मौसम : काठमाण्डौ उपत्यकामा बाक्लो हुस्सु, पश्चिममा पानी पर्ने अनुमान

 माघ १०, २०७५ बिहिबार ८:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकामा अहिले बाक्लो हुस्सु लागेको छ । बुधबार पानी परेपछि बिहीबार बाक्लो हुस्सु लागेको हो । बाक्लो हुस्सुका कारण अहिले काठमाण्डौको भिजिविलिटी एक सय मिटरमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

कम भिजिविलिटि भएकाले सडकमा गाडी चलाउँदा वा हिँड्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । मौसमविद् मन्जु बासीका अनुसार अहिले लागेको हुस्सु दिउँसोपछि मात्रै हट्नेछ । हुस्सु हटेपछि काठमाण्डौमा बिहीबार घाम लाग्ने छ । 

बिहान ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको दिउँसोको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

बुधबारभन्दा बिहीबारको मौसममा सुधार हुने मौसमविद् बासीले बताउनुभएको छ । सोमबार रातिदेखि सक्रिय भएको पश्चिमी वायु कमजोर भएकाले बिहीबार काठमाण्डौ उपत्यकासहित पूर्वी क्षेत्रमा दिउँसोपछि घाम लाग्नेछ भने पश्चिमी क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने उहाँको भनाइ छ ।

बिहीबार पश्चिमको एक दुई ठाउँमा पानी पनि पर्न सक्छ तर मौसम एकैछिन बदली हुँदै खुल्ने उहाँको अनुमान छ । मौसमविद् बासीका अनुसार रातिदेखि अर्को प्रणाली नेपाल प्रवेश गर्ने भएकाले भोलिदेखि भने देशभरी कै मौसम बदली भई धेरै ठाउँमा वर्षा र हिमपात हुनेछ । सोमबार रातिदेखि उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात हुँदा देशभरको जनजीवन प्रभावित भएको छ । 
 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया