सरकारले भन्योः डाक्टर केसीले नै विधेयक पढेनन्, कांग्रेसले अनसनलाई उचाल्यो

 माघ १०, २०७५ बिहिबार १६:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले डाक्टर गोविन्द केसीका सबै माग पूरा भएको भन्दै आन्दोलनको कुनै अर्थ नभएको जनाएको छ । 

मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले नागरिकमुखी चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेको भन्दै आन्दोलनको अर्थ नभएको जनाएको हो । 

संसदबाट अब विधेयक फिर्ता हुने कल्पना पनि गर्न नसकिने भन्दै उहाँले विधेयक पास हुने ठोकुवा गर्नुभयो । लोकतन्त्रमा संसदको बहुमतको सम्मान हुने भन्दै चिकित्सा शिक्षा विधेयकको टुंगो संसदले लगाउने पनि उहाँले बताउनुभयो 

डाक्टर केसीले नै विधेयक नपढेको हुनसक्ने भन्दै उहाँले विधेयक पूरै पढ्न पनि डा केसीलाई आग्रह गर्नुभयो । 

‘डाक्टर केसीलाई हामीले संसदमा पेश भएकोभन्दा अर्कै विधेयक पो दिइएको छ कि भन्ने लागेको छ, डाक्टर सापलाई अनुरोध छ, कृपया विधेयक पढिदिनुस्, तपाइँले उठाएका सबै माग पूरा भएका छन’ प्रवक्ता बाँस्कोटाले भन्नुभयो । 

केसीको अनसनलाई कांग्रेसले राजनीतिकरण गरेको भन्दै उहाँले संसदमा हुलहुज्जत गर्ने र सभामुखलाई घेराबन्दी गर्नु लोकतान्त्रिक चरित्र नभएको बताउनुभयो । 

‘सरकारले दुई तिहाइको दम्भ देखायो, अधिनायकावाद लाद्न खोज्यो, जे जे भन्नुस्, प्रक्रियाबाटै अघि बढेको विधेयक शुक्रबार बस्ने संसद बैठकबाट पारित हुन्छ’, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया