डाक्टर केसीलाई खुलापत्र : विचार गर्नुहोला डाक्टर सा’ब !

 माघ ८, २०७५ मंगलबार १३:२१:३७ | जगन्नाथ ढकाल
unn.prixa.net

डाक्टर गोविन्द केसीज्यू, नमस्कार !

म जगन्नाथ ढकाल । क्यान्सरको बिरामी । तपाई १६ औ पटक अनसनमा हुनुन्छ भन्ने समाचार मैले दिल्लीको अस्पतालको बेडमा रहँदा थाहा पाएँ । 

त्यो बेडमा रहँदा मैले मृत्युलाई धेरै नजिकबाट नियाल्ने मौका पाएँ र अहिले पनि मृत्युसँग जुधिरहेको छु । मलाई पूरा विश्वास छ, यस युद्धमा मेरो जित हुनेछ । 

हरेक व्यक्तिका लागि जीवनमा एक सेकेण्डको पनि कति मूल्य हुन्छ भन्ने कुरा शव्दमा व्याख्या गर्न सकिंदैन । तपाईं बिरामीलाई अन्तिम प्रयाससम्म पनि जोगाउने भगवानको रुपमा डाक्टर भएर उभिनुभएको छ । अनि तपाईं जस्तै अरू डाक्टरको निगरानीमा रहेर जीवन जोगाउने प्रयासमा रहेको बिरामी म । 

उपचार पद्दतिमा भएको कमजोरीले जीवन र मरणको दोसाँधमा आइपुगेको एक बिरामीको नाताले तपाईंको अनसनप्रति केही लेख्न मन लाग्यो । यसलाई अन्यथा नलिइदिनुहोला । यो मेरो एक बिरामीको हैसियतले नितान्त व्यक्तिगत धारणा र जिज्ञासा हो । मेरो भोगाइलाई तपाईंले सुक्ष्म रुपमा बुझ्नुहुन्छ होला भन्ने अपेक्षा राखेको छु । 

डाक्टर सा’ब, 

सर्वप्रथम एक बिरामीको अपेक्षा के हुँदो रहेछ भने डाक्टरलाई जतिसक्दो छिटो भेट्न पाए आफूमा भएको स्वास्थ्य समस्या चट्टै निको भइहाल्ने थियो कि ! सहज, सरल, सुलभ र व्यवस्थित ढंगबाट दक्ष डाक्टर र सही प्रविधिबाट उपचार होओस् भन्ने चाहना पनि उत्तिकै हुने रहेछ ।

यस्तो विश्वसनीय पद्धतिबाट सरकारी अस्पतालमै सेवा सुविधा लिन पाइयोस् वा राज्यले नै सम्भव भएसम्म निःशुल्क वा नभए न्यूनतम शुल्कमा । डाक्टरको व्यवहार पनि मुस्कान र मायायुक्त हुँदा आधा रोग नै निको भइसकेको जस्तो अनुभूति हुने नै भयो । छिटो, छरितो र विश्वसनीय उपचार भए हुनेथियो भन्ने चाहना नहुने कुरै भएन । 

सरकारको स्वामित्वमा नै रहेको अस्पतालबाट उपचार गराइरहँदा बिरामीले राज्यलाई अभिभावक ठानी गौरव महसुस गर्ने रहेछ । दिल्लीको राजिब गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहँदा मैले यसो अनुभव गर्न पाइनँ, किनकी म त अर्काको भूमिमा थिएँ । त्यहाँ उपचार गराउनु मेरो बाध्यता थियो । 

त्यहाँ पुग्नुअघिका १० वर्षसम्म त मैले नेपालकै विभिन्न अस्पतालहरूमा जाँच गराएँ । तर, दुःखको कुरा त्यस अवधिमा सदैब समस्या एउटा तर उपचार अर्काे भइरहेको रहेछ । त्यसको परिणाम मैले भोग्नुपर्‍याे । बेलैमा सही उपचार भएको भए शायद म क्यान्सर हुनबाट जोगिन्थेँ । त्यो मेरो पोलिव उही बेला निकालिन्थ्यो होला र मेरो उपचारमा अहिले तीसौं लाख रुपैयाँ लाग्ने पनि थिएन होला । 

म सधैं राज्यलाई सम्मान गर्ने एक युवा हुँ । राज्यले नागरिकलाई दिएको सुविधा उपभोग गर्दा आत्मगौरव हुने मेरो बाल्यकालदेखिकै बानी हो । त्यसैले डोर्‍याएर होला, दिसामा रगत देखिएपछि १० वर्ष जति अगाडि म त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएँ, जहाँ वर्षाैंदेखि तपाईंले बिरामीको सेवा गरिरहनु भएको थियो । मलाई पायल्स भएको भनेर औषधी दिनुभयो त्यहाँका डाक्टरले । दुई वर्षअगाडि मात्रै पनि त्रिवि मातहतकै आयूर्वेदिक अस्पतालका डाक्टरले आफ्नो क्लिनिकमा बोलाएर यो पायल्स नै हो, तुरुन्तै अपरेशन गर्नुपर्छ भनेर मलाई झण्डै मारिदिए । 

त्यसपछि म मनमोहन मेमोरियल अस्पताल गएँ । त्यहाँका डाक्टरहरूले भने यो पायल्स होइन, यो पोलिव वा क्यान्सर पनि हुनसक्छ भनेपछि मेरो होस ठेगानमा रहेन । उनीहरूले सुझाए– यो के हो भनेर थाहा पाउनका लागि कोलोनोस्कोपी गर्नुपर्छ ।

तर मैले त्यहाँका डाक्टरलाई तत्कालै विश्वास गरिनँ । उसै पनि तपाईं जत्तिको निष्ठावान व्यक्तिको हरेक पटकको अनसनले यस अस्पताललाई विवादित र बदनाम बनाइरहेकोे थियो । त्यहाँका डाक्टरले भनेका कुरामा विश्वास गर्न नसक्नुमा मलाई तपाईंको अनसनले मलजल थपिरहेको थियो । तर हेक्का के राख्नुपर्ने रहेछ– अस्पतालको नामलाई होइन, त्यहाँको प्रविधि र डाक्टरको दखल नै महत्वपूर्ण रहेछ । 

जे भए नि तत्काल मनमोहन अस्पतालका डाक्टरको विश्वास लागेन । म फेरि म तपाईँ कार्यरत त्रिवि शिक्षण अस्पताल नै पुगें । यसै पनि त्यो अस्पताल देशकै सुविधा सम्पन्न र प्रविधियुक्त मानिन्छ । तर दोस्रो, तेस्रो त्यसपछि परीक्षणका लागि पुगेका पटकहरू मलाई थाहा छैन, कति आए आए । फेरि पनि डाक्टरले यो पायल्स हो, सिग्मोइड्स्कोपी गरौँ भन्नुभयो ।

दुईवटा अस्पतालको मत बाझिएपछि म मेडिसिटीमा अस्पताल पुगें । तर त्यहाँ पनि डाक्टरले मेरो मलद्वारमा औंलो एवं प्रोटोस्कोप हाली परीक्षण गरेपश्चात् पायल्स नै भएको बताउनुभयो । उहाँहरूले भनेअनुसार, त्यो तुरुन्तै स्ट्यापल्ड हेमोरोइडेक्टोमी विधिबाट सर्जरी गर्नुपर्ने पायल्स थियो र पायल्सको आकार हेर्न पहिला सिग्मोइड्स्कोपी गर्नुपर्ने थियो । 

अब अपरेशनको तयारीमा लाग्नका लागि खर्च सम्मको जानकारी दिइयो । तर, सिग्मोइड्स्कोपी गर्दा त पायल्स नै नभएको रिपोर्ट आयो । त्यसपछि बायोप्सी गरे र थाहा भयो– मलाई पायल्स होइन, क्यान्सर भइसकेको रहेछ । 

यो थाहा भएपछि मैले पायल्सका बारेमा धेरै  इन्टरनेटमा अध्ययन गरें । त्यसपछि थाहा पाएँ– पायल्स त औँलो एवम् प्रोटोष्कोप हाली परीक्षण गर्दा नै थाहा हुने रहेछ । मेरो हरेक पटकको परीक्षणमा यो विधिद्वारा जाँच भइरहेको थियो तर मलाई डाक्टरहरूले पायल्स हो मात्र भनिरहे । अब मैले डाक्टरको दखलमा प्रश्न गर्ने कि उनीहरूको नियतमा ?

मैले मेरो यो पाइल्सदेखि क्यान्सरसम्मको वृतान्त तपाईंजस्तो हाडजोर्नीको डाक्टरलाई किन जानकारी गराउँदैछु भन्ने लाग्न सक्छ । यहाँनिर मेरो जिज्ञासा रोग विशेषका बारेमा होइन, बरू म र म जस्ता अरू बिरामीको अवस्थाका बारेमा हो, जो डाक्टरको लापरवाहीले पीडित हुनु परिरहेको छ । 

अनि मूल प्रश्न हो, के डाक्टरको लापरवाहीले पीडित भइरहेका मान्छेहरूलाई तपाईंको अनसनले सम्वोधन गर्छ त ? अबका दिनमा म र मेरा आफन्त बिरामी हुँदा परीक्षणका लागि शिक्षण अस्पताल जाने कि तपाईले माफिया भन्ने गरेको मनमोहन अस्पतालमा जाने वा मेडिसिटीतिर लाग्ने ? 

अस्पतालमा त विश्वासको वातावरण नै रहेन नि डाक्टर सा’ब ? बिरामीका लागी न्यूनतम खाँचो पर्ने डाक्टरको दखल र अस्पतालको प्रविधिमा सुधारको आवश्यकतालाई तपाईंको अनसनले सम्बोधन गर्छ कि गर्दैन ?

पालैपालो नेपालका अस्पतालहरूबाट ठक्कर खाएपछि मेरो मनमा कसैप्रति विश्वास रहेन र दक्ष डाक्टर र उच्च प्रविधिको खोजीमा म भारत  गएँ । त्यहाँ पनि मेडिकल माफियाहरूको अनुभव गर्ने मौका पाएँ । भारतको चर्चित गंगाराम अस्पतालका जीआई सर्जन डाक्टरलाई भेट्दा त मलाई खसी–बोका बजारमा हुने गरेको मोलमोलाई जस्तो अनुभूति भयो । नेपालबाट पठाएको डाक्टरको नाम मागियो ।  मैले मेरो उपचार महत्वपूर्ण हो भने छिटो गरिदिन विनय गरेँ । मलाई सुरुमा नै ४ लाख भारु जम्मा गर्नूस्, अनि नेपालबाट पठाएका डाक्टरसँग कुराकानी गरेर के–के परीक्षण गराउन पर्ने हो गराैँला भनियो । मैले मेरो आफ्नो उपचारको सम्पूर्ण प्रक्रिया थाहा नपाई उपचार नगर्ने अडानका साथ फर्किएँ । 

पछि थाहा भयो, मलाई नेपालकै डाक्टरसँग सल्लाह गर्छु भनेको भारतीय डाक्टरको भनाइ त कमिशनको खेल पो रहेछ । मैले नेपालको डाक्टरको नाम बताउँदा, यहाँका डाक्टरलाई मैले उपचार वापत् बुझाएको रकममध्ये २० देखि ३० प्रतिशत रकम कमिशन आउने रहेछ । डाक्टर सा’बले भन्नुभएको मेडिकल माफियाको खेल त भारतसम्म पुग्ने रहेछ । डाक्टर सा’ब तपाईंको यो अनसनले यो समस्याको सम्बोधन गर्छ कि गर्दैन ? वा, नेपालमा खोलिने भनिएको मेडिकल कलेजको माफियामा मात्र सीमित छ, तपाईंको नजर ?तपाईंको मागले हामीजस्ता सर्वसाधारणलाई प्रत्यक्ष फाइदा पुग्छ कि पुग्दैन ? कि ती माग डाक्टरी पढ्नेहरूलाई मात्र फाइदाका लागि उठाइएका हुन् ?

त्यसपछि म भारतकै राजीव गान्धी क्यान्सर अस्पताल गएँ । त्यहाँ मेरो बिल्कुलै फरक अनुभव रह्यो । त्यहाँ मेरो नेपालको अन्तिम रिपोर्ट, बायोप्सीको रिपोर्ट हेरियो र हिस्ट्री पनि सोधियो । क्यान्सर उपचार सही तरिकाले हुनुका साथै त्यहाँ र नेपालमा लाग्ने खर्च जायज लागेर करिब ४ महिनाको उपचार एवं अपरेशनसमेत गराई २ दिनअघि मात्रै म नेपाल फर्किएको छु । 

यो मेरो भोगाइको तथ्यांकले करीब १० अर्ब रुपैयाँ प्रत्येक वर्ष नेपालीले उपचारकै लागि विदेशमा खर्च गर्ने रहेछन् भन्ने देखाउँछ । त्यहाँका हरेक अस्पतालमा ५–१० प्रतिशत बिरामी नेपाली नै हुने रहेछन् । नेपालीलाई नै लक्षित गरी अस्पतालनजिकै भाडामा बस्ती नै निर्माण भएको रहेछ ।

अब मेरो जिज्ञासा डाक्टर सा’बलाई के रह्यो भने नेपालमै उच्च प्रविधि र दक्ष जनशक्ति सहितको सुविधा सम्पन्न अस्पताल भयो भने वार्षिक अर्ब रुपैयाँ जोगाउन सकिने रहेछ । यसका लागि हामी किन पहल गर्दैनौँ । किन निर्माण भएका सुविधा सम्पन्न अस्पताल पनि बन्द गरिनुपर्छ भन्दै हिँड्छौँ ?

मेडिकल कलेज वा अस्पतालको संख्यामा र मूल्यमा त कुरा भइरहेको छ तर तिनको गुणस्तरीयको कुरा कहिले हुन्छ ? म जस्ता बिरामी आफ्नो रोग निदानका लागि नेपालका कति वटा अस्पतालमा धाउनुपर्ने हो ? अस्पताल धाउँदा–धाउँदा महिनौ बित्छ तैपनि रोग बढाउँदै र सम्पत्ति घटाउँदै निराश भएर फर्कनुपर्छ ।
 
म जस्ता लाखौँ बिरामीको स्वास्थ्यमा खेलबाड गर्ने आयुर्वेदिक डाक्टर राम आधार यादव जस्ता डाक्टरलाई कारबाही गर्न तपाईको अनसनले केही काम गर्छ कि गर्दैन ? हरेक पटकको अनशनमा तपाईको माग थपिइराखेको मैले पढिरहेको छु । लापर्वाही गर्ने डाक्टरलाई कारबाही हुनुपर्छ भन्ने माग कहिले थप्नुहुन्छ ? उपचारका लागि देशबाहिर गएका बिरामीबाट कमिशन लिने नेपाली डाक्टर विरुद्ध कहिले बोल्नुहुन्छ ? 

अनि तपाई यसरी अनसनमा बसिरहँदा तपाईं अनि तपार्इंका समर्थकले स्वास्थ्य सेवा पनि बन्द गरिरहनु भएको छ, यसको असर त म जस्ता बिरामीले नै भोग्नुपर्ने हो । तपाई जस्तो डाक्टर जो धेरैको प्रिय पनि हुनुहुन्छ, यसरी पटक–पटक अनसन बसेर आफू सेवामा नगइरहँदा तपाईंबाट सेवा लिने हजारौं बिरामी त उपचार नपाएर फर्किइरहेका छन् नि ! के तपाईंको अनसनका कारण बिरामीको रोग निदान हुन ढिला त हुँदैन  ?

अहिले त फेरि तपाईंको विरुद्ध विजय थापा पनि अनसनमा हुनुन्छ रे ! तपाईँहरू पालैपालो सेवा ठप्प गर्दै अनसन बसिरहँदा मर्का त हामीलाई नै प¥यो नि ! तपाईंहरूको जीवन संरक्षणका लागि केन्द्रित भइरहँदा तपाईंहरूका कारण हजारौं बिरामी सेवाबाट बञ्चित हुनुपरिरहेको छ भन्ने तपाईंहरू दुवैलाई लाग्दैन ? 

तपाईंहरूलाई त सरकारी खर्चमा हेलिकप्टरमार्फत उपचारमा ल्याइन्छ तर हामी त आफ्नै खर्चमा पनि वर्षाैदेखि रोग पालेर बस्नुपरिरहेको छ । तपाईहरूको अनसनका कारण स्वास्थ्य सेवा चौपट भइरहेको जानकारी तपाईंले पाउनु भएको छ कि छैन ? हाम्रो स्वास्थ्य सेवाको नैसर्गिक अधिकारमा तपाईं, विजय थापा, सरकार अनि तपाईंले भन्ने गरेको माफिया तथा माफियाको संरक्षक भन्नेहरूको लडाईंमा म जस्तै बिरामीले सधैं पीडावोध गरिरहनुपर्ने हो ?

तपाई दुई अनसनकर्ताहरू ‘रोग पत्ता नलाग्नुमा डाक्टरको मात्र गल्ती होइन’ भनेर डाक्टर समीर लामाले जस्तै लेखेर बिरामीको समस्यावाट पञ्छिन खोज्नु त हुन्न होला नि ?

डाक्टर सा’ब,

विदेशमा नेपालीले वार्षिक उपचारमा गर्ने गरेको खर्चले अस्पताल बनाई राज्यले देशका बिरामीलाई उपचारका लागि विदेश जानबाट रोक्न सक्ने मात्र नभएर विदेशी बिरामी नेपालमा आएर उपचार गर्नेवातावरण बनाउन सकिन्छ कि सकिँदैन होला ?

डाक्टर सा’ब, 

मलाई पीर लाग्छ, कतै तपाईं पनि बिरामी बाहिर पठाउँदा वा विद्यार्थी पढाउँदा आउने कमिशन लिने माफियाको उक्साहटमा पो पर्नुभयो कि ? तपाईंले कमिशन लिनुहुन्छ भन्ने किमार्थ मलाई लाग्दैन, तर तपाईं थाहै नपाई कमिशनखोरको जालोमा पर्नु पो भयो कि ? विचार गर्नुहोला डाक्टर सा’ब?

म एक क्यान्सर बिरामीको जिज्ञासाको समुचित जवाफ तपाईँ पक्कै पनि दिनुहुनेछ भन्नेमा म पूर्ण आशावादी छु । 

तपाईंको,
जगन्नाथ ढकाल

अन्तिम अपडेट: फागुन ७, २०७५

5 Comments

  • सगीन्द्र आचार्य

    Jan. 28, 2019, 5:45 a.m.

    हरेक नेपालीको राज्यसंग केही असंन्तुस्टी र चाहानाहरु भएता पनि कुनै अमुक शक्ती को पक्षपोषण हुने गरी वा सस्तो लोकप्रियता बटुल्न यस प्रकारको गतिविधि गर्ने हो भने भोलि देश र जनताले के हविगत भोग्नु पर्ला । दुर्गममा पनि राज्यको सेवासुविधाको पहुँच पुग्नुपर्छ तर त्यसको प्रभाव र गति नै अबरुद्ध गरेर हैन । भोली तपाई जस्तै अमुक ब्यक्तीले मॉग राख्ला कलाकारीता र पत्रकारिका केवल दुर्गममा मात्र गर्न पर्यो सुगममा त हात हातमा ईन्टरनेट छंदैछ । प्रतिस्पर्धाको बाटो बंन्द गर्दा कतै माफ़ियातन्त्र त हाबी हुन्न ।

  •  0 Reply
  • देव

    Jan. 27, 2019, 3:47 p.m.

    जगन्राथ ढकालजी आफ्नो दु:खद भोगाई सम्पूर्णमाझ पस्कनु भएको रहेछ धेरै दु:ख लाग्यो! तपाँईको यो वास्तविक भोगाई सबैको लागी चेतनाको स्रोत बनोस्! यहाँलाई शिघ्र स्वास्थ्य लाभको कामना !

  •  0 Reply
  • jagnnath dhakal

    Jan. 23, 2019, 3:33 p.m.

    जनकजी, मलाई ९८५१०४८३६२ मा कल गर्न सक्नुहुन्छ /

  •  0 Reply
  • Janak Singh Saud

    Jan. 22, 2019, 10:25 p.m.

    I have same problem. All says fistula and piles. Please provide me mobile number of jagannath dhakal. मैले आयुर्वेदको डाक्टर राम आधारलाई भेटेर ९ वर्ष पहिले अपरेसन गरेको थिएँ, तर निको भएन /

  •  0 Reply
  • Nabin

    Jan. 22, 2019, 4:44 p.m.

    सही प्रश्न गर्नुभयो हजुरले /हजुरलाई यसको उत्तर गोविन्द केसीले दिनैपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया