‘कसैको हत्या गर्ने मन हुन्छ, अनि म पुस्तक लेख्छु’

 माघ १३, २०७५ आइतबार १०:१४:१४ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

जयपुर – जयपुर साहित्य महोत्सवको १२ औँ संस्करणमा विश्वभरका साहित्यकार, लेखक, पत्रकार, राजनीतिज्ञ, सुरक्षा अधिकारीले आफ्ना विचार आदानप्रदान गरेका छन् । बिहीबारबाट सुरु भएको महोत्सवको रौनक बढ्दै गैरहेको छ । 

महोत्सवमा चर्चित उपन्यास ‘कल मि बाई योर नेम’ का लेखक एन्ड्री एसिम्यान, नोबेल विजेता वैज्ञानि वेन्की रामाकृष्णन, दलित लेखक मनोरञ्जन व्यापारीलगायतका लेखकहरु संलग्न रहेको सत्र थियो । ‘कल मि बाई योर नेम’ का लेखक एसिम्यानसँग अटोग्राफ लिनेहरुको लामो लाइन नै लागेको थियो । 

‘कसैको हत्या गर्न सक्दिन, त्यसैले पुस्तक लेख्छु’ 

‘द अदर : स्टोरिज अफ डिफ्रेन्ट’ नाम दिइएको सत्रमा बोल्दै कोलकाताका दलित लेखक मनोरञ्जन व्यापारीले आफ्नो लेखन यात्राका अनुभव सुनाए । सुरुमै ठट्टा गर्दै व्यापारीले भने, ‘मेरो नाम भलै मनोरञ्जन हो, विश्वास गर्नुहोस् म तपाईँहरुलाई मनोरञ्जन प्रदान गर्नेवाला छैन ।’

आफू तत्कालीन पूर्वी पाकिस्तानबाट भारत आएको बताउँदै व्यापारीले भने, ‘देश विभाजनका कारण हामी यता आउन बाध्य भयौँ । तर यहाँको सरकारले हामीलाई सहयोग गरेन । उसले हामीलाई दण्डकर्णा जाउ भन्यो । हामी त्यहाँ जान स्वीकार गरेनौँ । त्यसैले सरकारले हामीलाई दिने सहयोग पनि बन्ध गर्‍याे ।’

विद्यालय जाने इच्छा भए पनि स्रोत साधनको अभावमा आफू जान नसकेको व्यापारीले बताए । सानै उमेरमा गोठालो बस्ने, होटेलमा जुठा भाँडा माझ्नेलगायतका काम आफूले गरेको पनि व्यापारीले बताए । आफ्नो अगाडि बढ्ने बाटो बन्द गरिदिएको भन्दै व्यापारीले भने, ‘जसको अगाडि बढ्ने बाटोे बन्द गरिएको होस्, उ भड्किएर कहाँ कहाँ जान्छ थाहै हुँदैन । म पनि भड्किएँ । भड्किँदा भड्किँदै म जेलसम्म पुगे । जेलसम्म पुगेकैले म यहाँसम्म आइपुगेँ । त्यसैले मैले त्यो जेललाई पनि धन्यवाद दिन चाहन्छु ।’

आफूलाई एक सज्जनले जेलमा लामो समय बिताउनु पर्छ भनेको बताउँदै व्यापारी भन्छन्, ‘बाहिर न त खानलाई केही पाइन्थ्यो, न त बस्नलाई घर नै थियो । जाडोमा लुगलुग काँप्नुपर्थ्यो । यहाँ त(जेलमा) खाना पनि पाइयो, बस्नलाई घर पनि छ । हाम्रो देशमा यस्तो पनि व्यवस्था छ । तमाम व्यवस्था छ । खाली खोजेर लिनुपर्छ, पाइन्छ । जहाँ कपडा, खाना, बस्ने ठाउँ सबैथोक छ, केवल जानुपर्छ ।’

आफूले जेलमै पढ्न लेख्न सिकेको पनि व्यापारीले बताए । एउठा काठको टुक्रा लिएर जेलको भूइँमा आफूले लेख्नेपढ्ने गरेको व्यापारीले बताए । जेलमा नै आफूलाई पढाइलेखाइको भूत सवार भएको बताउँदै व्यापारीले जेलबाट रिहा भएपछि पनि पढ्ने बानी छोड्न नसकेको बताए । ‘नयाँनयाँ साइकल चलाउँदा दिनभर चलाएजस्तो म पनि पढेको पढ्यै गरेँ’, पढाइको अनुभव सुनाउँछन् व्यापारी । 

आफूले कुनै पनि कुरा प्रेमले नलेखेको बताउँदै उनी भन्छन्, ‘मैले जे लेखे सबै क्रोधले लेखेँ । मैले माया नै पाइनँ त कहाँबाट प्रेमपूर्वक लेखूँ ? मैले पटक–पटक भन्छु, मलाई हत्या गर्ने इच्छा हुन्छ । सक्दिनँ, त्यसैले लेख्छु । विश्वमा थुप्रै मान्छे छन् त्यस्ता जसले करोडौँ मान्छेलाई बाँच्न दिँदैनन् । तिनीहरुलाई बाँच्ने अधिकार नै छैन । तर म मार्न त सक्दिनँ नि । उनीहरुको अन्यायविरुद्ध मैले एउटा पात्र खडा गरेर उनीहरुलाई पुस्तकमै भए पनि म सिध्याउँछु ।’

आफूले पुस्तकमार्फत थिचोमिचोविरुद्ध आवाज उठाएझैँ सबैले उठाउनुपर्ने व्यापारीले बताए । अरुको जीवन बर्बाद बनाउनेहरुलाई बाँच्ने अधिकार नै नभएको बताए । आफू जेलको मात्र लेखक बन्न चाहेको भए पनि बाहिरको पनि लेखक बन्न पुगेको उनले बताए । 

चर्चित लेखिका महाश्वेता देवीसँगको एउटा भेटले मनोरञ्जन व्यापारीको जीवनको बाटो नै परिवर्तन गरेको हो । गर्मीको मौसममा व्यापारीले एक जना प्रोफेसर(महाश्वेता देवी) लाई आफ्नो रिक्सामा राखेर कतै लैजाँदै थिए । त्यति बेला व्यापारीलाई जीजिविषाको अर्थ थाहा पाउन मन लाग्यो र महाश्वेता देवीलाई सोधे । महाश्वेता देवीले मनोरञ्जन व्यापारीको साहित्यिक चेतलाई बुझेर बंगालीमा जर्नल लेख्ने मौका नै दिइन् । ‘रिक्सा चलाय’(म रिक्सा चलाउँछु) व्यापारीको पहिलो प्रकाशित कृति बन्यो । 

व्यापारीले अहिलेसम्म दर्जनौँ उपन्यास, लघुकथा तथा एउटा आत्मकथा लेखेका छन् । उनको आत्मकथा‘इन्टेरोगेटिङ माइ चन्डाल लाइफः एन अटोबायोग्राफी अफ् अ दलित’ पछिल्लो समय निकै नै चर्चा परिचर्चा भएको पुस्तक हो । 

पीडादायी जीवन जिएका व्यापारी आफूलै सधैँ आफूजस्तै दमित वर्गका पक्षमा कलम चलाएको बताउँछन् । उनी भन्छन्, ‘धनीका पनि समस्या त होलान् तर उनीहरु कहिल्यै अत्याचार सहेका छैनन् होला । भोकै सुतेका छैनन् होला ।’

व्यापारीको पहिलो पुस्तक ‘बताशे बारुदेर गोंधो’ को अंग्रेजीमा ‘देयर इज गनपाउडर इन द एयर’ का रुपमा अनुवाद गर्ने अरुनाव सिन्हा जयपुर साहित्य उत्सव मनोरञ्जन व्यापारीका लागि टर्निङ प्वाइन्ट भएको बताउँछन् ।

व्यापारीलाई आफ्नो जन्ममिति पनि ठ्याक्कै थाहा छैन । उनलाई थाहा छ त केवल सन् १९५० को दशकमा उनको जन्म बंगलादेशमा भएको थियो । उनको परिवार शरणार्थीका रुपमा भारत आएको थियो । 

उनका कृतिहरु धेरैजसो उनकै जीवनमा आधारित छन् । 

पूर्व नक्सलवादी तथा रिक्साचालक चर्चामा : १४ पुस्तकको ‘कपीराइट’ बेचे महंगोमा

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया