कम्युनिष्टले एकदलीय तानाशाही शासन लाद्न खोजे : सभापति देउवा

 असार ५, २०७५ मंगलबार १७:११:२६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेपाली का‍ंग्रेसका सभापति शेरबहादुर देउवाले कम्युष्टिहरुको सरकारले एकदलीय तानाशाही लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालालाई मंगलबार हेटौंडामा उद्घाटन गर्दै उहाँले केपी ओलीको राष्ट्रवाद अहिले लमपसारवादमा परिणत भएको बताउनुभयो । ‘हामीले एउटा लडाई हारेका छौं । मैदान हारेका छौनौ’, देउवाले भन्नुभयो, ‘यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरु नेपाली कांग्रेसका आदर्शबाट निर्देशित छन । र यो संविधानको सफल कार्यान्वयन पनि हामीले नै गरेका छौं । तसर्थ म साथीहरुलाई कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगडि बढ्न आब्हान गर्दछु ।’

देउवाले कांग्रेस अबको समय राम्रो काम गर्न तयार हुनुपर्ने बताउनुभयो । पार्टीभित्र नै केही असतुष्टि अभिव्यक्त हुने गरेको बताउँदै देउवाले भन्नुभयो, ‘कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरञ्जित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन् ।’

देउवाले आफ्नो कार्यकालको बचाउ गर्न पनि भ्याउनुभयो । ‘पछिल्लो समयमा संविधानको निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुँदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र उर्जा त्यसतर्फ केन्द्रीत भयो । तसर्थ केही काम गर्न ढिलाई भए पनि महत्वपूर्ण काम अगाडि बढेका छन’, देउवाले भन्नुभयो, ‘नेपाली कांग्रेसले ठूला–ठूला ऐतिहासिक उपलब्धि प्राप्त गर्ने र साना साना आग्रह पूर्वाग्रह राखि जानी नजानी आफैले प्राप्त गरेका उपलब्धि अबमूल्यन हुने गरी हामी प्रस्तुत हुने कार्य गरी रहेका त छैनौ ? यसमा सबैको ध्यान जान जरुरी छ ।’ 

देउवाले कम्युनिष्टको हातमा लोकतन्त्र सुरक्षित नहुने दाबी गर्नुभयो । कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन भन्ने भ्रम बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै भएको देउवाले दाबी गर्नुभयो । उहाँले सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको अाराेप लगाउनुभयो ।

अहिलेको अवस्थामा गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको उहाँको दाबी छ । मूल्यवृद्धिले नागरिक आक्रान्त बनेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख छ । केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको छ । यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादबाट जोगाउने जिम्मेवारी पनि हाम्रो काधमा आएको छ ।’

कांग्रेसले सबै ठाउँमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने देउवाले बताउनुभयो । ‘अब एकतावद्ध, संगठित र व्यवस्थित कांग्रेसले नै यी जिम्मेवारी बहन गर्न सक्ने भएकाले यस बारेमा म स्वयं गम्भीर छु’, देउवाले भन्नुभयो, ‘सबै नेता साथीहरुलाई गम्भीर हुन आग्रह गर्दछु ।’


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया