पाठेघरमा मासु पलाउने समस्या : महिलाले थाहा पाउनैपर्ने कुरा

 माघ ९, २०७५ बुधबार ११:४६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

धेरै महिलामा पाठेघरमा मासु पलाउने समस्या देखिने गरेको छ । पाठेघरमा मासु पलाउने समस्या कस्तो हो ? पाठेघरमा मासु किन पलाउँछ ? पाठेघरमा मासु पलाउने बित्तिकै शल्यक्रिया आवश्यक छ वा छैन ? के के कुरामा ध्यान दिनुपर्छ ? यिनै विषयमा विना न्यौपानेले स्त्रीरोग विशेषज्ञ डाक्टर नुतन शर्मासँग कुराकानी गर्नुभएको छ ।

पाठेघरमा मासु पलाउने कस्तो खालको समस्या हो ?

यो समस्या अहिले महिलाहरुको साझा समस्या जस्तै बनेको छ । प्रायः १५ देखि २० प्रतिशत महिलाको पाठेघरमा मासु पलाउने समस्या देखिने गरेको छ । यसलाई साधारण भाषामा फाईब्रोईड भनिन्छ । मासु दुई प्रकारको हुन्छ, एउटा रातो फाईबर हुन्छ, जसमा सानो सानो सेप्रेट गिर्खाहरु पाठेघरमा पलाउँछ । यो बढ्दै गयो भने ब्लिडिङ धेरै गराउने हुन्छ । महिनावारीको बेलामा धेरै पेट दुख्ने हुन्छ । अझै बढ्यो भने बाँझोपना नै निम्त्याउने हुन्छ  ।    

पाठेघरमा मासु किन पलाउँछ ?

अहिले धेरै वातावरणीय प्रभावले पनि बढेको देखिन्छ । जुन यो १५ वर्षको अन्तरालमा धेरै बढेको छ । चेतनाको विकासले पनि भूमिका खेलेको छ । कतिपय अवस्थामा अन्य समस्या लिएर अस्पताल आएका महिलालाई समस्याका आधारमा जाँच गरेपछि मात्र थाहा हुन्छ पाठेघरमा मासु पलाएको रहेछ भनेर । 

पाठेघरमा मासु पलाएको कसरी थाहा पाउन सकिन्छ ? 

– महिनावारी हुँदा धेरै रगत जानु,
 – अत्याधिक पेट दुख्नु,
– महिनावारीको समयमा रगतको डल्ला बाहिर निस्कनु,
–  तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ ।  
–  शरीरमा रगतको कमी भएर एनिमिया हुने, सेतो पानी बग्ने, कमजोरी हुने, थकाई लाग्ने, रिगंटा लाग्ने, 
–  कतिपयलाई सन्तान नहुने, गर्भ रहे पनि तुहिने समस्या हुन्छ ।
 उनीहरुलाई जाँच गरेपछि पाठेघरमा मासु पलाएको थाहा हुन्छ । हामीले उनीहरुसँग सोधपुछ गरी र अल्ट्रासाउण्ड गरेर निश्चित गर्छौं ।

पाठेघरमा मासु पलाउने बित्तिकै अप्रेशन नै गर्नुपर्छ कि अरु उपाय पनि छन् ?

प्रायः त यसको लागि अप्रेशन नै गर्नुपर्छ, तर अहिले अरु उपचार पद्धतिको पनि विकास भैसकेको छ  । बिरामीको अवस्था र आवश्यकता हेरी उपचार हुन्छ । उसको उमेरले पनि भूमिका खेलेको हुन्छ, त्यसमा ।

जस्तै २५, ३० वर्षकी महिलाको सानो २, ३ सेन्टिमिटरको फाईब्रोईड छ, जसलाई बाँझोपनको कारण बनेको छ भने त्यस्तो अवस्थामा अप्रेशन गर्दैनौं । ईन्जेक्सन दिएर त्यसलाई सुकाउने अनि बच्चाको योजनामा जाने हो । यदि यही समस्या ४०/५० वर्षको महिलामा देखियो, यसमा धेरैखालको समस्या छ भने मात्रै अप्रेशन गर्नुपर्छ ।

अहिलेको राम्रो कुरा यो छ कि जतिसुकै ठूलो फाईब्रोईड भए पनि अप्रेशन गर्नु पर्दैन । अहिले दूरबिनबाट अप्रेशन गर्न सकिन्छ  । पाठेघर निकाल्न वा मासु निकाल्न दूरबिनबाट सजिलै सकिन्छ । 

यस्तो समस्या भएका महिलालाई पाठेघर झिक्नुपर्छ भन्दा डर लाग्नु स्वभाविक हो । सत्य त के हो भने पाठेघरमा मासु पलाउने बित्तिकै पाठेघर झिकेर फाल्नु पर्दैन । सामान्य शल्यक्रिया मायोमेक्टोमी अर्थात मासु झिकेर फाल्न सकिन्छ । पलाएको मासु ठूलो छ अर्थात ठूलो फ्याब्राइट छ भने मासु झिकेर बायोब्सी गरेर पनि उमेर पुगेको छ भने झिक्न सकिन्छ ।

यसरी अप्रेशन गर्दा जोखिम हुँदैन ?

पहिलाको ओपन सर्जरी भन्दा झन सहज हुन्छ । ठूलो अप्रेशन गर्नु पर्दैन । पहिला धेरै दिन अस्पताल बस्नुपर्ने, धेरै रगत जाने, धेरै कमजोरी हुने लगायतका समस्या हुन्थ्यो भने अहिले त ल्याप्रोसकपिक सर्जरीले बिरामीलाई अस्पताल तीन दिनभन्दा धेरै बस्न पर्दैन । रगत धेरै जाँदैन । बिरामी चाँडै हिँड्न सक्छ । त्यसैले यो बरदान नै हो भन्दा हुन्छ । 

हामीले कम उमेर भएका, सन्तानको रहर नपुगेका, औषधी गरेर निको हुने अवस्थाका महिलाको पाठेघर सकेसम्म फाल्दैनौं । कति महिलाहरु आफैं पनि पाठेघर झिकिदिनुस  ढुक्क हुन्छ भन्छन् । तर, उनीहरुलाई औषधीले निको हुने अवस्था भएसम्म पाठेघर झिक्नु हुन्न भनेर सम्झाउने काम डाक्टरको हो ।

हिजोआज धेरै निजी अस्पतालमा पाठेघरसम्बन्धी समस्या हुनासाथ झिक्नुपर्छ भन्ने गलत अभ्यास भएको छ । झिक्नैपर्ने अवस्थाबाहेक अन्य अवस्थामा पाठेघर झिक्नु हुन्न । फालिसकेपछि त्यसले अझ धेरै समस्या निम्त्याउन सक्छ ।

सन्तानको रहर पूरा भएका, उमेर पुगेका, शल्यक्रियाबाहेक अन्य उपाय नभएका महिलाको हकमा भने मात्र फाल्नैपर्ने अवस्था हुन्छ ।

एकपटक मासु फालेपछि फेरि पलाउने सम्भावना हुन्छ कि हुँदैन?

पाँच वर्षको अवधिमा ५० प्रतिशत बिरामीमा फेरि पलाउने सम्भावना हुन्छ । किनकी प्रजनन क्षमता भएका महिनावारी हुने महिलामा पलाइरहन्छ । परिवारमा कुनै महिलामा यस्तो समस्या थियो भने अरुमा पनि हुन सक्छ ।

हामीले एक ठाउँमा पलाएको मासु पो फाल्छौं, फेरि अन्य ठाउँमा आउन सक्छ । दोहोरिन थाल्यो, परिवार पूरा भएको छ, रक्तश्राव रोकिएन, उमेर पुगेको छ भने पाठेघर फाल्नुस् भनेर सल्लाह दिन्छौं ।

पाठेघर फाल्दा पछि पनि समस्या देखिन्छ भन्नुभयो, कस्ता समस्या देखिन्छन ?

झिक्नैपर्ने अवस्थाबाहेक शरीरको कुनै पनि अंग झिक्नु राम्रो होइन । पाठेघरको कुरा पनि त्यही हो । एक त सानै उमेरमा पाठेघर फाल्दा बच्चा नभएकालाई बच्चा हुँदैन, अब भन्नुहोस्, ३४/३५ वर्षको महिलाको पाठेघर फाल्नु राम्रो हो त ?

बाध्यताबाहेक उसको त पुरै बाँकी जिन्दगी बाँच्नु छ, समस्या हुन्छ नि । फालेपछि पनि बिभिन्न समस्या हुन्छ । हातखुट्टा गल्ने, धेरै काम गर्न नसक्ने समस्या पनि देखिन्छन् ।

पाठेघरमा मासु पलाउँदा उपचार गरिएन भने कस्तो समस्या निम्तिन्छ ?

एकदम कम महिला २ देखि ५ प्रतिशत महिलामा क्यान्सर हुने सम्भावना हुन्छ । सन्तान नभएकालाई सन्तान हुँदैन । यस्तै अरु समस्या पनि देखिन सक्छ ।

समस्या देखिएपछि के के कुरामा ध्यान दिनुपर्छ ? 

यसमा ध्यान दिनुपर्ने त्यस्तो केही छैन । बिरामीलाई फलोअपमा बस्न भन्छौं । सानो ट्युमर छ, अरु लक्षण छैन भने हामी केही पनि गर्दैनौं । तीन तीन महिनामा अल्ट्रासाउण्ड गरेर ट्युमरको साईज हेर्छौं । यदि बिरामीलाई गाह्रो भएको छ भने उपचार त गर्नै पर्छ त्यसमा फेरि उसको उमेर हेरेर पनि हुन्छ । उमेर कम छ भने मासु मात्रै निकाल्ने, उमेर धेरै छ भने पाठेघर नै निकाल्ने गर्छौं  । 

यदि सानो ट्युमर सानो छ, बढेके छैन उमेर ४०/४५ वर्षको छ भने त्यसले खासै असर गर्दैन । किनभने यो ट्युमर जहिलेसम्म महिनावारी हुन्छ, त्यही समयसम्म बढ्दै जाने हो जब महिनावारी सुक्दै जान्छ त्यो पनि घट्दै जान्छ । अर्काे कुरा फाईब्रोईडमा क्यान्सर हुँदैन । त्यसैले डरलाग्दो ट्युमर होइन यो ।
 
पाठेघरमा मासु पलाउने समस्या कुन उमेर समूहमा धेरै देखिने गरेको छ ?

अहिले धेरै देखिने भनेको ३० देखि ४५ वर्षसम्मका महिलामा धेरै समस्या आएको छ । अनि बिहे नै नभएका २०/२५ वर्षका महिलामा पनि यो समस्या देखिएको छ ।  

पाठेघरमा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिनुपर्छ ? 

यो एकदम महत्वपूर्ण कुरा हो । सबैलाई थाहा हुनुपर्छ ।

यसबारे निम्न कुरामा ध्यान दिन जरुरी छ :

– सबैभन्दा पहिला त जुनसुकै उमेरको भए पनि ६/६ महिनामा नियमित स्वास्थ्य जाँच गर्ने । 
– असुरक्षित गर्भपतन नगर्ने ।
– २० वर्षभन्दा कम उमेरमा यौन सम्पर्क नगर्ने/बच्चा नजन्माउने ।
–  एकभन्दा बढीसँग यौन सम्पर्क नगर्ने ।
–  योनीलाई सधै सफा राख्ने । 
–  विशेष गरी महिनावारीका बेला ध्यान दिने, महिनावारीका बेला प्रयोग गरिने कपडा सफा तथा प्याड स्वस्थ खालको प्रयोग गर्ने ।
– कम्तीमा ३ देखि ५ वर्षको अन्तरमा मात्र अर्को बच्चा जन्माउने ।
– गर्भवती हुनु भन्दा अगाडिदेखि स्वास्थ्य सल्लाह लिने ।

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • पुष्प नारायण लामा

    Nov. 10, 2020, 6:51 p.m.

    यसको अप्रेसनको लागि कति खर्च लाग्छ होला

  •  0 Reply

तपाईको प्रतिक्रिया