अर्घाखाँचीमा वार्षिक साढे सात अर्ब रेमिटान्स, ६ अर्ब अनुत्पादक क्षेत्रमा खर्च

 माघ १३, २०७५ आइतबार २०:५८:५३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीमा भित्रने रेमिटान्सको रकम अधिकांश विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ । 

जिल्लाबाट विदेश पलायन भएकाहरुले कमाएर पठाएको पैसा उत्पादनशिल क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको हो ।  प्रदेश नम्बर पाँचको पहाडी जिल्ला अर्घाखाँची विदेसबाट पैसा आउने जिल्लाहरुमध्ये प्रदेशमा अग्रपंक्तिमा आउन्छ । तर विदेशबाट आएको पैसा उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा पैसा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको हो ।  

साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संस्थाले गरेको अनौपचारिक सर्वेक्षणमा जिल्लामा भित्रिएको रेमिटान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च भएको देखाएको हो ।  

अर्घाखाँचीबाट मात्रै झण्डै ४५ हजार युवा युवती रोजगारीका लागि नेपाल बाहिर छन् । जिल्लाबाट जाने अधिकांश भारत, कतार, मलेसिया, साउदी अरब, दुबई लगायतका देसमा छन् । 

अर्घाखाँचीमा विभिन्न १५ वटा बैंकले शाखा सहित २० ठाउँबाट आफ्नो सेवा दिईरहेका छन् । जसमध्ये १८ स्थानबाट रेमिटान्सको कारोवार हुने गर्छ । योसँगै विभिन्न ९ वटा सहकारी र ४ वटा रेमिट प्रालीले पनि अर्घाखाँचीमा रेमिटान्सको कारोबार गरिरहेका छन् । 

यो सबै रेमिट्यान्सको कारोबार गर्ने संस्थाहरुको तथ्यांक अनुसार अर्घाखाँचीमा मात्रै वार्षिक रुपमा झण्डै साढे सात अर्ब रुपैयाँ भित्रिने गरेको छ । जस मध्ये तीन अर्ब अर्थात ४० प्रतिशत रकम दैनिक उपभोग्य सामाग्री, खानपान, मोटर साइकल, गाडी, फेसन अनुसारको लगाउने कपडा, मोबाइल, सञ्चार तथा टेलिफोन जस्ता विलासिताका सामान खरिदमा खर्च भइरहेको छ ।  

४० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ उत्पादन नहुने क्षेत्र घर घडेरी किनबेचमा खर्च भइरहेको देखिएको साथी बचत तथा ऋण सहकारीका कार्यकारी निर्देशक प्रकाश भुसालले बताउनुभयो । 

तथ्यांक अनुसार विलासिताका वस्तु खरिद गरेर बँचेको बाँकी २० प्रतिशत रकम मात्र उत्पादनशील क्षेत्रमा खर्च हुने गरेको छ । जसबाट कृषि फर्म, साना होटल, किराना पसल सञ्चालन गरेको पाइएको छ ।  

वैदेसिक रोजगारीमा गएका युवाहरुले कमाएको पैसा विलासिता र दैनिक उपभोग्य सामाग्रीमा खर्च भएकोले उक्त रकम उत्पादन मुलक कार्यमा खर्च गर्नु पर्ने खालको नियम नै बनाएर अगाडि बढ्न सकेमा मात्र उत्पादनशील क्षेत्रमा खर्च हने उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयाे । 

विदेशमा एक जनाले दुःख गरेर पैसो कमाउने र त्यही पैसोले घर परिवार पालिनु पर्ने भएकाले रेमिट्यान्स बापत भित्रिएको पैसा उत्पादनशील क्षेत्रमा लगाउन नसकिएको उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।   

वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको पैसाबाट आफ्नै गाँउमा उत्पादनमूलक काम गर्नुपर्ने नीति ल्याउन थालिएको पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया