मकवानपुर गढीको संरक्षण र सुरक्षा गर्नु जरुरी: राष्ट्रपति भण्डारी

 माघ १०, २०७५ बिहिबार १५:४६:५२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुर गढीको संरक्षण र सुरक्षा गर्नु जरुरी रहेको बताउनुभएको छ । 

मकवानपुरको गढी गाउँपालिकामा रहेको ऐतीहासिक मकवानपुर गढीको २ सय ५६  विजय उत्सवका समारोहको बिहीबार उद्घाटन् गर्दै भण्डारीले विभिन्न राष्ट्रिय मार्गहरुले जोडिएको गढीको अझै महत्व भएको बताउनुभयो ।

मकवानपुरमा रहेका विभिन्न गढी, ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण गरिनुपर्ने उहाँले बताउनुभयो । 

नेपाल सरकारले पनि गढीको संरक्षणका लागि र यस क्षेत्रको वन क्षेत्रको संरक्षण गर्नका लागि काम गरिरहेको उहाँको भनाइ थियो । मकवानपुर गढीमा भएको एकीकरण र विजयप्राप्तिको दिनले पनि अहिलेको सार्वभौम मुलुक बनेको उहाँले स्मरण गराउनुभयो । 

नेपालको इतिहासमा मकवानपुर गढीको महत्व दर्शाउनु राम्रो कुरा रहेको बताउँदै उहाँले भन्नुभयो–‘नेपालको इतिहासमा जीवनको आहुति दिनेहरुप्रति श्रदासुमन पनि छ । ऐतिहासिक धरोहरमा रहेको मकवानपुर गढीको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको छ ।’ 

गढीले २ सय ५६ आंै विजय उत्सव मनाएकोमा भण्डारीले बधाईसमेत दिनुभयो । अब जलवायु परिवर्तनलाई न्यूनीकरण गर्दै जलवायु अनुकुलन हुनेगरी पूर्वाधारहरु निर्माण गर्नुपर्ने उहाँको भनाई छ । 

‘हेटौंडाको शहीद स्मारकको पनि निकै विकास भएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा उर्जाशील युवाहरुलाई रोजगारी दिलाउन सकेको छ ।’ 
अहिले तराई र पहाडको संरक्षण गरिनुपर्ने बताउँदे उहाँले चुरे संरक्षणका लागि पनि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले संघीय नेपालको सातवटै प्रदेश खुलेको नेपालको नक्सा अनावरण पनि गर्नुभयाे । 

कार्यक्रममा तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको अवसरमा विजय उत्सव मनाइएको बताउनुभयो ।

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई विशेष महत्व दिएको उहाँले बताउनुभयो । आफुहरुले यसै वर्ष पर्यटन मार्ग र पदमार्ग निर्माण गर्न लागिएको बताउनुभयो । अहिले प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको कार्यन्वयन गरिरहेको बताउनुभयो । 

कार्यक्रममा मकवानपुर गढीका खोजकर्ता केदार प्रसाद न्यौपाने र बद्रीप्रसाद खतिवडालाई राष्ट्रपति भण्डारीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडा, तीन नम्बर प्रदेशका मन्त्रीहरु कैलाश ढुंगेल, शालिकराम जमरकटेल, दावा लामा, अरुण नेपाल, प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँलगायत विभिन्न मन्त्रालयका कर्मचारी तथस्थानिय तहका जनप्रतिनिधिहरुको सहभागिता थियो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया