लमजुङका किसानलाई चैते धान थन्काउने चटारो (फोटोफिचर)

 असार ५, २०७५ मंगलबार १४:२०:१० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार–६, कि खेममाया कुवँरले असारमा गँगटेफाँटमा रोपेको चैते धान पाकिसकेको छ ।

अहिले उहाँलाई वर्षभरि दुःख गरी फलाएको धान थन्काउने चटारो छ । उहाँ अहिले खेतालासँगै फाँटमा धान काट्न व्यस्त हुनुहुन्छ । असार लागिसकेको छ । वर्षा सुरु भैसकेको छ । पाकिसकेको खेती समयमै नथन्काए आकाशे पानीले हानी गर्ला भन्ने चिन्ताले अहिले उहाँ खेती थन्काउन व्यस्त हुनुभएको हो ।

‘धान पाकिसक्यो, गाउँमा काम गर्ने मान्छे पाइँदैनन्, बल्लबल्ल खेताला जुटाएर धान काट्दै छु,’ गँगटेफाँटमा धानको किटा बान्दै गर्नुभएकी खेममायाले भन्नुभयो, ‘बर्खा लागिसक्यो, पानी परिरहेको छ, अब चाँडो गरी पाकेको धान नथन्काए पानीले असर पुर्याउन सक्छ नि !’

सुन्दरबजार–फेदीकुनाकै अर्का किसान देवीप्रसाद ढकालले त चैते धान थन्काइसक्नुभएको छ । अहिले उहाँ असारे धान रोप्ने तयारीमा जुटिसक्नुभएको छ । ‘मैले त चैते धान थन्काइसकेँ, खेत रोप्न पानी पनि पुग्छ, बीउ पनि हुर्कियो, त्यसैले असारे धान रोप्नका लागि चैते धान लगाएकाले यो खेत जोत्दै छु,’ टन्टलापुर घाममा हिलो खेत जोत्दै गर्नुभएका किसान ढकालले भन्नुभयो ।

उहाँहरुजस्तै लमजुङका सुन्दरबजार, भोर्लेटार, धमिलिकुवा, चक्रतिर्थ, दूराडाँडालगायतका फाँटमा लगाइएका चैते धान थन्काउन किसानलाई भ्याईनभ्याई छ । 
जिल्ला कृषि विकास कार्यालय लमजुङका अनुसार लमजुङमा १५ हजार ७ सय २ हेक्टर  क्षेत्रफल जमिनमा बर्खे धान लगाउने गरिन्छ । ९ सय १० हेक्टर क्षेत्रफलमा चैते धानको खेती गरिन्छ ।

 

लमजुङमा चैते धान थन्काएर छिट्टै असारे धान रोप्न किसान आतुर छन् । खेतबारीमा लगाइएका मकै पाकेको छैन, धानको बीउ तयार नभएका कारण कतिपय किसानले खेत रोपेका छैनन् । कतिपय किसानलाई धानको बीउ राख्ने चटारो छ । कतिपय किसान भने चैते धान थन्काएर असारे धान रोप्न जुटिसकेका छन् ।

 

बाँझा जमिन र सिँचाई सुविधा भएका लमजुङका अधिकांश फाँटहरुमा भने किसानहरुले असारे धान रोपिसकेका छन् । लमजुङको घेर्मुफाँट, रामचोकफाँट, चितिफाँट, तान्द्राङटक्सार, पिरिन्तेबेसीलगायतको फाँटमा धमाधम धान रोपाईँ भैरहेको जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताउनुभयो ।

    

काम गर्ने मान्छे नहुँदा चैते धान लगाउन नपाएको तर अहिले पानी पनि पुगेको, बीउ पनि तयार भएकाले असारे धान रोप्न जुटिसकेको सुन्दरबजार पुरानोडिहीकी किसान बिमला गिरीले बताउनुभयो । लमजुङका किसानहरुले बढी मात्रमा रामधान, सुक्खा–२, लाकेतन्त्र, सावित्री, मकवानपुरलगायतका जातका धानको खेती गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया