खुकुरी प्रहार गरेर भतिजले गरे काकीकाे हत्या

 माघ ८, २०७५ मंगलबार १४:४१:४० | उज्यालो सहकर्मी

धादिङ – नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेकी एक महिलाको मंगलबार बिहान खुकुरी प्रहारबाट हत्या भएको छ । 

वस्तुलाई घाँस लिन घर बाहिर निस्किएकी २५ वर्षीया मोनिका आले मगरको खुकुरीले हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।  

घाँस काट्न घरबाट निस्किएको केही बेरमा घर नजिकै आलुबारीमा भतिजो नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले खुकुरीले हानेर हत्या गरेको मृतकका ससुरा नरबहादुरले बताउनुभयो । 

भतिजोले सोमबार दिउँसो गाउँमा एकजना बोक्सी काट्ने योजना सुनाउँदै हिडेको र मंगलबार बिहान काकी नाता पर्ने मोनिकाको खुकुरीले हानेर हत्या गरेको मृतकका ससुरा नरबहादुरले बताउनुभयो ।

गाउँवासीले महिलालाई खुकुरीले जथाभावी काटेको देखेपछि उद्धारका लागि गएका थिए । गाउँलेहरु घटनास्थल पुग्दा आरोपित सुमन फरार भइसकेका थिए भने मोनिकाको स्वास नली काटिएर मृत्यु भइसकेको थियो । 

घटनाको अनुसन्धान सुरु गरिएको र आरोपितको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगिएको प्रहरीले जनाएको छ । मृतकको एक ५ वर्षीया छोरी छिन् भने उनका पति नेपाली सेनामा कार्यरत छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया