रबर उद्योगमा लगानीका लागि चिनिया व्यवसायीकाे चासाे

 माघ ९, २०७५ बुधबार १९:५:१२ | किरण लोहनी

गाेरखा - ४ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि चिनियाँ लगानीकर्ताहरुले चासो देखाएका छन् । 

गोरखकालीसहित बन्द रहेका पाँच उद्योग सञ्चालन गर्ने सरकारको तयारीसँगै चिनियाँ लगानीकर्ताले रबर उद्योग सञ्चालनमा चासो देखाएका हुन् । एक महिनाको अवधिमा दुईवटा छुट्टाछुट्टै टोलीले रबर उद्योगको भ्रमण गरिसकेको छ । एक महिनाअघि चिनियाँ टोलीले उद्योगको भ्रमण गरेको थियो । 

भ्रमणका क्रममा उनीहरु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा पनि पुगेका थिए । तर कुनै औपचारिक छलफल भने नभएको मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले बताउनुभयो । 

‘पहिले उद्योग बनाइदिएकाहरुको टोली आएको थियो, त्यसमा चिनियाँ सरकारी अधिकारीहरु थिए’ उहाँले भन्नभयो, ‘तर उक्त पक्षसँग मन्त्रालयको तर्फबाट कुनै औपचारिक छलफल भएको छैन ।’ मंगलबार चीनका निजी लगानीकर्ताहरुको अर्को समूहले पनि गोरखाको मझुवा देउरालीस्थित रबर उद्योगको अध्ययन गरेको छ ।

झण्डै २ घण्टा लगाएर उद्योगको भ्रमण गरेका उनीहरुले प्राविधिक पक्षमा बढी चासो दिएको उद्योगका कर्मचारीहरुले बताएका छन् ।

‘रबर उद्योगको अहिलेको प्रविधि चीनमा २० वर्षअघिनै फेज आउट भैसकेको रहेछ,’ चिनियाँ टोलीको सहयोगका लागि भाषा अनुवादक दिनेश खनालले भन्नुभयो, ‘तर अहिलेकै अवस्थामा पनि चलाउन सकिन्छ भनेर उनीहरुले आन्तरिक छलफल गरेका थिए ।’ 

दैनिक ३ सिफ्टमा उद्योग चलाउँदा मासिक ६ हजारसम्म टायर उत्पादन गर्न सकिने टोलीको बुझाइ रहेको खनालले जानकारी दिनुभयो । रबर उद्योगको भ्रमणपछि चीनका व्यवसायीको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसँग छलफल गर्ने प्रयास गरे पनि मन्त्रीको कार्यव्यस्तताका कारण सम्भव नभएको खनालको भनाइ छ ।

अहिले लगानीकर्ताहरुले मात्रै भ्रमण गरे पनि छिट्टै प्राविधिकहरुको टोलीसहित फेरि रबर उद्योग हेर्ने चिनियाँ लगानीकर्ताहरुको इच्छा रहेको उहाँले बताउनुभयो । 

उद्योगमन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले भने चिनिया मात्रै नभएर नेपाली ब्यवसायीहरुले पनि उद्योग सञ्चालनमा चासो देखाएको बताउनुभयो ।  ‘गोरखकाली मात्रै होइन, अरु ४ वटा उद्योग पुनः सञ्चालनका लागि सरकार सैद्धान्तिक रुपमा सहमत भएको छ, कुनै लिखित निर्णय चाहिँ भएको छैन’ उहाँले भन्नुभयो, ‘उद्योग चलाउने भएपछि लगानीकर्ताहरुले चासो देखाउनु स्वाभाविक हो ।’ 

तर कुन मोडलमा उद्योग चलाउने भन्नेबारे टुंगो नलागेको उहाँको भनाई छ । उद्योग सञ्चालनबारे छिट्टै सार्वजनिक सूचना जारी गर्ने तयारी भएको पनि विष्टले जानकारी दिनुभयो । ‘सार्वजनिक सूचना मार्फत लगानीका लागि आह्वान गर्ने तयारी छ, त्यतिबेला चिनियाँ मात्रै होइन अमेरिका, भारत जुनसुकै देशका लगानीकर्ता पनि आउँन सक्छन्’ उहाँले बताउनुभयो । 

अहिले भने निजी क्षेत्रलाई दिने, सार्वजनिक निजी साझेदारीमा चलाउने वा सरकारले मात्रै चलाउने भन्नेबारे छलफल भइरहेको विष्टको भनाइ छ । 

सरकारले पहिलो चरणमा पाँचवटा रुग्ण उद्योग सञ्चालनको तयारी गरेको हो । अर्थ मन्त्रालयले हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग र वीरगञ्ज चिनी उद्योग निजी क्षेत्रलाई सञ्चालन गर्न दिन उद्योग मन्त्रालयलाई सहमति दिइसकेको स्रोतले जानकारी दिएको छ ।

तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भने उद्योग सञ्चालनको मोडालिटीबारे छलफल जारी रहेको बताउनुभयो ।  ‘ मोडालिटीहरुबारे छलफल भैरहेको छ । उद्योग सञ्चालन गर्नुपर्छ, आयात घटाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ भन्ने उद्योग मन्त्रालयको मान्यता हो ।’ प्रवक्ता भट्टराईले भन्नुभयो ।   

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया