इराक पुर्‍याएर १२ लाख रुपैयाँमा बेचिएकी डोमा यसरी फर्किइन् नेपाल

 माघ १२, २०७५ शनिबार १६:१५:७ | मोहन पौडेल
unn.prixa.net

काठमाण्डौ – डोमा शेर्पा (नाम परिवर्तन) काठमाण्डौमा आफन्तको होटलमा काम सघाइदिनुहुन्थ्यो । होटलमा प्रायः खाना, खाजा खान आइरहने एक जना ग्राहक सधैं विदेशका कुरा गरिरहन्थे । उनी विदेश पठाउने दलाल रहेछन् । 

विदेश गएकाहरुले राम्रो कमाएको भनेर उनले कुरा गर्थे । दिनहुँ यस्तै कुरा सुन्दा सुन्दै डोमाले पनि विदेश जाने सोच बनाउनुभयो । डोमाका कुरा थाहा पाएपछि ती व्यक्तिले डोमालाई विदेश जाने भए पठाइदिने प्रस्ताव गरे । 

काम घरको, तर नेपालको जस्तो घरमा काम गर्नेहरुले जस्तो दुःख गर्नु पर्दैन भनेर फकाए ती दलालले डोमालाई । उनले डोमालाई यूएई पठाइदिने भने । देशको नाम डोमाले पहिले पनि सुन्नुभएको थियो । 

त्यसैले जान तयार हुनुभयो । केही समयपछि उनले डोमालाई घरबाट हिँडाए । विदेश जानेहरु काठमाण्डौको त्रिभुवन विमानस्थलबाट उड्छन् । तर उहाँलाई दलाले बसमा काँकडभिट्टा पुर्‍याए । ‘सीमामा पुलिसले सोध्यो भने आफन्तकोमा जान लागेको भन्नु भनेको थियो’ डोमाले दलालले सीमा कटाउन सिकाएको कुरा सुनाउनुभयो । 

अवैधानिक बाटो हुँदै विदेश जानु ठिक होइन भन्ने डोमालाई थाहा नभएको होइन । तर दलालले उहाँलाई काठमाण्डौबाट उड्दा सरकारले धेरै कुरा सोधेर उड्न दिँदैन भन्दै भारतको बाटो लगे । 

सीमा नाका कटाएका दलालले उहाँसँगै १५ जनालाई भारतको नयाँ दिल्ली पु¥याए । दिल्ली पुगेपछि डोमाले आफू जस्तै विदेश जोन दिन पर्खिएर बसेका १५ जना महिला भेट्नुभयो । ‘तर राम्रोसँग बोल्न दिँदैनथ्यो अनि केही सोध्न पनि पाइँदैनथ्यो’ यही कारण उनीहरु एकअर्काका विषयमा अन्जान थिए । 

यूएई भन्दै त्यहाँ पुगेकी डोमाका १५ दिन बिते । १६ दिनको यूएई नभई कीर्गिस्तान पठाउने भए दलालले । कीर्गिस्तान उहाँका लागि नाम नै नौलो थियो । उहाँले सुरुमा आफू यूएई जाने भनेर आएकाले यूएई नै जान पाउनुपर्ने बताउनुभयो ।

तर दलालले त्यो ठाउँमा कामसँगै कमाई पनि यूएईमा भनिएको भन्दा राम्रो हुने भन्दै लोभ देखाए । ‘फर्किउँ भने बाहिर निस्किन दिँदैनथ्यो अनि के गर्नु त’ दिल्ली पुगेपछि नेपाल फर्किन सक्ने विकल्प कम हुँदै गए डोमासँग ।

उहाँसँगै त्यहाँ साँघुरो कोठामा कोचेर राखिएका महिलाको मोबाइल दलालले खोसिसकेको थियो । त्यही दिन उहाँसँग एक लाख २० हजार रुपैयाँ लियो दिल्लीमा भएको नेपाली दलालले । १६ दिनको दिन दिल्ली छोड्नुभयो । तर न उहाँहरु कीर्गिस्तान पुग्नुभयो न यूएई । उहाँहरुलाई दलालले श्रीलङ्का पुर्‍याए । 

स्वदेश जति टाढा हुँदै थियो, डोमा र उहाँजस्तै अरुको अवस्था अझै सकसपूर्ण हुँदै थियो । डोमासहित १५ जना महिलाको सङ्ख्या श्रीलङ्का पुगेपछि ७० पुग्यो । उनीहरु जस्तै अरु ५५ जनालाई पनि श्रीलङ्कामै पुर्‍याएर राखिएको रहेछ । तर उनीहरुले न एकअर्कासँग कुरा गर्न पाउँथे न त बाहिर निस्किन नै ।

त्यहाँसम्म भारतमा घर भएका नेपाली दलालले पुर्‍याए । श्रीलङ्का पुगेको २० दिन बित्दा पनि त्यहाँबाट अन्त लाने कुरा गरेन दलालले । एउटै कोठाको कष्टकर बसाईले आजित भएपछि ७० जनाले नै कि आफूहरुलाई भनेको ठाउँमा पुर्‍याउन, नभए नेपाल फर्काउन दबाब दिए । तर त्यहाँबाट भनेको ठाउँमा पुर्‍याउँछु भन्नुको साटो उल्दै गाली गर्न थाल्यो ।

‘गाली मात्रै होइन कुट्न नै खोज्थ्यो अनि अर्काको देशमा कहीँ कतै केही जाने बुझेको छैन भनेर चुप लागेर बस्यौं’ डोमा भन्नुहुन्छ ।२६ औं दिनको राती डोमासँगै १५ जनालाई श्रीलङ्काबाट उडाइयो । उहाँलाई पहिल्यै इराक जानुपर्ने भनिसकेको थियो दलालले । त्यसैले डोमालाई इराक पुगिन्छ भन्ने मात्रै थियो । बाँकी को लिन आउँछ, कहाँ पु¥याउँछ केही थाहा थिएन । 

इराकमा उत्रिएका डोमासँगै १५ जना नेपाली महिलालाई लिन नेपाली व्यक्ति नै आएका थिए विमानस्थलमा । त्यसपछि भने इराककै स्थानीयले उहाँहरुलाई फरक फरक ठाउँतिर लिएर गए । नेपालबाट भारत हुँदै श्रीलङ्कासम्म पुग्दा सँगै रहेका नेपाली महिला अब भने छुट्टिए । ‘त्यसपछि उहाँहरु कहाँ पुग्नुभयो मैले थाहा पाइनँ’ डोमा भन्नुहुन्छ । 

इराकीसँग साथ लागेर गएकी डोमालाई सात दिन एउटा कार्यालयमा लगेर राखिएको थियो । डोमाले त्यहीँ हो जीवनमा पहिलो पटक मान्छेलाई पनि पशु जस्तै गरेर मोलतोल गरेर बेचेको देख्नुभएको । ‘सबैलाई लाइन लगाएर राखिँदो रहेछ, अनि लिन आउने मान्छेले छानेर दलालले भनेको पैसा तिरेर लाँदो रहेछ’ डोमाले त्यो क्षण सम्झनुभयो । 

त्यही ठाउँमा डोमाको पनि मोलामोल भयो । त्यतिबेला सँगै रहेका ७ जनामध्ये सबैभन्दा धेरै पैसा डोमाकै लागि तोकियो । ‘त्यहाँ काम गर्ने मान्छे लिन आउनेहरुले नेपाली नै खोज्दा रहेछन त्यही भएर’ डोमाले त्यो कालो दिन सम्झिनुभयो । उहाँलाई दलालले १२ लाख रुपैयाँ तोके । लिन आउने इराकका स्थानीयले १२ लाख तिरेर उहाँलाई त्यो ठाउँबाट घरमा पु¥याए । ती दिन सम्झिँदा डोमाको आङ अहिले पनि जिरिङ्ग हुन्छ । 

एक त भारत र श्रीलङ्कामा साँघुरोको कोठामा बस्नु पर्दाको कष्ट अनि इराक पुगेपछि पशु जस्तै गरी बेचिनुपर्दाको पीडा । यिनै कुराले डोमालाई शिथिल बनाएको थियो । उहाँ बिरामी पर्नुभयो । डोमालाई लिएर गएका व्यक्तिले ७ दिन उपचार गरे । 

उपचारपछि ठिक भएकी डोमालाई घरका साहुले राम्रो काम नगरे फेरि त्यही कार्यालयमा पुर्‍याइदिने धम्की दिइरहन्थे । तर हप्ता दिनपछि साहुले धम्की दिन छोडे । नेपालबाट हिँडेदेखि मोबाइल चलाउन नपाएकी डोमाले मोबाइल चलाउन पाउनुभयो । साथीहरुसँग सम्पर्क हुन थाल्यो । 

भाषा नबुझ्दा काम गर्न समस्या हुँदा साथीहरुलाई सोध्नुहुन्थ्यो । डोमाले काम गर्ने घरमा ८ जनाको परिवार थियो । तीन तला भएको घरमा १८ वटा कोठा थिए । ती सबै कोठामा काम गर्न पुग्नुपथ्र्यो डोमाले । ‘बिहान ६ बजेदेखि बेलुकी एक बजेसम्म काम गर्नुपथ्र्यो । तर विदेशमा घरको जस्तो कहाँ हुन्छ र भनेर चित्त बुझाएँ’ डोमा भन्नुहुन्छ । 

मोबाइलमा फेसबुक र यूट्यूब चलाउन थालेपछि डोमाले झनै मन रुवाउने कुरा थाहा पाउनुभयो । उहाँले सरकारले नेपालीका लागि इराक जान खुला नगरेको कुरा बुझ्नुभयो । त्यति मात्रै होइन यसरी अवैधानिक रुपमा इराक पुगेकाहरुले पाएको दुःख देख्नु र सुन्नुभयो । त्यतिञ्जेलमा ढिलो भइसकेको थियो ।

डोमासँग त्यहाँबाट फर्किन सक्ने उपाय थिएन । विदेशमा काम त धेरै गरिहाल्नुपर्छ नि भनेर मन बुझाएपनि डोमाको ज्यानले थेगेन । रगत नै बान्ता हुन थाल्यो । त्यतिञ्जेलसम्म मानवीय व्यवहार गरेका साहुले ६ महिनापछि भने पशुलाई झैं व्यवहार गर्न थाले ।

डोमालाई म्याद सकिएको औषधी दिए । सुई लगाउन लाने भने पनि लगेनन् । ‘त्यतिबेला भने बुवाआमाको यति याद आउँथ्यो नी, धुरु धुरु रोएर बस्थें’ डोमाले सुनाउनुभयो ‘तर उनीहरुको छेउमा चाहिँ कहिल्यै रोइनँ’

दुई वर्ष त्यहाँबाट उम्किन पाउनुभएन । उहाँका दुई वर्ष त्यही घरमा बित्यो । दुई वर्षको सम्झौता सकिन तीन महिना बाँकी छँदै दलालले घरका साहुसँग डोमालाई नेपाल पठाउने टिकटका लागि भन्दै २ लाख रुपैयाँ लिए । 

दुई वर्ष पुगेपछि साहुले अफिसमा पुर्याइदियो । सम्झौता सकिन लाग्दा घर फर्किन पाउने आशमा रहेकी डोमाले फेरि दलालकै हातमा पुगेपछि भने घर फर्किने आश मार्नुभयो । टिकटको पैसा लिएको दलाले नेपाल फर्किन अझै तीन महिना अर्को काम गर्नुपर्ने शर्त राख्यो दलालले ।

त्यति मात्रै होइन उहाँसँग भएको दुई लाख रुपैयाँ, मोबाइल र ज्याकेट पनि त्यही दलालले राख्यो ।दलालले अर्को ठाउँमा तीन महिना काम गरेपछि मात्रै नेपाल पठाउने सर्त राखे पनि डोमाले मान्नुभएन ।

बरु उहाँले साथीको मोबाइल मागेर त्यहीँबाट नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सहयोगी समूहसँग सम्पर्क गर्नुभयो । जिफन्टमा आबद्ध सहयोगी संस्थाका सदस्यको सुझाव अनुसार उहाँले आफू नेपाल नै फर्किने अडान छोड्नुभएन । ‘मैलै बरु म मर्छु तर अब अर्को ठाउँमा काम गर्न जान्न भनेर अड्डी कसेर बसें’ डोमा भन्नुहुन्छ । 

तीन दिनसम्म भात नखाएपछि अरु ठाउँमा त्यसरी नै महिला लाने व्यक्तिले त्यो दलाललाई यदि डोमालाई केही भएमा समस्या हुने भन्दै सम्झाए । त्यति मात्रै होइन अर्का दलालले ८ सय डलर दिए घर पठाइदिने पनि बताए । तर डोमासँग पैसा थिएन । उहाँले पैसा दिन नसक्ने बताउनुभयो ।

ती व्यक्तिले केही दिनमा ४ सय डलर दिए आफूले ४ सय डलर थपेर पठाइदिने बताए । डोमाले यो आफ्नो ज्यान सकुशल घर फर्काउने उपाय सम्झिनुभयो । घरबाट पैसा मागेर बुझाउनुभयो । पैसा बुझाएपछि पहिलो पटक उहाँलाई नक्कली टिकट दिएर ठग्न खोजे ।

तर डोमाले टिकट हेरेर थाहा पाउनुभयो । ‘त्यसमा मेरो नाम थिएन अनि कहाँ जाने भन्ने पनि लेखिएको थिएन’ डोमा भन्नुहुन्छ । आफूलाई ठग्न खोजेको थाहा पाएपछि चार दिनपछि बल्ल डोमालाई सक्कली टिकट हात पर्‍यो । उहाँ गएको मंसिर ४ गते उहाँ नेपाल फर्किनुभयो । े

‘बाँचेर फर्किन पाउँछु भन्ने सोचेकै थिइनँ । तर आइपुग्दा खुशीले रोएँ’ डोमाले फर्किन पाउँदाको खुशी साट्नुभयो । अहिले उहाँ आफूलाई इराक पुर्‍याएर बेच्ने दलाललाई कारबाही गर्ने उपाय खोजिरहनुभएको छ । ‘म अरु नेपाली चेली उसको हातमा नपरुन भन्ने चाहन्छु ।’ डोमा भन्नुहुन्छ । 

 

अन्तिम अपडेट: जेठ १८, २०७६

मोहन पौडेल

उज्यालोमा कार्यरत मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया