सलाह चोटमुक्त : रुसलाई हराउने दाउमा इजिप्ट

 असार ५, २०७५ मंगलबार १७:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको आफ्नो सुरुवाति खेलपछि आयोजक रुस र इजिप्ट दुवै टोली दोस्रो खेलका लागि सेन्ट पिटर्सबर्ग रंगशाला पुग्दा संयमित रहनेछन् । रुस र इजिप्टको खेल नेपाली समय अनुसार राति पौने बाह्र बजे सुरु हुनेछ ।

घरेलु टोली रुसलाई पहिलो खेलमा जस्तै शानदार प्रदर्शन गर्ने दबाब रहँदा पहिलो खेलमा उरुग्वेसँग अन्तिम मिनेटमा गोल खाएर ३ अंक गुमाउनुपरेको इजिप्टका लागि नकआउट चरण प्रवेशको महत्वपूर्ण क्षण आज बन्न सक्छ ।

यतिसम्म कि रुसी समर्थक नै आफ्नो टोलीले साउदी अरेबियालाई ५–० गोलले हराउँछ भनेर सोचेका थिएनन् । तर, डेनिस चेरिसेभको शानदार दुई गोलको सहयोगमा रुसले साउदीलाई हराउँदै विश्वकपमा सुखद सुरुवात गरेपछि परिस्थिति फेरिएको छ । रुसका लागि अन्तिम १६ मा पुग्न अब ३ अंक मात्रै पनि पर्याप्त हुन सक्छ ।

अर्कोतर्फ इजिप्ट, उसका लागि यो खेल अत्यन्तै महत्वपूर्ण छ ।  इजिप्टका सुपरस्टार मोहम्मद सल्लाह यस खेलदेखि चोटमुक्त हुँदै मैदानमा फर्कने सम्भावना देखिन्छ । इंग्लिस प्रिमियर लिगका उत्कृष्ट गोलकर्ता सलाहको उपस्थितिले मात्रै पनि इजिप्ट टिम बढी आक्रामक हुने निश्चित छ ।

पहिलो खेलमा उनी खेल्ने भनिए पनि अन्तिम समयमा खेल्न सकेनन् । जसको फलस्वरुप उरुग्वेले खेलको अन्त्यतिर गोल गरी ३ अंक खोसेको थियो । सायद त्यही स्पिरिटलाई कायम राखेमा रुसविरुद्ध इजिप्ट हावी हुनेछ ।

उद्घाटन खेलमा शानदार प्रदर्शन र गोलको वर्षा गरेको रुसको मनोवल उच्च देखिन्छ । साउदी अरबविरुद्धको जितको पछाडि हरेक सदस्यको शतप्रतिशत योगदान छ । तर, इजिप्टविरुद्धको अवस्था भने फरक छ । मोहम्मद सलाहको उपस्थिति होस् या नहोस्, घरेलु टोली कडा मेहनतका लागि दृढ छ र जित हासिल गरी अर्को चरणमा स्थान बनाउन उद्धत छ ।

उरुग्वेसँगको परिणामपछि इजिप्टको दिमागमा एउटा कुरा के स्पष्ट छ भने रुसलाई हराउनु नै उसको अन्तिम बिकल्प हो । प्रशिक्षक हेक्टर कुपरले मोहम्मद सलाहका साथ सेन्ट पिटर्सबग प्रस्ताथ गर्नुअघि आफ्नो अन्तिम तयारी सकाएका छन् । आयोजक टोलीको उद्घाटन परिणामका साथै घरेलु समर्थकको साथले इजिप्ट दबाबमा हुनेछ । तर उसँग दवाव थेग्न सक्ने सार्मथ्य छ ।

शुक्रबारको उदघाटन खेलमा रुसका दुई खेलाडीले विश्वकपका साथै रुसी टोलीबाट पहिलो गोल गरेका हुन् । युरी गाजिन्स्कीको एक गोल र चेचेभको २ गोल । दुवैको राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।

समूह एमा रहेका रुस र उरुग्वेको समान तीन अंक छ भने साउदी र इजिप्ट अंकविहीन छन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया