सुरु भयो जयपुर साहित्य उत्सव : मनिषा कोइरालादेखि नोबेल विजेता रामाकृष्णनसम्म सहभागी

 माघ १०, २०७५ बिहिबार ११:४०:२८ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

जयपुर – ‘गुलाबी शहर’ का रुपमा परिचित राजस्थानको जयपुरमा बिहीबारदेखि साहित्यको कुम्भ मेला ‘जयपुर साहित्य उत्सव’ सुरु भएको छ । 

२००६ बाट सुरु भएको जयपुर साहित्य उत्सव ‘द ग्रेटेस्ट लिटररी शो अन द अर्थ’ को रुपमा विकसित हुँदै गइरहेको छ । पहिलो संस्करणमा जम्मा १८ जना साहित्यकारहरुको उपस्थिति रहेको यो साहित्य मेलामा अहिलेसम्म दुई हजार भन्दा बढी साहित्यकार वक्ताका रुपमा र झण्डै १० लाख साहित्यिक अनुरागी उपस्थित भैसकेका छन् । 

यस पटकको जयपुर साहित्य उत्सवमा नोबेल, म्यान बुकर, पुलित्जर तथा साहित्य अकादमी पुरस्कार विजेता लेखकसहित ३० देशका ५०० भन्दा बढी साहित्यकार उपस्थित हुनेछन् ।

बेलायती कवि तथा उपन्यासकार रुथ पडेल र नोबेल पुरस्कार विजेता वैज्ञानिक वेन्की रामाकृष्णनको कि नोट स्पीच(मूल मन्तव्य)सँगै जयपुर साहित्य उत्सव औपचारिक रुपमा सुरु भएको छ ।

साहित्य उत्सव राजस्थानको राजधानी जयपुरको केन्द्रमा रहेको १५० वर्ष पुरानो होटेल डिग्गी प्यालेसमा बिहीबारदेखि ५ दिनसम्म चल्नेछ । वास्तुकलाले नै सजिएको ऐतिहासिक दरबारमा साहित्यिक हस्ती र साहित्य अनुरागीको उपस्थितिले यहाँको माहोल नै काव्यिक बनेको छ । बिहीबार मात्रै विभिन्न शीर्षकमा ३२ वटा सत्र चल्नेछन् ।

यस पटकको जयपुर साहित्य उत्सव विज्ञानमा बढी केन्द्रित रहेको छ । नोबेल विजेता वेन्की रामाकृष्णनले आजको युगमा विज्ञानको महत्वका बारेमा उत्सवको मूल मन्तव्यमा आफ्ना विचारहरु व्यक्त गरेका थिए । त्यस्तै यस पटकको साहित्यिक उत्सवमा विज्ञान तथा प्रविधि र वर्तमान मानव समाजका बारेमा चर्चा परिचर्चा हुँदैछ ।

यस पटकको साहित्य उत्सवमा नोबेल पुरस्कार विजेता वेंकटारमण रामाकृष्णनदेखि म्यान बुकर पुरस्कार विजेता बेन ओक्रीसम्मको सहभागिता रहेको छ । त्यस्तै चर्चित भारतीय लेखक तथा फिल्म निर्देशक गुल्जारको उपस्थितिले जयपुर साहित्य उत्सवलाई थप रोमाञ्चक बनाउनेछ ।

यस पटक साहित्य उत्सवमा अमेरिकी लेखक कोल्सन ह्वाइटहेड, बेलायती इतिहासकार बेटानी ह्यूग्स, चर्चित उपन्यासकार जेफ्री आर्चर, चर्चित भारतीय राजनीतिज्ञ तथा लेखक शशि थरुर, प्याट्रिक फ्रेन्च, कार्लो पिज्जाटी, चर्चित भारतीय पत्रकार राजदीप सारदेसाई, अमिताभ कुमारलगायतका साहित्यकारहरुको उपस्थिति रहनेछ । 

मनिषा कोइराला र मञ्जुश्री थापा पनि 

गएको वर्षको जयपुर साहित्य उत्सवमा नवाजुद्दीन सिद्दीकी, शोहा अली खानलगायतका बलिउड कलाकारको उपस्थिति थियो । यस पटक पनि बलिउडबाट गुल्जार, जावेद अख्तार, मनिषा कोइराला, सबाना आज्मीलगायतका हस्तीहरुको उपस्थिति रहनेछ । 

मनिषा कोइरालासँग फेस्टिभलका निर्देशक सञ्जय के रोयले मनिषाको क्यान्सर संघर्षका बारेमा कुरा गर्दैछन् । मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड : हाउ क्यान्सर गेभ मि अ न्यू लाइफ’ यतिबेला चर्चामा रहेको छ । मनिषा कोइरालाले सन् २०१२ मा आफूलाई पाठेघरको क्यान्सर भएको थाहा पाएकी थिइन् ।

त्यसपछि उपचारका क्रममा पाएका पीडा तथा सफल उपचारपछिका भोगाइहरुलाई समेटेर उनले आत्मकथा तयार पारिन् । क्यान्सरको सफल उपचारपछि मनिषाको पुनरागमनको प्रशंसा नगर्ने कमै होलान् । मनिषाले ‘सञ्जु’, लस्ट स्टोरीज जस्ता चलिचत्रमा अभिनय गर्दै आफू अझै पनि अब्बल कलाकार भएको प्रमाणित गरिन् । 

पहिलो पुस्तकको सफलतापछि मनिषाले आफूले भविष्यमा अरु पनि पुस्तक लेख्ने सोच बनाएको बताउँछिन् ।

त्यस्तै मञ्जुश्री थापा जयपुर साहित्य उत्सव–२०१९ को चौथो दिन सोमनाथ बाटाब्यालसँग उपन्यासको प्रकृतिका बारेमा कुरा गर्दैछिन् । उनको सत्रको नाम दिइएको छ, ‘एभ्रिथिङ इज फिक्सन’ । 

यस पल्टको साहित्य उत्सवमा साहित्यकार, संगीतकार, बलिउडका कलाकार तथा निर्देशक गरी तीन सय भन्दा बढी लेखकको उपस्थिति हुनेछ । जसका कुरा सुन्न गुलाबी सहर जयपुरमा दक्षिण एसियाबाट मात्रै होइन, विश्वका विभिन्न देशबाट कलाप्रेमीको घुइँचो लागेको छ ।

१२ औँ संस्करणसम्म आइपुग्दा जयपुर साहित्य उत्सवले नोबेल पुरस्कार विजेता जेएम कोत्जे, ओरहान पामुक, वोले सोयिन्का, म्यान बुकर विजेता इयान म्याकइवान, मार्गरेट अटवुड, पल बेटी तथा साहित्य अकादमी विजेता गिरीश कन्नड, गुल्जार, जावेद अख्तर, एमटी वासुदेवन, महाश्वेता देवी र यूआर अनन्तमूर्तिजस्ता विश्वप्रसिद्ध साहित्यकारलाई पस्किसकेको छ ।

त्यस्तै जयपुर साहित्य उत्सवमा चिमामाण्डा नगोजी अदिची, विक्रम सेठ, अमात्र्य सेन, अमिताभ बच्चन तथा एपीजे अब्दुल कलाम, दलाई लामा, ओप्रा विन्फ्रे पनि सहभागी भैसकेका छन् ।

पूर्वदेखि पश्चिमसम्मका साहित्यिक हस्तीहरुको उपस्थितिले पनि जयपुर साहित्य उत्सव विश्वकै सफल र उत्कृष्ट उत्सव ठहरिएको छ । दक्षिण एसियालाई मात्रै होइन, यस महोत्सवले पूरा विश्वलाई एक ठाउँमा उभ्याइदिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया