माधवनारायण मेला: बिहानैदेखि त्रिवेणीघाटमा डुबुल्की मार्दै व्रतालु

 माघ ७, २०७५ सोमबार १४:२७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाल संवतकाे आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला सोमबारदेखि भक्तपुरमा सुरु भएको छ । 

माघ महिनाकाे बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटमा रहेको त्रिवेणीघाटमा बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै व्रत शुभारम्भ गरेका छन् । 

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आज बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधव नारायणको पूजा गरेपछि व्रत सुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पुजारी गोपाल शर्माले जानकारी दिनुभयो ।

 साँखुको शालिनदीमाभन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उहाँको भनाइ छ ।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी शर्माले जानकारी दिनुभयो ।

नेसं ७२२ मा रणजीत मल्ल आफैले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँ रहेको त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उहाँले बताउनुभयो । 

व्रतालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरेर अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरीको ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शंखदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एक महिने व्रत समापन गर्ने परम्परा रहेको छ । 

व्रतालुहरु त्रिवेणीघाटमा एक महिनासम्म बसेर व्रत पूरा गर्ने र कतिपय व्रतालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने परम्परा रहेको छ । 

भूकम्पले भत्काएको यहाँको भौतिक संरचना पुनर्निर्माण जारी रहेकाले व्रतालुलाई यही बस्ने व्यवस्था यस वर्ष गर्न नसकिएको माधव नारायण व्यवस्थापन समितिले जनाएको छ ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन रहेको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया