प्रधानमन्त्री ओलीले आज चीनका राष्ट्रपतिसँग भेटवार्ता गर्ने

 असार ६, २०७५ बुधबार ६:५७:३ | उज्यालो सहकर्मी

चीन भ्रमणका रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । 

चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।  त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । 

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नुहुनेछ । भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नाका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नुहुनेछ । 

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ ।’

द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण हुन लागेको सचिव वैरागीले जानकारी दिनुभयो । 

 

६ वटा मुख्य क्षेत्रमा चीनसँग सहकार्य गर्न सकिने


प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ६ वटा मुख्य क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको छ । 

चीन भ्रमणको पहिलो दिन मंगलबार बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा उहाँले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, व्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, मानव क्षमताको प्रयोग र प्राकृतिक स्रोत तथा वातावरण गरी ६ मुख्य क्षेत्रमा चीनसँग सहकार्य गर्न सकिने बताउनुभएको हो ।

विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूपरिवेष्ठित मुलुक नेपालका लागि यातायातको सहजतापछि व्यापार तथा पारवहनमा खर्च कटौती हुनाका साथै अन्तर्राष्ट्रिय व्यापारमा समेत बढोत्तरी हुन जानेछ ।’

नेपाल र चीनले आगामी दिनमा परस्पर विश्वास, मित्रता, समझदारी, सहकार्य र सहयोगका आधारमा शान्ति र समृद्धिका लागि साझा गन्तव्य तय गरी काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयनका लागि आफूहरुले थप पहल गरेको बताउनुभयो ।  

सीमापार रेलमार्गको विकासले नेपाललाई नयाँ युगमा परिणत गर्ने र दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । 

नेपाल र चीनबीच रेलमार्गका साथै सडकमार्ग, हवाई मार्ग, सञ्चार र ऊर्जाका क्षेत्रमा भएका समझदारी अगाडि बढ्नेमा आफू विश्वस्त रहेको दोहोर्‍याउँदै उहाँले भन्नुभयो, ‘प्रभावकारी सम्पर्क सञ्जालले नेपाललाई विश्व बजारको उत्पादन र वितरणका क्षेत्रमा प्रवेश गराउनेछ । यसले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारमा पनि महत्वपूर्ण आयाम प्रदान गर्नेछ ।’

नेपाल र चीनबीचको बृहत् सम्पर्क सञ्जालले आफूहरुको अर्थतन्त्रको उत्पादन क्षमता र जनताका लागि नयाँ अवसर सिर्जना गर्र्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रभावकारी सम्पर्क सञ्जाल विस्तार गरी नेपालले पर्यटन उद्योगमा अझै बढी फाइदा लिन सक्ने र चीनले सेवामूलक क्षेत्रमा लगानीको अवसरसमेत पाउने उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामी आपसी सम्बन्धको नयाँ प्रस्थानविन्दुमा उभिएका छौँ । हामीले सबैका लागि सुन्दर भविष्यको जग खडा गरेका छौँ ।’

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया