विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाउनु सरकारकाे प्राथमिकता : उर्जामन्त्री पुन

 माघ ७, २०७५ सोमबार १३:२०:५५ | उज्यालो सहकर्मी

काठमाण्डाै - ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । 

सोमबार काठमाण्डौमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै मन्त्री पुनले चालु आर्थिक वर्षभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने र त्यसले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान गर्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भारतसँग सरकारले अघिल्लाे वर्ष ७ करोड मूल्य बराबरको विद्युत बिक्री गरेको, यस वर्षको हालसम्म १० करोड विद्युत बिक्री गरेको उल्लेख गर्दै त्यो क्रम बढाउँदै लैजाने योजना पनि अघि सार्नुभयो ।

नेपाल र भारतबीच विद्युत आदानप्रदानसम्बन्धी सम्झौता नै गरेर सरकारले आफ्नो कामलाई अघि बढाएको मन्त्री पुनको भनाइ छ ।

मन्त्री पुनले नेपालको समृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण रहेको पनि स्मरण गराउनुभयो । कार्यक्रममा बोल्दै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले चार्टर्ड एकाउन्टेन्टहरुलाई व्यावसायिक बन्न आग्रह गर्नुभयो ।

राष्ट्रको आवश्यकता अनुसार लेखा परीक्षणको कामलाई अघि बढाउन चार्टर्ड एकाउन्टेन्टहरु लाग्नुपर्ने उहाँको भनाइ छ । महालेखा परीक्षक दंगालले दिगो विकास लक्ष्य हासिल हुनेगरी लेखा परीक्षणको कामलाई अघि बढाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया