यूएईविरुद्ध नेपालले भाेलि खेल्ने: पारस भन्छन्-जुनसुकै फर्म्याट हाेस्, उत्कृष्ट प्रदर्शन गर्छाैं

 माघ १०, २०७५ बिहिबार १९:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको नेपालकाे एक दिवसीय सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । स्थानीय समयअनुसार शुक्रबार साढे नौ बजे नेपाल र यूएईबीच खेल हुनेछ । सो खेलका लागि नेपाली टिमले यूएईमा सामान्य अभ्यास पनि पूरा गरेको छ । 

अभ्यासपछि नेपाली टाेलीका कप्तान पारस खड्काले इतिहासकै दोस्रो एक दिवसीय सिरिजका लागि टिम पूर्ण रुपमा तयार भएको प्रतिक्रिया दिएका छन् ।

कप्तानकाे आत्मविश्वास

सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पारस खड्काले भने, ‘तयारीका लागि जे जति समय थियो, त्यसलाई हामीले सदुपयोग गरेका छौं । त्यति राम्रो तयारी गर्न नसके पनि सबैभन्दा महत्वपूर्ण कुरा नतिजा हो । भोलिको खेलमा एउटा टिमका रुपमा शतप्रतिशत क्षमता देखाउनेछौं ।’ 

नेपालले लामो समयपछि एक दिवसीय खेल खेल्न लागेको हो । तर पनि केही समयअघि एक दिवसीय घरेलु प्रतियोगिता प्रधानमन्त्री कप भने नेपालले खेलेको थियो ।

यो सिरिजमा चार जना बिल्कुलै नयाँ अनुहार टिममा समावेश गरिएका छन् । अविनाश बोहरा, भीम सार्की, पवन सर्राफ र सन्दिप जोरा पहिलो पटक राष्ट्रिय टिममा समावेश गरिएका युवा अनुहार हुन् ।

कप्तान पारस खड्काले नयाँ खेलाडीले पनि मौका पाउने बताए । ‘केहीले थोरै र केहीले सबै खेल खेल्न पाउनेछन् । ५० ओभर र २० ओभरको सिरिज भएका कारण हामीले दुईवटा फरक टिम सेटअप बनाउनेछौं,’ कप्तान पारस बलियो टिम बन्नेमा विश्वस्त हुँदै भन्छन् ।

मैत्रिपूर्ण सिरिज भएका कारण केही परीक्षण पनि हुने कप्तानको भनाइ छ । 

पहिलो सिरिज नै तीन एक दिवसीय

घरेलु प्रतियोगितामा अहिले नेपाली टिमले विषेशगरी २० ओभरका खेलहरु खेलिरहेका छन् । यूएईविरुद्ध पहिलो सिरिज नै तीन एक दिवसीय हुनेछ । टि–२० मा अभ्यस्त भइरहेका खेलाडीलाई एक दिवसीय खेल्न पनि त्यति कठीन नहुने प्रतिक्रिया पारसको छ ।

‘घरेलु क्रिकेटको कुराभन्दा पनि हामीले जे पाउँछौं, त्यसलाई सदुपयोग गर्नुपर्छ । २० ओभरको मात्र खेलेको छु भनेर ५० ओभरको खेलमा खेलाडीलाई कुनै छुट हुनेछैन‍,’उनले भने ।

‘फरक फर्म्याटमा आउनका लागि केही समय लाग्न सक्छ । काठमाण्डाैमा पनि हामीले ५० ओभरको म्याच खेलेका थियौं । ५० ओभर होस वा २० ओभर हामीले उत्कृष्ट प्रदर्शन गर्नु जरुरी छ ।’


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया