स्टेज कार्यक्रममा माग्ने बुढा र सीताको माग बढ्दाे

 माघ ८, २०७५ मंगलबार १७:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

सानो पर्दाबाट चर्चामा आएका हास्यकलाकार केदार प्रसाद घिमिरे पछिल्लो समय ठूलो पर्दामा जमिरहेका छन् । 

ठूलो पर्दामा अहिले उनी अत्यधिक रुचाइएका कलाकार हुन् । केदारको  बोल्ने शैलीले नै लाखौँ दर्शक उनको फ्यान भएका छन् । 

पछिल्लो समय ठूलो पर्दामा जमिरहेका केदार अब सानो पर्दामा फर्किने सम्भावना निकै कम छ । 

तर उनी देशदेखि विदेशका स्टेज कार्यक्रमहरुमा भने दौडिरहेका छन् । स्टेज कार्यक्रममा उनको डिमाण्ड अहिले पनि उत्तिकै छ । 

मेरी बास्सैमा काम गर्नेताका अर्का कलाकार विल्सन विक्रम राई अर्थात तक्मे बुढासँग जोडी बाँधेर स्टेज पुग्ने केदार प्रसाद घिमिरे यतिबेला भने आफ्नै श्रीमती सीता देवी तिमिल्सिनासँग स्टेजमा पुग्ने गरेका छन् । 

पछिल्लो समय केदारले आफ्नै श्रीमती सीता देवी तिमिल्सिनासँग प्रहसन गर्दैै दर्शकहरुलाई हँसाउँदै आइरहेका छन् । उनीहरुको प्रहसनमा केदार माग्ने बुढाकै गेटअपमा छन् भने सीता पुलिसको भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् ।

केदारकी श्रीमती सीताले मेरी बास्सैभन्दा पहिले सिरियल जुरेलीमा काम गरेकी थिइन् । तर उनलाई दर्शकले भने मेरी बास्सैमार्फत चिनेका हुन् । 

मेरी बास्सै, जिरे खुर्सानी हुँदै सीता यतिबेला भद्रगोलमा सक्रिय छिन् । भद्रगोलमा उनी चन्द्रमुखीको भूमिकामा छिन् जसलाई दर्शकले अत्यधिक रुचाएका छन् । 

भद्रगोलमा उनले बोल्ने थेगो यो कुरा कसैलाई नभन्नु नी फेरि निकै हिट भएको छ ।

बुढीकन्या चन्द्रमुखीको भूमिकामा रहेकी उनलाई कहिले सीते बा त कहिले पाँडेले आँखा लगाउँछन् । केही एपिसोडमा भने पाँडे र सिते बाले उनीसँग अँगालो हालेका दृश्यहरु पनि राखिएको थियो । 

श्रीमतीले दिएको यस्तो दृश्यबारे केदार घिमिरेले कथाले मागे अनुसार यस्ता दृश्यहरु गर्नु सामान्य भएको बताएका छन् । 

केदारको यो कुरामा सही थाप्दै सीताले पनि कलाकारले कथा मर्न दिन नहुने भएको यस्ता दृश्यहरु दिन आवश्यक हुने बताइन् ।

–उज्यालो र गफगाफ डटकमको सहकार्य


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया