कांग्रेस सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सुरु

 असार ५, २०७५ मंगलबार १५:२५:१ | उज्यालो सहकर्मी

मकवानपुर – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सुरु भएको छ ।

भेलाको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नुभएको छ । भेलामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, उपसभापति प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधिलगायतका नेताहरुको उपस्थिति रहेको छ ।

भेलामा ७७ वटै जिल्लाका जिल्ला सभापति र केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । भेलापछि मंगलबारदेखि नै बन्द सत्र सुरु हुने कांग्रेस मकवानपुरका सभापति तथा भेला आयोजक समितिका संयोजक इन्द्रबहादुर बाँनियाले जानकारी दिनुभयो । बन्दसत्रमा जिल्ला सभापति र केन्द्रीय सदस्य सहभागी हुनेछन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेला मुख्य गरी तीनवटा विषयमा केन्द्रित हुने बताउनुभयो ।     

पार्टीको संगठन, विधान र वर्तमान राजनीतिक परिस्थितिका बारेमा जिल्ला सभापतिले आ–आफ्ना जिल्लाका बारेमा धारणा राख्ने छन् । चुनावमा सोचेजस्तो परिणाम नआएपछि त्यसको कारण खोज्ने र अब पार्टी कस्तो रणनीतिका साथ अघि बढ्ने भन्नेबारे भेलाले धारणा तय गर्ने शर्माले बताउनुभयो । 

तर नेताहरुले भने भेलालाई पार्टीका कमजोरी केलाउने र रणनीति बनाउनेभन्दा पनि आफ्नो गुटलाई कसरी बलियो देखाउने र अर्को गुटको विरोधमा कसरी लाग्ने भन्ने कुरामा केन्द्रित गरेको देखिएको छ ।  

भेलामा केन्द्रीय कार्यसमितिको बैठकमा जस्तै आरोपप्रत्यारोप बढी हुने, एक गुटले अर्को गुटका नराम्रा कुरामात्र खोतल्ने र आफ्नो गुटको बचाउमा लाग्ने खतरा रहेकाले रचनात्मक सुझाव आउने सम्भावना कम रहेको भन्दै केही जिल्ला सभापतिहरुले भने असन्तुष्टि जनाएका छन् ।

भेला पार्टीलाई नयाँ दिशाबाट अघि बढाउने भन्दा पनि आगामी महाधिवेशनमा आफ्नो पकड कसरी जमाउने भन्ने ध्याउन्नमा केन्द्रित हुने खतरा रहेको उनीहरुको भनाई छ । सभापति शेरबहादुर देउवा गुटका नेताहरुले आफु पक्षका सभापतिहरुसँग बेग्लै छलफल गरी पौडेल, कोइराला र सिटौला पक्षलाई भेलामा कसरी हावी हुन नदिने भन्ने रणनीति बनाइसकेको छ ।

नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला तथा नेता कृष्ण सिटौला पक्षले पार्टीभित्र आफ्नो समूह हावी हुँदै गएको सन्देश दिनेगरी तयारी गरेको छ । पौडेल, कोइराला र सिटौला गुटले काठमाडौंमा नै आफ्नो पक्षका सभापतिहरुको बेग्लै बैठक गरेको थियो । 

निर्वाचनपछि पार्टीको पुर्नसंरचनाका बारेमा बहस गरिरहेको काग्रेसले जिल्ला सभापतिहरुलाई पार्टीको नयाँ संरचना बारेमा जिल्ला तहका सबै निकायहरुसँग छलफल गरेर भेलामा सुझाव सहित आउन परिपत्र जारी गरेको थियो ।

उपसभापति विमलेन्द्र निधिका अनुसार पार्टीले राज्यको नयाँ संरचना कसरी बनाउने भन्ने बारेमा जिल्ला सभापतिहरुलाई गाउँदेखि वडासम्म र सबै भातृ संगठनदेखि शुभेच्छुक संघसंस्थासंग परामर्श गरेर सुझाव संकलन गर्न निर्देशन गरेको थियो ।

पार्टीको महासमितिले बनाउने नयाँ विधान अनुसार काग्रेसको पुनर्संरचना प्रकृया अघि बढ्ने छ । काँग्रेसको हाल जिल्ला, क्षेत्र र गाविस स्तरीय संरचना रहेकोमा अब पार्टी र भातृ संगठनका समितिहरु केन्द्र, प्रदेश, जिल्ला, गाउँ–नगर स्तरीय बनाउने तयारी भइरहेको कांग्रेसले जनाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया