‘आयांक फाउण्डेशन’ बाट प्रियंका र आयुष्मान सामाजिक काममा लाग्ने

 माघ ७, २०७५ सोमबार १७:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले सोमबार ‘आयांक फाउण्डेशन’को औपचारिक घोषणा गरेका छन् । 

अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक सेवामा काम गर्ने उद्देश्य राख्दै  उनीहरुको फाउण्डेशनको औपचारिक घोषणा गरिएको हो । 

प्रियंका र आयुष्मानको फाउन्डेशनका  मुख्य सल्लाहाकारमा सरोज ओली छन् ।

‘आयांक फाउन्डेशन’ले  किशोर किशोरीलाई व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालविवाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असहाय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट वञ्चित बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामग्रीको प्रबन्ध गर्ने लगायतका काम गर्ने भएको छ । 

यस्तै, सडकमा भेटिएका घरपालुवा जनावरलाई व्यवस्थित गर्नका लागि यो सँग केन्द्रित रहेर काम गरिरहेका संस्थासँग सहकार्य गर्ने बताइएको छ । 

कार्यक्रममा अभिनेत्री कार्कीले यो एउटा सुरुवात मात्रै भएको भन्दै आफूहरु सुरुमा काभ्रे गएर प्याड वितरण गर्ने योजना भएको बताइन् । 

यस्तै आफूहरुले बच्चा, वृद्धाहरुका लागि पनि काम गर्ने प्रियंकाले बताइन् ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी अहिले सिनेमा, म्यूजिक भिडियो, स्टेज कार्यक्रम, विज्ञापन लगायतमा व्यस्त छन् । 
यी ठाउँबाट भएको कमाइको १० प्रतिशत यो जोडीले फाउण्डेशनमा राख्ने भएको छ ।

साथै, विभिन्न एनजीओहरुसँग सहकार्य तथा विभिन्न मन्त्रालयसँग कुरा गरेर पनि अगाडि बढ्ने तयारी आयंकाको छ । 
आयुष्मान र प्रियंका आगामी असारमा विवाह गर्ने तयारीमा छन् ।

उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया