अष्ट्रेलियामा टोलैपिच्छे नेपाली संस्था : मियोबिनाको दाईं जुँगाको लडाईं

 माघ १०, २०७५ बिहिबार ८:५४:५३ | साेहम सुबेदी
unn.prixa.net

मनमोहक शहरी बस्ती र लोभलाग्दो सामाजिक सुरक्षाले विश्वका मानिसलाई अष्ट्रेलियाले मोहनी लगाउँछ

अष्ट्रेलिया - उखरमाउलो गर्मी महिना २०१९ जनवरीको एक साँझ सिड्नीको दक्षिण पश्चिमी बस्ती लिपिङ्टनको क्लबमा नेपालीको जमघट थियो । कुनाको टेबलमा १५ नेपाली आफ्नो क्षेत्रमा खोल्न लागिएको संस्थाबारे गफ गर्दै थिए । 'आउने जति आउँछन् नआउने जति छुट्छन्' एक मित्र कड्किए ! अर्का सम्झाउँदै थिए 'कुरा मिलेन भन्दैमा मन नपरेको मान्छेलाई छोड्न कहाँ पाइन्छ !'

अर्को साँझ त्यसै विषयमा क्रस रोडमा बैठक थियो । बैठकमा १५ वर्षदेखि अष्ट्रेलिया बसेका अर्का मित्र कुर्लिए, 'उनीहरु मात्रै बसेर गरेको बैठकको कुरा हामी कसरी मान्छौँ ? हाम्रो अपमान हुन्छ'  उनले थपे, 'परेदेखि यो क्षेत्रमा दुई–चार ओटा संस्था हामी नै खेलिदिन्छौँ, तर उनीहरुसँग झुक्दैनौँ !'

नेपालीले अष्ट्रेलियामा घर किनेर बस्न थालेको लगभग ५० वर्ष भयो । त्यसयता जातीय, क्षेत्रीय, खेलकुद, आस्था, परोपकारका लागि सकृय नेपालीका सयौँ संस्था तथा समूह छन् । हरेक संस्थामा किचलो उस्तै छ । बैठक बस्दा, अधिवेशन हुँदा नयाँ योजनामा कुरा हुन पाउँदैन । बैठकहरु अमुक व्यक्ति, समूह वा नेपाल छँदाको राजनीतिक आस्थामा केन्द्रित हुन्छ र जुँगाको लडाईं वा इगोको वरिपरि घुमिरहन्छ ।

मधेस जन्मथलो भएका नेपालीहरुको संस्था एसाेसियसन अफ नेपाल तराई इन अष्ट्रेलिया (नाटा) ले १८ जनवरीमा सिड्नी अवनको एउटा रेष्टुरेण्ट मा पत्रकार सम्मेलन गर्‍यो। स्थापनाको १० वर्ष पुगेको अवसरमा होली हंगामा कार्यक्रमको जानकारी दिँदै नाटाका अध्यक्षले भने 'औचित्य प्रष्ट र पोजिटिभ छ भने मात्रै नेपालीका संस्थाको काम छ । नत्र छैन ।'

कार्यक्रममा एक मित्रले पत्रकारहरुलाई पनि सोधे, 'तेस्रो पटक खुलेको अष्ट्रेलियाका पत्रकारहरुको संस्थाचाहिँ कति दिनका लागि हो ?' अष्ट्रेलियामा क्रियाशील पत्रकारहरुले यस वर्ष जनवरीको सुरुमै नेपाली पत्रकारका लागि काम गर्ने नेप्लिज अष्ट्रेलियन पत्रकार संघ गठन गर्न तदर्थ समिति बनाए । अष्ट्रेलियामा पत्रकारिताको नाममा संस्था गठन गर्न खेजिएको यो तेस्रो पटक रहेछ ।

अष्ट्रेलियाको सवैभन्दा पुरानो नेपाली संस्थाले नयाँ समिति बनाएपछि निकालेको प्रेसनोट

अष्ट्रेलियामा नेपालीले संस्था खोल्न थालेको चाहिँ  ४३ वर्ष भयो । यहाँको जेठो संस्था नेप्लिज अष्ट्रेलियन एसोसिएसन (एनएए) ले एक महिना अघि उसको ४२ औँ साधारण सभा गर्‍याे । अष्ट्रेलियामा नेपालीलाई सहयोग गर्ने र नेपाल चिनाउने संस्थाको उद्धेश्य छ । सबै नेपालीलाई समेट्ने उद्धेश्यमा खुलेको संस्थामा किन सबै नेपाली अटाएनन् ? एसाेसिएसनका महासचिव ऋषि आचार्य भन्नुहुन्छ, विदेशमा बसेपछि नेपाली गाउँघरको माया लाग्छ, क्षेत्र प्रतिको जिम्मेवारी बोध हुन्छ र संस्था खोलेर केही गरौँ भन्ने अवस्थामा पुगिन्छ ।

आफूले गरेको कुराको जस खोज्ने सबैको बानी छ । ठूलो संस्थामा बसेपछि जस पाउन ठूलै काम गर्नुपर्छ त्यसैले नयाँ संस्था खोलेर काम गर्ने र जस लिने चलन बढीरहेको छ । आचार्य भन्नुहुन्छ “तर जति नै संस्थाहरुले खुले पनि ती सबै संस्थालाई नेतृत्व गरेर जाने मियो संस्थाचाँहि अझै खुल्न सकेको छैन । त्यसैले नेप्लिज अष्ट्रेलियन एसोसिएसन (एनएए)ले नेपालीहरुका संस्थाको मियो बन्ने रणनीति तयार गरिरहेको छ ।"

गैरआवासीय नेपाली संघ, अष्ट्रेलिया

अष्ट्रेलियामा गैरआवासीय नेपाली संघ (एनआरएन)को स्थापना सन् २००५ मा भयो । एनआरएनको उदेश्य नेपाल बाहिर रहेका नेपालीलाई संगठित गर्नु, नेपाली नागरिकताको निरन्तरताको लागि पहल गर्नु, नेपाल प्रवर्द्धन गर्नु र लगानीको जोहो गर्नु हो । यी उदेश्य पूरा भएपछि एनआरएनको औचित्य के भन्ने पनि प्रश्न छ ।

अष्ट्रेलियामा एनआरएन गठन हुँदा नेपालीका पाँचवटा संस्था थिए । अहिले अनौपचारिक रुपमा भेला हुने, छलफल गर्ने, नेपालीका समूह गनीसाध्ये छैन । तर १४ वर्षअघि एनआरएन गठन हुँदा त्यतिखेर अष्ट्रेलियामा रहेका पाँच संस्थालाई समावेश गर्न सकिएको भए अहिले नेपाली बस्ने टोलैपिच्छे छुट्टै नामका संस्था खुल्दैनथ्यो भन्ने एकाथरीको आँकलन छ ।

 

अष्ट्रेलियाको समुद्री डिलमा रहेका यस्ता शहरले दिन प्रतिदिन नेपालीलाई लोभ्याइरहन्छ

उतिखेर एक समूहले एनआरएन खोलेर अरुलाई आउन भन्यो तर सबै समावेश भएनन् । अहिले पनि एनआरएनले भनेको अन्य संस्थाले मान्ने अवस्था छैन । त्यै भएर सामूहिक इच्छा अनुसार अष्ट्रेलियाका टोलटोलमा नेपालीको समूह वा संस्था खडा भैरहेको छ ।

नेपाली पार्टीका शुभेच्छुक संस्था

नेपाली दलमा आस्था भएकालाई समेट्न अष्ट्रेलियामा देशव्यापी संस्था छ । विदेशको राजनीतिक दललाई भ्रातृ संस्था खोल्ने अनुमति छैन । देशव्यापी सञ्जाल बनाएर नेपालका राजनीतिक पार्टीमा आस्था राख्नेले अष्ट्रेलियामा गैरसरकारी संस्था चलाइरहेका छन् । त्यस्ता संगठन प्रदेशस्तर र त्यो भन्दा तल्लो प्रशासनिक इकाइमा पनि छन् । तर त्यस्ता संगठनका पदहरुमा सबै अटाउँदैनन् । अष्ट्रेलियामा पनि नेपालकै जस्तो “डर्टी पोलिटिक्स” के गर्नु भन्नेहरु यस्ता संस्था बाहिरै छन् ।

अष्ट्रेलियामा एनआरएन, नेपालका राजनीतिक दलका शुभेच्छुक संस्था र साना भूगोलमा खोलिने संस्था वा खेलकुदका लागि खुलेका क्लबहरुको कानुनी हैसियत एउटै हो । सबै संस्था फेयर ट्रेडिङ गैर नाफामूलक संस्थाको रुपमा दर्ता छन् । नेपाली पार्टीका शुभेच्छुक संस्थाले औपचारिक रुपमा नेपाली सामुदायिक हितका कुरा गर्छन् । अनौपचारिक रुपमा भने सदस्यसँग लेबी उठाएर नेपालको दललाई पठाउनु, कार्यकर्ता संगठित गर्नु र नेपालीका संस्थामा आफ्नो शुभेच्छुकको वर्चश्व स्थापित गराउनु हो ।

जताबाट हेरेपनि मनमोहक लाग्छ अष्ट्रेलिया - हार्बर बृज अलिक टाढाबाट नियाल्दा

तत्कालीन एमालेको शुभेच्छुक संस्था प्रवासी नेपाली मञ्चका अध्यक्षा रमेश पाण्डेको बुझाइमा मनमा नेपाली दल र काममा समाज सेवाले दलमा आस्था राख्नेहरुको संस्था चलिरहेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीको बुझाइमा अष्ट्रेलिया आएपछि मान्छेले आफ्नो जिल्लाको, गाउँको, टोलको, विद्यार्थी संगठनको कोही व्यक्ति छ कि भनेर खोज्न थाल्यो । अनि थाहा हुँदै गएपछि बिदाको दिन भेट्ने खाजा खाने चलन चल्यो । अनि धमाधम नेपाली संस्थाहरुको जन्म हुन थाल्यो ।

नेपालमा जातीय पहिचानको कुरा जोडतोडले उठेपछि अष्ट्रेलियामा पनि जातीय नाममा संस्था खुले । गिरी भन्नुहुन्छ “समय परिस्थिति र आवश्यकताले खुलेका नेपालीका संस्था महत्व सकिएपछि आफैँ सकिन्छन् । गिरीको भनाइमा अष्ट्रेलियाको केन्द्रदेखि स्थनीय तहसम्म फैलिएका १० वटा असल संस्था भए नेपालीका लागि पुग्ने थियो ।

अष्ट्रेलियाका टोलैपिच्छे नेपालीका भिन्दै संस्था किन चाहिएको होला? भन्ने प्रश्नमा रमेश पाण्डे भन्नुहुन्छ, 'नेपालमा विद्यार्थी राजनीति गरेर आएकालाई संगठन चलाउने वा सामाजिक हुने रहर चल्यो । अष्ट्रेलियाको पब, क्लब संस्कृतिमा घुलमिल हुन सकिँदैन, किनकी नेपालीलाई आफ्नै पाराको कुरा मन पर्छ, साथीभाइको झुण्ड आवश्यक पर्छ । त्यसैले १०–२० जना नेपाली भेला भएर कुरा गर्ने एउटा समूहको जन्म हुन्छ र नेपाली संस्था गठन हुन्छ ।'

जाति, संस्कृति, भूगोल र खेलकुदका नेपाली संस्था

अष्ट्रेलियामा फूटबल, क्रिकेटसँग जोडिएका नेपाली संस्थाहरुले खेलकुदका क्रियाकलाप गर्छन् । पाको पुस्ताको राजनीति वा जुँगाको लडाईंमा त्यो पुस्ता र उनीहरुका संस्था त्यति संलग्न हुँदैनन् । नेपाली हिन्दू मन्दिर, मस्जिद, चर्च वा अन्य सांस्कृतिका लागि खुलेका संस्थाहरुले आफ्नै पात्रोअनुसार काम छ ।

नेपालका जिल्लाका नाउँमा खुलेका समाजहरु अष्ट्रेलियाका प्रत्येक प्रदेशमा छन् । जुन जिल्ला नेपालीहरु अष्ट्रेलियाको व्यापार व्यवसायमा सफल छन्, त्यस जिल्लाका सामाजिक संस्थाहरुको जगजगी अलिक धेरै छ ।

अहिले नेपाली बसिरहेका भूगोलको नाम जोडिएका संस्था पनि धेरै छन् । नजिकका एकदुई गाउँटोल जोडिएर बन्ने संस्थाहरुले पनि आ–आफ्नै कृयाकलाप गर्छन् । त्यसमध्ये सबैभन्दा प्रचलित जमघट चाहिँ बार्बिक्यू हो । साथीहरु भेलाभएर भेडा, बाख्रा, कुखुरा वा बंगुकोे मासु ग्याँस वा बिजुलीको आगोमा पोलेर खाने जमघटलाई बार्बिक्यू भनिन्छ ।

अष्ट्रेलियामा च्याउसरी संस्थाभन्दा नेपालीले राजनीतिक दल खोले के होला ?

अष्ट्रेलियाको सत्तामा पुग्न सक्ने गरी जनाधार भएका पार्टी दुईटा छन् । यहाँको राष्ट्रिय चुनावमा लिबरल वा लेबर दुई पार्टीमध्ये एकले सरकारको नेतृत्व गर्छ । बाँकी रहेका सबै दललाई इन्डिपेन्डेन्टस् भनेर परिभाषित गरिन्छ । दुई मुख्य पार्टीबाहेक अष्ट्रृलियन डेमाक्र्याट्स्, अस्ट्रेलियन ग्रीन र फ्यामिलि फस्ट पार्टी सतहमा छन् ।

चुनावको बेला स्थानीय नाउँका दल पनि देखा पर्छन् । अष्ट्रेलियामा “पूर्ण अनुशासित राजनीतिक दलहरुले मात्रै अझ बढी जीवन्त लोकतन्त्रको संरक्षण गर्न सक्छ र विविध दृष्टिकोणहरुको वकालत गर्न सक्छ” भन्ने मान्यता राखिन्छ । त्यसैअनुसार संविधानले व्यवस्था गरेको छ ।

हाउस अफ रेप्रेजेन्टेटिभ वा सिनेटमा निर्वाचित भएर जाने उदेश्यका साथ लिखित विधान र ५०० मतदाता आबद्ध भएको समूहले पार्टी खोल्न पाउँछ । तर अष्ट्रेलियाको निर्वाचन आयोगलाई भ्रममा राखेर दलको गतिविधि गरेमा सजायको व्यवस्था पनि छ । अष्ट्रेलियामा राजनीतिक दलले पनि अनुशासित विधिबाट मात्रै आफ्नो क्रियाकलाप सञ्चालन गर्न पाउँछन् ।

अष्ट्रेलियाको सिड्नीमा सवैभन्दा धेरै नेपाली बस्छन् । त्यसपछि मेलबर्न, बृसबेन, पर्थ, एडिलेड र टार्बिनमा पनि नेपाली छन् । पर्यटकीय दृष्टिकोणले झन मनमोहक गोल्डकोस्टमा पनि नेपाल छन्

अष्ट्रेलियामा राम्रोसँग स्थापित भएका नेपालीले टोलैपिच्छे संस्था खोलेर राजनीति गर्नु भन्दा एउटा दल नै खोले कसो होला ? जनसम्पर्क समिति अष्ट्रृलियाका अध्यक्ष कृष्ण केसी भन्नुहुन्छ, 'नेपालीले भाषाका कारणले अष्ट्रेलियाको मूल राजनीतिमा जान अफ्ठ्यारो मान्छन् ।' नेपाली नामका संस्था खोल्न, मान्छेलाई संगठित गर्न र एनआरएनको उच्च तहमा जानका लागि नेपालीले जति राजनीतिक मेहनत गर्छन् त्यति कसरत अष्ट्रेलियाको राजनीतिक दलभित्र गरेदेखि नेपालीहरु अष्ट्रेलियाको राजनीतिमा पनि राम्रै तहमा पुग्ने विश्वास गिरीको छ ।

अर्को कुरा जमेर राजनीति गरेदेखि अष्ट्रेलियामा अहिले भैरहेका दुई ठूला दलका उच्च तहमा नेपाली पुग्ने सम्भावना रहछ । गिरीको भनाइमा यो पुस्ताले नभए पनि अष्ट्रेलिया आएका नेपालीको दोस्रो पुस्ताले चाहिँ यहाँको राजनीतिमा उपल्लो दर्जा हासिल गर्न सक्छ ।

नेपालमा जन्मेका व्यक्तिले अष्ट्रेलियामा घरजग्गा किनेर बसोबास गर्न थालेको झण्डै ५० वर्ष भयो । ४८ वर्ष पहिले सिड्नीको सेन्ट जोर्ज भन्ने ठाउँमा पहिलो पटक नेपालीले घर किनेको इतिहास भेटिन्छ । त्यसयता अष्ट्रेलियाका आठै राज्यमा नेपालीहरु बसोबास गर्छन् । सिड्नीमा त हरेक ट्रेन स्टेसनमा जतिबेलै नेपाली भेटिन्छन् । अष्ट्रेलियाका सरकारी वेवसाईटहरुले पनि नेपालीलाई द्रुत गतिमा बढिरहेको विदेशमा जन्मिएका अष्ट्रेलियाली नागरिक समुदायको दर्जामा राखेको छ ।

अष्ट्रेलियामा पढिरहेका विद्यार्थीसमेत जोड्दा लगभग एकलाख नेपाली बस्छन् । त्यसमध्ये स्थायी बसोबास गर्ने नेपालीको सँख्या ५० हजारको हाराहारीमा छ । फेयर ट्रेडिङ्मा दर्ता भएका र नभएकासमेत गरेर नेपालीका संस्था लगभग २०० छन् । फेयर ट्रेडिङ्मा दर्ता नेपालीका संस्थाको सख्या भने ६७ पुगेको छ । अष्ट्रेलियामा खुलेका नेपालीका संस्था ७ प्रकारका छन् । केहीको प्रदेशस्तरमा शाखा छ भने कतिपय गाउँस्तरसम्म विस्तारित छन् । तर नयाँ संस्था खोल्ने, त्यसको पदमा बस्ने, सभा बैठक गर्ने र नेतृत्व लिने नेपालीहरुको प्यास भने मेटिएको छैन ।

अन्तिम अपडेट: फागुन ६, २०७५

साेहम सुबेदी

दुई दशकदेखि विद्युतीय सञ्चारमाध्यममा सकृय सुवेदी अष्ट्रेलियाबाट  उज्यालो अनलाइनका  सामग्री तयार पार्नुहुन्छ। 

तपाईको प्रतिक्रिया