गोरखकाली रबर उद्योगका मजदूर, कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय

 माघ ८, २०७५ मंगलबार २०:४४:३५ | किरण लोहनी
unn.prixa.net

गाेरखा - सरकारले गोरखकाली रबर उद्योगका मजदूर र कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ ।  गएकाे माघ ३ गतेबाट लागू हुने गरी उद्योगमा कार्यरत सबै मजदूर र कर्मचारीलाई अवकाश दिने निर्णय गरेको हो । 

मन्त्रिपरिषदको गएकाे बिहीबार बसेको बैठकले सोही दिनबाट लागू हुने गरी अवकाश दिने निर्णय गरेको हो । अनिवार्य अवकाशको निर्णय गर्नुअघि मजदूर र कर्मचारीको तलब भत्ताको हरहिसाब गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलले झण्डै दुई महिना लगाएर तयार पारेको विवरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुगेको थियो । 

मन्त्रिपरिषद बैठकले निर्णय गरेलगत्तै तलब बक्यौता भुक्तानीको काम अघि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले बताउनुभयो ।

‘निर्णय भैसक्यो, अब अर्थ मन्त्रालयमा रकम माग गर्ने काम हुन्छ’ उहाँले भन्नुभयो, ‘अरु संस्थानहरुको जुन मोडलमा गरिएको थियो, रबर उद्योगको अवकाश प्रक्रिया पनि सोही अनुसार अघि बढ्छ ।’ मन्त्रालयले कार्ययोजना नै बनाएर अवकाशको प्रक्रिया अघि बढाएको थियो । 

अवकाशका क्रममा तलब भत्ताबाहेक थप एक महिनाको तलब बराबर अतिरिक्त रकम दिने उद्योग मन्त्रालयको तयारी छ । मजदूर र कर्मचारीले भने तीन महिनाको थप रकम दिनुपर्ने बताउँदै आएका थिए ।

कर्मचारी र मजदुरको तलव भुक्तानीका लागि अर्थमन्त्रालयमा ९३ करोड रुपैयाँ माग गरिएको उद्योग मन्त्रालय स्रोतले जनाएको छ । तर सहसचिव पौडेलले भने बक्यौता तलव एकमुष्ट नभएर किस्ता किस्तामा उपलब्ध गराउन पनि सकिने बताउनुभयो । 

‘सरकारको कोषमा कति रकम छ भन्नेमा भर पर्छ, तीन चरणमा गरेर रकम भुक्तानी गर्न पनि सकिन्छ ।’ उहाँले बताउनुभयो । उद्योगका २ शय ३८ मजदुर र कर्मचारीलाई बाँकी तलव दिनकोलागि मात्रै करिव ३० करोड रुपैयाँ लाग्ने देखिएको छ । ५५ वर्षको उमेरहदका कारण अनिवार्य अवकाश पाएका ६५ जनालाई उपदान वापत करिव १० करोड रुपैयाँ दिन बाँकी रहेको छ । 

तलब र उपदान सहित एक महिनाको अतिरिक्त रकम दिने हो भने पनि झण्डै एक अर्ब रुपैयाँ चाहिन्छ । हालसम्मको तलबभत्ता, अवकाश पाएकाहरुको उपदान, सञ्चयकोष, जीवनबिमा, सञ्चित बिदा लगायत शिर्षकको रकम भुक्तानी गर्न सो रकम आवश्यक पर्ने देखिएको हो ।

देशकै एकमात्र गोरखकाली रबर उद्योग २०७२ सालको भूकम्प यता पूर्ण रुपमा बन्द रहेको छ । कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय भएपनि उद्योग भने सञ्चालन हुने सरकारले बताएको छ ।

५ गते संसद बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा वलीले उद्योग सञ्चालनका लागि सरकारले आवश्यक तयारी गरिसकेको बताउनुभएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया