कतार पुग्दा भत्कियो घर : अहिले स्वदेशकै मेहनतमा भर (भिडियाेसहित)

 माघ १०, २०७५ बिहिबार ७:१७:५० | सन्जिता देवकोटा

इलाम –  पुसको महिना, बिहान ८ बजे । वरपरका डाँडामा घामका पाईला पुगे पनि इलाम बजारमा घामका झुल्को पर्न बाँकी छ । तर यो चिसो बिहानीमा सागर लिम्बुको निधार पसिना निकाल्न तातेको छ ।

आफ्नै फर्निचर कारखानामा काठका सामान बनाउन व्यस्त सागरलाई पुसको चिसो र कटमेरो मौसमको पर्वाह छैन ।

‘यो त के दुःख हो र, विदेशमा रातको दुईबजे काममा गइसक्नु पथ्र्यो,’ सागरले वैदेशिक रोजगारीमा छँदाको कुरा सुनाउनुभयो । विदेशमा दुःख मात्र गर्नुपरेको भए त हुन्थ्यो, गाउँमा छँदाखाँदाको घर उजाडिंदाको पीडा पनि सहनु पर्‍यो सागरले ।

एक छोरा र श्रीमती घरमा छाडेर सागर पैसा कमाउने र घर बनाउने सपना बोकेर कतार जानुभएको थियो । तर सागर कतार गएपछि श्रीमतीले दोस्रो घरजम गरिन् । 
विदेशमा कामको दुःख र स्वदेशमा घर टुक्रिंदाको पीडाले सागरलाई निराश त बनायो । तर हिम्मत नहारि स्वदेश फर्किएर फर्निचर उद्योग खोल्नुभयो । गर्दै जाँदा आज काठका टुक्रा जोड्ने उद्योगले अरु धेरैजनाका घरका झ्याल ढोका, फर्निचर त बनायो नै, आफ्नो पनि नयाँ घर बसाएको छ ।

एउटा काठबाट चिटिक्कका दराज, खाट, लगायत एउटा घर सजाउन चाहिने सामान बनेजस्तै वैदेशिक रोजगारीले उजाडिएको सागरको घर पनि स्वदेशको कामले सुन्दर भएको छ । भौंतारिएको मन स्थिर भएको छ । 

विदेशको सपना र वास्तविकता

गाउँमा बाबुबाजेले जोडिदिएको जग्गा जमिन थियो । खेतबारीमा खनीखोस्री गरेर जसोतसो गुजारा चलेकै थियो । गाउँघरमै दुःखजिलो गरी जीवन चलाइरहेका सागर सुन्दर भविष्य बनाउन सपना लिएर विदेश जानुभयो । 

फर्निचर कारखानामा काठ चिर्दै वैदेशिक रोजगारीले आफ्नो चिरिएको जिन्दगी र स्वदेशको कामले भरिएको घाउका खाटा कोट्याउँदै सागरले आफ्नो कथाव्यथा सुनाउनुभयो । 

‘यहाँ काम थिएन, जागिर खोजी हिंडौं भने पढाइ थिएन, सजिलै पाइने काम विदेश नै थियो त्यो बेलामा’ सागर सम्झनुहुन्छ, ‘एकलाख ५० हजार रुपैयाँ तिरेर गएको हुँ कतार पनि ।’

२०५९ सालमा सागर कतार लाग्दा सागरसँग पुरानो भए पनि बुवाको घर थियो । त्यही घरमा आफ्नो एक छोरा र श्रीमती थिए । अनि श्रीमती र सन्तानका अनगिन्ती अधुरा सपनाहरु थिए । 

विदेशबारे सागरको मस्तिष्कमा एउटा बिम्ब कुँदिएको थियो – विदेश, सपनाको देश । जहाँ निकै पैसा कमाइ हुन्छ । त्यो देश पुग्न मात्रै पाए पैसा त कति कमाइन्छ कति ! 


म्यानपार र दलालले पनि कमाइ महिनाको १६ सय रियाल हुने सपना देखाएका थिए । सागरलाई त कमाउनु मात्र थियो, कमाइ हुने देशमा पुग्ने जिम्मा दलाल र म्यानपावरले लिएका थिए । 

तर कतार पुगेर तातो घाममा ‘ब्लक’ उचाल्ने काम गर्नुपरेपछि मात्रै सागरले विदेशमा कमाइ हुने पैसाको तौल थाहा पाउनुभयो । 

‘घरको जेठो र परदेशको कान्छो हुनु हुँदैन’

‘१६ वर्षअघिका ती दिन अहिले त सम्झन पनि मन लाग्दैन,’ सागर भन्नुहुन्छ, ‘यस्तो दयनीय अवस्थामा काम गरियो कि, १४ घण्टा त लगातार काममै जोतिनु पथ्र्यो ।’
सँगै काम गर्ने कतिपय साथीभाइ काम छाडेर भागे । कतिजना पैसा पठाइदिन लगाएर घर फर्किए । तर सागरलाई घरको ऋण र सपनाले त्यसो गर्न दिएन । 

उहाँको कमाइसँग कहाँ आफ्नो मात्र सपना थिए र ! ज्यानले आफ्नो भन्दा धेरै परिवारको आश र भरोसा बोकेको थियो । भविष्यको घर बनाउनु थियो । बुवाको मन्दिर बनाउने इच्छा पनि पूरा गर्नुथियो सागरलाई । महिनामा १० हजार रुपैयाँ कमाइ हुन्थ्यो । जति थियो त्यसमै चित्त बुझाएर काम गर्नुभयो । 

सागरलाई विदेशका मानिसले आफूलाई हेपेको देख्दा लाग्थ्यो – मेरो देशमा त गोरुले पनि यहाँभन्दा धेरै सुख पाउँछन् । दिनभरी बारी जोते पनि साँझमा त पेटभरी खान दिन्छन् । नेपालमा गोरुलाई गरिने जत्तिको व्यवहार देख्न पाउनु भएन सागरले परदेशी साहुबाट ।

उमेरले २३ वर्षको भए पनि शारीरिक रुपमा अरुभन्दा सानो हुनुहुन्थ्यो सागर । ‘घरको जेठो र परदेशको कान्छो हुनु हुँदैन, साह्रै दुःख पाइन्छ,’ शारीरिक रुपमा सानो हुँदा पाएको दुःख सम्झेर सागरले उखान टुक्का जोड्नुभयो । 

उचाइमा सानो हुँदा त्यहाँका स्थानीयले मात्र हैन, सागरले आफ्नै नेपाली दाजुभाइबाट पनि हेपाइ सहनुपर्‍यो । नेपाली भएकै कारण हेपाइ सहनुपर्दा उहाँलाई लाग्थ्यो ‘आफूले किनेर ल्याएको पशुलाई झैं व्यवहार गर्छन्, पैसा कमाउन आएको थिएँ, बेचिएछु कि क्या हो !’

परिवारका आश र भरोसा आफूमाथि छ भन्ने सम्झेर सागर परदेशको यो दुःखलाई सजिलो मानेर दिन बिताइरहनुभएको थियो । 

तर सोचेजस्तो कहाँ हुन्छ र जीवन ?

गाउँमा खेतीपाती र हाटबजार गरेर पनि गुजारा चलेको थियो । परिवार छाडेर किन परदेश जानु पथ्र्यो र ! दुई चार वर्ष टाढा भएर पनि परिवारसँग जीवनभर सुखैले जीउने सपनाले लखेट्दै कतार पुर्‍याएको थियो । 

तर साँचेका सपना पूरा गर्न नपाउँदै उहाँको बसिबसाउ घर भत्कियो । सागर कतार लागेपछि श्रीमतीले पनि छोरा छाडेर अर्कै घरजम गरिन् ।

‘परिस्थितिको सामना गर्न नसक्दा जिन्दगी नै भद्रगोल हुने रहेछ, घरबार बिग्रँदा कति साथीले त आत्महत्या नै गरे, तर मैले छोरा, बुवाआमा र आफैलाई हेरेर सम्हालें,’ सागरले त्यो क्षण सम्झिनुभयो । वर्तमानमा खुशीको जिन्दगी बिताइरहेका सागरको अमिलो विगत हो यो । 

जीवनको आउने छाल र उतारचढावमा सागर कति पनि डगमगाउनुभएन । परिस्थितिसँग भाग्नुभएन । कतारमा पीडै पीडामा ३२ महिना बिताउनुभयो । त्यसपछि स्वदेश फर्कनुभयो, झण्डै रित्तो हात लिएर ।

३२ महिनामा बनिराखेको घर भत्कियो, तर आफ्नो नयाँ घर बनाउने सपना पूरा भएन । बुवाकै पुरानो घर मर्मत गर्नुभयो र बुवाकै इच्छाअनुसारको मन्दिर बनाउन पनि सघाउनु भयो । 

२०६२ साल लाग्नै लाग्दा झापा फर्किएका सागरले अब विदेश नजाने निधो गर्नुभयो । तर गाउँठाउँमा काम मिलेन । 

‘जता गए पनि काम केही पाएको हैन, मन बिरक्तिएको बेला फेरि विदेश जाने भनेर काठमाण्डौ गएँ, साउदीको एउटा कम्पनीमा जाने भनेर अन्तर्वार्ता दिन लगायो, हैट पहिला कतारमा गरेकै काम रहेछ,’ सागरले हाँस्दै सुनाउनुभयो, ‘त्यसपछि त मरिगए पनि विदेश जान्नँ भनेर फर्किएँ आफ्नै गाउँ ।’

स्वदेशमा पनि दुःख त छ, तर विदेशमा जस्तो हेपाइ र एक्लोपन छैन । विदेशमा खाएको त्यही हेपाई र एक्लोपनको हण्डरले सागरलाई स्वदेशमा गरिखाने आँट दियो । जसो परिआए पनि विदेश नजाने, स्वदेशमै गरिखाने दृढताले सागरलाई सफल फर्निचर व्यवसायी बनायो । 

इलाम बन्यो कर्मभूमि

झापाबाट भारतको सिलगुढी नजिक पर्छ । सागरले सुरुमा त्यहीँबाट कपडा र हेण्डिक्राफ्टका सामान किनेर ल्याई इलामका विभिन्न ठाउँमा गएर बेच्न थाल्नुभयो । 

त्यो बेला सागरका भाइहरुले घरैमा फर्निचरका सामान बनाउँथे । ती सामान पनि गाउँगाउँ पुर्‍याएर बेच्नुभयो । सामान बेच्न गाउँगाउँ पुग्दा मानिसले अरु सामानभन्दा फर्निचरका सामान नै बढी रुचाउने गरेको सागरले थाहा पाउनुभयो । 

गाउँगाउँ सामान बेच्न हिँड्दा उहाँले भविष्यको बाटो मात्रै भेट्नुभएन, जीवन साथी पनि भेट्नुभयो । सामान बेच्न हिँड्दा उहाँको मन शर्मिला लिम्बुसँग बस्यो । विदेशबाट फर्किंएको साढे दुई वर्षपछि दोस्रो पटक घरजम गर्नुभयो सागरले ।

‘गाउँगाउँमा पुगेर अरु सामान बेच्दाबेच्दै मैले इलाममै फर्निचरको काम गर्छु भन्ने सोच आयो, झापाबाट ओढ्ने र ओछ्याउने मात्रै लिएर यहाँ आएको थिएँ’ सागरले संर्घषका ती दिन सम्झिनुभयो । 

झापाबाट इलामलाई कर्मभूमि बनाउन जाँदा सागर एक्लै जानुभएन । परिवारलाई पनि सँगै लिएर संघर्ष गर्नु थाल्नुभयो । 

‘दोस्रो श्रीमतीपट्टिको डेढ वर्षको नानी र पहिलो पट्टीको छोरा पनि सँगै लिएर आएँ, साथमा खासै रकम थिएन, कहिले त ग्यास किन्ने पैसा पनि हुँदैन थियो’ ती दिन सम्झेर सागर भावुक हुनुभयो । यो दुःखमा सागरलाई परिवारको साथ थियो ।

सागरले परिवारसँगै बसेर इलाम बजारमा फर्निचर कारखाना खोल्नुभयो । २०६९ सालमा ७० हजार रुपैयाँ लगानी गरेर खोलेको फर्निचर व्यवसाय अहिले ठूलो भएको छ । नयाँ ठाउँ, नयाँ बजारसँग घुलमिल हुन सजिलो थिएन । तर योपालि भने सागरले दुःखलाई जित्नुभयो । 

‘दुःखमा हार मान्न हुँदैन, संघर्ष गर्न पर्छ, त्यति गर्ने हो भने विदेश जान नपर्ने रहेछ,’ सागरले आफूले भोगेको पाठ सुनाउनुभयो ।

‘अहिले त म आफैं स्याल आफैं बाघ हुँ’

विदेश नगएको भए श्रीमती गुमाउन पर्दैन थियो, फेरि नयाँ संसार बसाउन पर्दैन थियो भन्ने सागरलाई अहिले पनि लाग्छ । तर छाडेर जानेसँग के गुनासो ! पीडामा पनि सहजै आफ्नो जिन्दगीलाई अघि बढाउनुभयो । 

अहिले त सागर मात्रै हैन उहाँको फर्निचर कारखानामा अरु ६ जनाले पनि रोजगारी पाएका छन् । सामानको माग धेरै भएका बेला योभन्दा धेरै मानिसले पनि काम गर्छन् । बजारमा माग खोज्नेदेखि सामान ठाउँठाउँमा पुर्‍याउने र कारखानाको काम समेत गर्नुहुन्छ सागर । 

‘टन्न कमाउन त भाग्यमा लेखेर ल्याउन पर्छ,’ स्वदेशको कामले सफल भएका सागरले गर्व गर्दै भन्नुभयो, ‘अहिले म आफैं स्याल आफैं बाघ हुँ, मलाई कसैको डर छैन ।’

महिनामा ५० हजार रुपैयाँ त सुखैले कमाउनुहुन्छ सागर । सागरसँग त्यति ठूला सपना पनि छैनन् । फर्निचर व्यवसाय नै बढाउँदै जाने र परिवारसँगै बाँकी जीवन बिताउने उहाँको लक्ष्य छ ।

 जुन सपना लिएर विदेश पुग्नुभएको थियो ती सपना त्यहाँ त पूरा भएनन् । तर स्वदेशमा मेहनत गर्दा अब ती सपना पूरा हुने दिन टाढा पनि छैनन् । 

स्वदेशमा गरेको कामबाट सुखी र खुशी हुनुहुन्छ सागर । उहाँलाई लाग्छ आत्मसन्तुष्टी नै जीवनको सबैभन्दा ठूलो कमाइ हो । ‘यहाँ बाँच्न सजिलो छ, तर परिश्रम गर्नुपर्छ, विदेशमा त सास पनि आफ्नो मर्जीले फेर्न पाइन्न,’ सागर भन्नुहुन्छ, ‘फेरि किन जान्छु र त्यस्तो देश, मरिगए पनि जान्नँ ।’

विदेशको सिकाइ : नेपालमा कमाइ श्रृँखला अन्तर्गत हिजो प्रकाशित कथा पढ्नुहोस्

पढाईले पठायो विदेश, प्रेमले फर्कायो स्वदेश (भिडियाेसहित)


 

अन्तिम अपडेट: साउन २८, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया