिमलाल पुन विकास बजेटको ६० प्रतिशत बजेट खर्च गरी बिदामा घर गएको तर अन्य कर्मचारी कहाँ गए भन्ने थाहा नभएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो ।

अन्य कर्मचारी नायव सुब्वा तथा सूचना अधिकारी राजबहादुर बम र प्राविधिक शाखा प्रमुख पदमबहादुर शाही विदेश भ्रमणमा निस्किनुभएको छ । त्यस्तै, समायोजन फर्म भर्न भनि जानुभएका प्रमुख प्रशासकीय अधिकृत  विदेश गएको कर्मचारीको भनाई छ । पलाँता गाउँपालिकाका एक मात्र सचिव विष्णुकान्त प्याकुरेल भने माघी महोत्सवका लागि बर्दिया जानुभएको छ ।

लेखा सहायक र एकजना खरिदार पनि बिदामा नै छन् । सबै कर्मचारी १५ गतेसम्म आउने कार्यालयमा भिडियो हेर्दै दिन काट्दै गरेका न्यौपानेले बताए । बिदामा गएका कर्मचारीले बिदा स्वीकृत गराएका छैनन् ।

पहिले गाविस सचिव र कार्यालय प्रमुख नबस्ने समस्या आउँथ्यो, अहिले स्थानीय निकायमा नियमित कर्मचारी नबस्ने गरेको गुनासो आइरहेको नागरिक समाज कालिकोटका अगुवा कालीबहादुर मल्लले बताउनुभयो । वर्षभरी कार्यालयमा कर्मचारी नबस्ने र असाढ मसान्तमा सबै बजेट सक्काउने परिपाटी अझै छुट्न सकेको छैन ।  

अन्तिम अपडेट: चैत १२, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया