आत्तिएर सभामुख महराले भने – ‘हुन्न भन्ने पक्षका माननीय सदस्यको बहुमत भएकाले... अङ्ग बनेको घोषणा गर्दछु’

 माघ ११, २०७५ शुक्रबार १८:५६:५३ | विशाल कार्की
unn.prixa.net

काठमाण्डौ - सभामुख कृष्णबहादुर महराले शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘हुन्न भन्ने पक्षका माननीय सदस्यको बहुमत भयो’ भन्दै विधेयक पारित भएको घोषणा गर्नुभयो । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुन नदिने कांग्रेसको विरोधले आत्तिएझै देखिनुभएका सभामुखले ‘प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्’ भनेपछि सत्ता पक्षका सांसदले हुन्छ भन्दै हात उठाए ।

फेरि ‘यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुस्’ भन्दा प्रतिपक्षी सांसदले संसदमा नारा लगाइरहेका थिए । 

विपक्षीको कुनै प्रतिकृया नआएपछि सभामुखले निर्णय सुनाउदै भन्नुभयो  ‘हुन्न भन्ने पक्षका माननीय सदस्यको बहुमत भएकाले विधेयकको दफा २ देखि ५३ सम्म (राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५) को अंग बनेको घोषणा गर्दछु ।’

 

प्रमुख प्रतिपक्षी कांग्रेसले रोष्ट्रम घेर्दै नाराबाजी गरिरहे पनि सभामुख महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक छलफलका लागि पेश गर्न अनुमति दिनुभएको थियो । 

संसदमा टेबल गराउँदै शिक्षामन्त्री पोखरेलले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो । लगत्तै सभामुख महराले संसदमा प्रस्तुत भएको विधेयकको पक्ष र विपक्ष रहेका सदस्यले हुन्छ वा हुन्न भन्नुस् भन्दै कारबाही अगाडि बढाउनुभयो ।  

विधेयकमा बोल्न चाहने सदस्यले सभामुखको ड्याससँगै बसेका कर्मचारीलाई आफ्नो नाम टिपाउन आग्रह गर्नुभएको थियो । तर बोल्न कसैले पनि नाम नटिपाएपछि विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । 

सत्ता पक्षसँग झण्डै दुई तीहाई बहुमत रहेको सभामुखलाई अवगत भएरै उहाँले हलमा हेर्दै नहेरी फटाफट विधेयक पारित गराउन प्रकृयाहरु अघि बढाइरहनुभएको थियो । 

सभामुख महराले पढेर सुनाएको निर्णयमै गलत बोले पनि फेरि त्याहाँ सच्याउने काम भएन । तत्काल आवश्यक सल्लाह दिनका लागि सभामुखसँगै प्रतिनिधि सभा बैठकमा सचिव रहने व्यवस्था छ । तर सभामुखले हतार हतारमा बोलेको उक्त कुरा कसैले पत्तै पाएनन् । तर यो कुरा संसदको रेकर्डमा रहने छ । 

चिकित्सा शिक्षा विधेयक पारित गराउने हडबडमा सभामुखले ‘हुन्न भन्ने पक्षमा बहुमत भएको भन्दै विधेयक पारित भएको भन्नुले उल्टो अर्थ पनि लगाइदिएको छ ।    

अन्तिम अपडेट: चैत १५, २०८०

विशाल कार्की

विशाल कार्की उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • सम्राट विवेक न्यौपाने

    Jan. 25, 2019, 8:38 p.m.

    प्रतिपक्षीको त्यो व्यवहारको अगाडि सभामुख अतालिनु सामान्य हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया