ऊर्जामन्त्री र जापानी प्रतिनिधिमण्डलबीच भेट,  नेपालको कृषि क्षेत्रमा सहयोग गर्न जापानको चासो

 माघ १०, २०७५ बिहिबार १३:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपालको कृषि क्षेत्रमा सहयोग गर्न जापानले चासो देखाएको छ । नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधि मण्डलले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग भेट गर्दै यस्तो चासो देखाएको हो । 

जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधी मण्डलले बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा मन्त्री पुनसँग भेटवार्ता गरेको हो ।

भेटका क्रममा अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिंदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताउनुभयो । उहाले नेपाल कृषि प्रधान देश रहेको भन्दै कृषि क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको पनि बताउनुभयो ।  

‘नेपालमा के–कस्ता सम्भावनाहरु छन्, हामी त्यसको अध्ययन, अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ’ उप–महानिर्देशक ताकामीले भन्नुभयो ।  

सिंचाई र पानीको क्षेत्रमा जापानको लामो अनुभव रहेको भन्दै त्यसको ज्ञान बाँड्न आफूहरु इच्छुक पनि उहाँले मन्त्री पुनसँगको भेटमा बताउनुभएको थियो । 

मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको बताउँदै सिंचाइ र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा अबका दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपालको कृषि क्षेत्रको विकासको लागि सिंचाइको महत्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री पुनले त्यसका लागि मन्त्रालयले भेरी बबई, रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाएको जापानी टोलीलाई जानकारी दिनुभयो । 

भेटमा नेपालका लागि जापानी राजदूत मसामिची सैगोसमेत सहभागी हुनुहुन्थ्यो । उहाँले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जापान भ्रमण र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको बेला कृषि क्षेत्रमा सहकार्य गर्ने सहमति भएको भन्दै यो भ्रमणदल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया