मेलम्चीकाे बाँकी काम नेपाली कम्पनीबाटै गराउन राष्ट्रिय सरोकार तथा समन्वय समितिकाे निर्देशन

 माघ १०, २०७५ बिहिबार १५:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ । 

बिहीबार सिंंहदरबारमा बसेको समितिको बैठकले तत्काल काम थाल्नेगरी नेपाली निर्माण व्यवसायीमार्फत् आयोजनाको बाँकी काम पूरा गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको हो । २०७० सालमा इटालीको सीएमसी कम्पनीलाई ३ वर्षमा आयोजना सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो । उक्त कम्पनी काम सम्पन्न नगरी अन्तिम समयमा आएर भागेपछि अहिले निर्माण कार्य ठप्प छ ।

ग्लोबल टेन्डर आह्वान गरेर जाँदा ढिलाई हुने भएकाले सो आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीमार्फत् नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिनुभयो ।

समितिले आयोजनाभित्र देखिएका अन्य समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल गर्न ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

सीएमसी कम्पनीले गर्नुपर्ने करिब ९ सय मिटर सुरुङको फिनिसिङसहित सुरुङभित्र क्यामेरा जडान गर्ने, सुरक्षाका उपकरण जोड्ने काम बाँकी छ । यस्तै उपआयोजना अन्तरगत वितरण प्रणालीका पाइप बिछ्याउने, मर्मत गर्ने काम समेत अलपत्र परेको छ ।

बैठकमा समितिका सदस्यहरुले भने मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्ने काममा जिम्मेवार देखिएको भन्दै सरकारको चर्काे आलोचना गरेका थिए ।

समितिका सदस्य सुरेन्द्रराज पाण्डेले सीएमसी कम्पनी सरकारले कमिशन मागेपछि भागेको गम्भीर आरोप पनि लगाउनुभयो । राष्ट्रियसभाका प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका उहाँले सीएमसी कम्पनीमाथि मन्त्रीबाटै कमिशनको दवाव आएपछि बाँकी काम पूरा नगरी भागेको दावीसमेत गर्नुभयो ।

बैठकमा समितिकी अर्का सदस्य कोमल ओलीले सीएमसी कम्पनी भाग्दा पनि बेखबर भएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले सो खानेपानी आयोजनाको काम समयमै सम्पन्न गराउन कर्मचारी संयन्त्र लागि नपरेको आरोप पनि लगाउनुभयो ।

 पटक पटक गरिएको प्रतिबद्धता अनुसार सो आयोजनाको काम अघि बढन नसकेकोमा ओलीको आपत्ति थियो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले सो आयोजनाको बाँकी काम एसियाली विकास बैंकलाई सहमतिमा ल्याएर नेपाली निर्माण कम्पनीबाटै गराउने योजना समितिमा पेश गर्नुभएको थियो ।

उहाँले सो आयोजनाको बाँकी काम ४ वटा टुक्रामा विभाजन गरेर छिट्टै सम्पन्न गराउने प्रतिबद्धता पनि जनाउनु भयो ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी अलपत्र छोडेर सिएमसी कम्पनी हिँडेपछि सरकारले पनि स्थानीय निर्माण कम्पनीहरुमार्फत नै बाँकी काम पूरा गराउने गरी एसियाली विकास बैंकसँग छलफल अघि बढाएको छ ।

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया