पक्राउ पर्नेले सुन भने, परीक्षण गर्नेले नक्कली ठहर्‍याए

 माघ १०, २०७५ बिहिबार ११:३१:५१ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - जिल्ला प्रहरी कार्यालय धादिङले पुस २० गते ४ किलो सुन सहित ३ जनालाई पक्राउ गर्न सफल भएको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गरायो । 

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूहरुको सहयोगमा प्रदेश ३ को प्रहरी इकाइले रसुवा हुँदै भारततर्फ लैजान लागेको अवस्थामा सुनसहित मान्छे पक्राउ गरेको बताउनुभएको थियो ।  

प्रहरीले बरामद गरेको भनिएको ४ किलो सुनसहित पक्राउ परेका तीनै जनालाई पत्रकार सम्मेलनपछि आवश्यक कारबाहीका लागि भन्दै राजश्व अनुसन्धान विभाग काठमाडौं ल्याएको थियो । 

धादिङबाट काठमाण्डौ ल्याइपुर्‍याउँदा साँझ परिसकेको थियो । साँझ परे पनि प्रहरीले सुन भनिएको वस्तु सहित तीनै जनालाई विभागमा लग्यो ।

प्रहरीले विभागको टोलीलाई सुन भनिएको वस्तुसहित पक्राउ परेकालाई बुझाएर जान खोजेको थियो । तर विभागको टोलीले त्यो बुझ्नु भन्दा पहिले सुन भनिएको वस्तु परीक्षण गर्ने भन्यो । 

विभागले पहिले परीक्षण गरेर मात्रै कुनै पनि वस्तु बुझ्ने गरेको बताउनुहुन्छ, विभागका निर्देशक तथा सूचना अधिकारी शेखर पौडेल । त्यो दिन पनि विभागको टोलीले प्रहरीले ल्याएको सुन जिम्मा लिनु अघि परीक्षण गर्ने भन्यो । 

प्रहरीले ल्याएको सुन भनिएको वस्तु सहित विभागको टोली सुन, चाँदी व्यवसायी महासंघको सहकार्यमा त्रिपुरेश्वरमा रहेको एक सुनचाँदी पसलमा परीक्षणका लागि पुग्यो । त्यहाँ परीक्षण गराउँदा प्रहरीले बरामद गरेको भनेको सुन नक्कली भएको पुष्टि भयो ।  

सुन भनेर ल्याएको बस्तु नक्कली भएको पुष्टि भएपछि आफूहरुले त्यो जिम्मा नलिएको र प्रहरीले पनि मान्छे सहित उक्त वस्तुलाई आफैले लिएर गएको विभागका शाखा अधिकृत रामप्रसाद अधिकारीले बताउनुभयो । 

परीक्षणका क्रममा प्रहरीले सुन भनेर ल्याएको वस्तु तामा र ढलोट निस्केको उहाँले बताउनुभयो । ‘प्रहरीले सुन भनेर ल्याएको वस्तुमा सुन नभई तामा र ढलोटमा बाहिरबाट सुनको लेप मात्रै लगाइएको रहेछ,’ अधिकारीले भन्नुभयो । सुन नभएको पुष्टि भएपछि साँझ नै प्रहरीले पक्राउ परेकाहरुलाई पुनः जिल्ला प्रहरी कार्यालय धादिङ पुर्‍यायो ।  

धादिङ लगेर प्रहरीले पक्राउ परेका तीनै जनालाई सुन मुद्दा नभइ ठगी मुद्दा चलाएको छ ।

बरामद गरिएको बस्तु स्थानीय सुनचाँदी व्यवसायीसँग परीक्षण गराउँदा सुन नै भनेकाले आफूहरुले आवश्यक कारबाहीका लागि विभागमा पठाउनु परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । 

पक्राउ परेकाहरुसँग पनि त्यो बेला सोधपुछ गर्दा सुन नै भनेकाले आफूहरुले त्यही अनुसार सार्वजनिक गरेको उहाँले बताउनुभयो । घटनाको प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको हो भन्ने जिज्ञासामा प्रहरी उपरीक्षक विकले यसबारे सत्यतथ्य छानविन गरेर वास्तविकता बाहिर ल्याउन प्रधान कार्यालयबाट  टोली आउन लागेको स्विकार्नुभयो ।  

उनीहरुलाई पक्राउ गर्दा तयार पारिएको मुचुल्का र विभागले परीक्षण गरेपछि फेरि तयार पारेको मुचुल्का आफूहरुसँग सुरक्षित रहेकाले बाहिर आए जस्तो साटिएको हो कि भन्ने खालका कुरामा सत्यता नरहेको पनि उहाँले दावी गर्नुभयो ।  

धादिङ प्रहरीको सहयोगमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बुद्धिराम थारुसहितको टोलीले गत पुस १९ गते राति गजुरी बजारको सिद्धेश्वर महादेव मन्दिर नजिकबाट सुन भनिएको वस्तुसहित तीन जनालाई पक्राउ गरेको थियो । 

बा.८७ प ७७३१ र प्रदेश ३, ०२–००३ प २५४० मा आइरहेका रसुवाको उत्तरगया गाँउपालिका–२ का २७ वर्षीय अजित वाइबा, नुवाकोट–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही गाउँका २४ वर्षीय विकास तामाङलाई प्रहरीले सुन भनिएको वस्तुसहित पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: चैत १०, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया