साउदीमा समस्यामा परेका तीन नेपाली महिलाको उद्दार

 माघ १०, २०७५ बिहिबार १७:४:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीमा समस्यामा परेका तीन जना महिलालाई नेपाली दूतावासले उद्दार गरी नेपाल पठाएको छ ।

कुवेतबाट भिजिट भिषामा साउदी पुर्याएर घरेलु काम गर्न बाध्य पारिएका दिलमाया चेपाङ, शान्ति राई लामा र मुना दुराललाई नेपाल फर्काइएको नेपाली दूतावासले जनाएको छ । 

नेपालबाट कुवेतमा काम लगाइदिने भन्दै लगेको भए पनि दिलमायालाई साउदीमा लगेर घरेलु काममा लगाइएको थियो । कुवेती स्पोन्सरले नै उहाँलाई साउदीमा छाडेको दूतावासले जनाएको छ । 

साउदीमा साहुले कुटपिट गर्दै दुव्र्यवहार गरेको भनेर दिलमायाले दूतावासमा सम्पर्क गर्नुभएको थियो । दूतावासको पहलमा परिवारले नै हवाई टिकट पठाएपछि दिलमाया मंगलबार स्वदेश फर्किनुभएको छ । 

त्यस्तै शान्ति र मुनालाई पनि कुवेतबाट साउदी ल्याई लामो समयदेखि गैर कानुनी अवस्थामा काममा लगाइएको दूतावासको भनाइ छ । 

‘गैरकानुनी हिसाबले काममा लगाइएको रहेछ, उनीहरुले समस्यामा परेको भन्दै दूतावासमा खबर गरेपछि हामीले उद्दार गरी स्वदेश पठाएका हौं,’ दूतावासले भनेको छ । 

शान्ति र मुनालाई भने केही दिनअघि नेपाल पठाइएको हो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया