‘अति कम विकसित देशका लागि कानुनमा आधारित व्यापार प्रणाली आवश्यक’: प्रधानमन्त्री ओली

 माघ १०, २०७५ बिहिबार १०:४२:९ | रासस
unn.prixa.net

स्विट्जरल्याण्ड – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित देशको चासो र अभिरुचि प्रवर्द्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिनुभएको छ । 

स्विट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका आर्थिक नेताहरुको अनौपचारिक भेला’मा प्रधानमन्त्री ओलीले याे कुरामा जोड दिनुभएको हो । “हामीले थाहा पाएजस्तै विश्व व्यापार अन्त्य भएको हो त ?” भन्ने प्रश्न यो सत्रमा राखिएको थियो । उहाँले जी–२० मुलुकका नेता तथा प्रमुख व्यावसायिक व्यक्तिहरुसँग पनि भेटवार्ता गर्नुभयो । 

प्रधानमन्त्री ओलीले स्वीस औषधि उत्पादक संस्था नोभार्टिसका प्रमुख कार्यकारी अधिकृत वसन्त नरसिंह तथा केपीएमजीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अरुण कुमारसँग भेट गरी नेपालको प्राथमिकता क्षेत्रमा सम्भावित लगानीका विषयमा छलफल गर्नुभयो । 

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व आर्थिक मञ्चकोे ‘कूल गार्हस्थ उत्पादनभन्दा बढी’ विषयक सत्रमा भाग लिनुभयो । उहाँले नेदरल्याण्डको आर्काडिस कम्पनीका निर्देशक क्यारोलिन गेरेल्ससँग भेट गरी नेपालमा लगानी तथा तथा विकास सहयोगका विषयमा छलफल गर्नुभयो । 

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीसँग भेट गरी नेपालमा शरणार्थीका साथै शरणार्थीको विश्वव्यापी प्रभावका विषयमा छलफल गर्नुभयो । 

प्रधानमन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलका अन्य उच्चपदस्थ अधिकारीहरुले विश्व आर्थिक मञ्चमा भाग लिइरहेका विभिन्न सरकारी तथा व्यापारिक नेताहरुसँग भेट गरी नेपालमा नीति, योजना तथा प्राथमिकताका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया