कालो धन लुकाउन मिडियामा लगानी गर्ने क्रम बढेको छ: मुख्यमन्त्री पोख्रेल

 माघ ११, २०७५ शुक्रबार २०:२१:७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – प्रदेश नम्बर–५ को प्रदेशस्तरीय सञ्चार सम्मेलन शुक्रबारदेखि जलुके सातमारामा रहेको स्वर्गीय कृष्ण सेन इच्छुकको भग्नावशेष घरमा सुरु भएको छ । 

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर–५ को आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन मुख्यमन्त्री शंकर पोख्रेलले गर्नुभएको छ ।  

सम्मेलनलाई उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले रातारात कमाउनेहरु सुरक्षित हुनका लागि मिडियामा लगानी गर्ने गरेको दाबी गर्नुभयो ।
उहाँले कालो धन लुकाउन मिडियामा लगानी गर्ने क्रम बढेको बताउनु भएको छ । 

मिडियामा लगानी गर्ने र निष्पक्षता बाहिर रहेर आलोचना गर्ने पवृत्ति बढेको भन्दै त्यसलाई रोक्न पत्रकार महासंघले वहस चलाउनु पर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । 

मुख्यमन्त्री पोखरेलले पत्रकार कृष्णसेन इच्छुकको नाममा जलुकेमा संग्रहालय बनाउन सकिने बताउँदै प्रदेश सरकारले प्रदेशको प्रमुख पहाडी सडक कृष्णसेनकै नाममा स्थापना गरेको समेत जानकारी गराउनु भयो ।  

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अधयक्ष गोविन्द आचार्य, प्रदेश सांसद इन्द्रजित थारु, महासचिव रमेश बिष्ट, पूर्व केन्द्रिय सदस्य सूर्य थापा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासे लगायतले मन्तव्य राख्नुभएको थियो । 

राप्ती किनारमा कृष्णसेनको घरको छेउमा गरिएको मिडिया सम्मेलनमा प्रदेश ५ का पत्रकारहरको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने सम्मेलनले प्रादेशिक मिडिया संरचनाका विषयमा छलफल गरी निष्कर्ष निकाल्ने प्रदेश पत्रकार महासंघका अध्यक्ष मौसम रोकाले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया