विदेशबाट ल्याइने रक्सीलगायतमा थप कडाइ हुने, महानिर्देशक भन्छन्: रक्सी नै खानपरे कर तिरेर खानुस्

 माघ ११, २०७५ शुक्रबार १६:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले विदेशबाट ल्याउने सामानको भन्सार जाँचमा थप कडाइ गर्ने भएको छ । 

खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै यात्रुका सुनचाँदी, मोबाइल, ल्यापटप  रक्सीलगायतका सामान जफत भएका छन् । यसमा थप कडाइ हुने भन्सार विभागका महानिर्देशक तोयम रायाले बताउनुभयो । 

नेपाल आर्थिक पत्रकार समाज सेजनले काठमाण्डौमा गरेको कार्यक्रममा महानिर्देशक रायाले भन्नुभयो, ‘आजसम्म त हामीले झिटिगुन्टासम्बन्धी कानुनको कडाइका साथ पालना गरेनौं, अहिले अलि अलि पालना भैरहेको छ, रुवावासी छ, तर अब झनै कडाइ हुन्छ, कानुनमा भएको भन्दा १ प्रति पनि धेरै ल्याउन पाइन्न ।’

‘सोर्स लगाएकै भरमा कसैको सामान छाड्ने, कसैको नछाड्ने भन्ने हुँदैन, कानुनमा जे छ त्यै हुन्छ, सुनचाँदी, रक्सी, मोबाइल ल्यापटप लगायतका सामग्री ल्याउँदा कानुन बुझेर मात्रै ल्याउनुस्, विमानस्थलमा आएर हामीलाई गाली गर्न पाइन्न’ महानिर्देशक रायाले भन्नुभयो ।

अहिले धेरै नेपालीले विमानस्थलमा रक्सी जफत भएकोमा गुनासो गरिरहेको भन्दै भन्सार विभागका महानिर्देशक रायाले ठट्यौली पारामा भन्नुभयो, ‘हामी गरिब देशका मान्छे भनेर उफ्रने, तर खानुपर्ने विदेशी रक्सी, विदेश घुम्न जाँदा मैले देख्छु, कसैले पनि रक्सी बोकेको देख्दिन, नेपाल आउनेले किन झोला झोलामा रक्सी ल्याउनुपरेको हो कुन्नी, खानैपरे खानुहोस तर भन्सार तिरेको रक्सी खानुहोस् ।’


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Akshaya

    Jan. 26, 2019, 7:03 a.m.

    Good initiations! Keep it up. This will help encourage people to use Nepali products.

  •  0 Reply

तपाईको प्रतिक्रिया