कलिला विद्यार्थीको ‘सुपरस्टार’ बन्ने सपना ! पूरा कसले गरिदिने ?

‘बाल नाटक महोत्सवमा नवराजको संघर्ष’

 माघ १४, २०७५ सोमबार १०:३५:११ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – कपनको सान्तेन ममोरियल स्कुलमा पढ्ने कृष्णा भारतीलाई चलचित्रमा अभिनय गर्ने रहर छ । यसका लागि उनी दैनिक ‘रिहर्सल’ गर्छिन् । गीत गाउँछिन् । अभिनय गर्छिन् । चलचित्रकै शैलीमा लबज मिलाएर संवाद बोल्छिन् । 

स्कुलमा शिक्षकले पढाउँदा ध्यान दिएर पढ्छिन् । उनलाई सुपरस्टार बन्ने रहर छ । त्यो पनि अहिलेकी चल्तीका नायिका प्रियंका कार्की जस्तै ।

‘मलाई लभसबको लडफामा पर्नु छैन । मलाई त प्रियंका कार्की जस्तै सुपरस्टार बन्नु छ’ १० औँ बाल नाटक महोत्सवमा प्रदर्शन भएको ‘पूर्णिमाको सपना’ नाटकमा अभिनय गरेकी कृष्णा भन्छिन् ‘मेहनत गर्दै जान्छु । एकदिन कसो प्रियंका कार्की जत्तिकै नबनौंला र ?’

अभिनयका लागि मरिहत्ते गर्ने कृष्णाको सपना पूरा गर्न रंगकर्मी नमस्ते दिवाकर घिमिरेले नाटक ‘पूर्णिमाको सपना’ लेखे । विद्यालयले १० औँ बाल नाटक महोत्सवमा भाग लिने घोषणा गरेपछि दिवाकरले नाटकको ‘रिहर्सल’ सुरु गरे । ‘लिड रोल’ उनै कृष्णालाई दिएर ‘पूर्णिमा’ बनाए ।

अनि उनकै साथी तेन्जिङ लामालाई ‘रमा’ बनाए । नाटकमा रमा र पूर्णिमा मिल्ने साथी हुन् । सँगै पढ्छन् । स्कुल पढ्दै गरेकी तर सुपरस्टार बन्ने सपना पालेकी ‘पूर्णिमा’ भने बलात्कृत भइन् । त्यो पनि मिल्ने साथी ‘रमा’कै दाईबाट । बलात्कृत भएपछि ‘पूर्णिमा’ डिप्रेसनमा परिन् । 

चिच्याउने, मुर्छा पर्ने भएपछि पूर्णिमालाई घरकाले अस्पताल पुर्या‍ए । अस्पतालको बेडमा डाक्टरले सोध्दा उनको सुपरस्टार बन्ने आत्मबल मरिसकेको थियो । देशमा बढ्दै गएका बलात्कार, हत्या र बालिकामाथिको यौन हिंसाले विद्यार्थीको सपना चकनाचुर बन्दै गएको छ । नाटक ‘पूर्णिमाको सपना’को सार पनि यही हो । 

‘बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तकै सारमा नाटक ‘पूर्णिमाको सपना’ प्रदर्शन गरिएको हो । पूर्णिमाको जस्तै सपना निर्मलाको पनि थियो होला । तर पुरा हुन सकेन’ निर्देशक घिमिरेले नाटकको सारकथा वास्तविकतामा ओकले ।

सुपरस्टार बन्ने सपना !

नाटकमा बलात्कृत बालिकाको भूमिका निभाउनु परे पनि यतार्थमा कृष्णाको सपना सुपरस्टार बन्ने नै छ । तर त्यो लक्ष्य कसरी पूरा गर्ने ? स्पष्ट जवाफ कृष्णासँग छैन ।

‘अहिले कक्षा ७ मा पढ्छु । अझै धेरै मेहनत गर्छु । सबैको साथ पाए भने आफ्नो सपना पूरा गरेरै छाड्छु’ उनले भनिन् । चलचित्रमा अभिनय गर्न अभिनय कला सिक्नुपर्छ । यसका लागि दैनिक कक्षा लिनुपर्छ । 

अभिनय कलामा पोख्त रंगकर्मीले प्रशिक्षण दिन्छन् भन्ने कुरा थाहा भएको कृष्णालाई केही दिन मात्रै भयो । जुन दिनदेखि महोत्सवमा नाटक देखाउनका लागि रंगकर्मीबाट कृष्णाजस्ता विद्यार्थीलाई सिकाउन थालियो ।

तर काठमाण्डौ उपत्यकामै भए पनि दैनिक कक्षाकोठामै अभिनय सिक्ने अवसर र आवश्यकताबारे कृष्णाजस्ता धेरै विद्यार्थी बेखबर छन् । अझै पनि अभिनय विद्यार्थीका लागि रहरकै विषय बनाइएको छ । विद्यार्थीलाई व्यवसायिक रंगकर्मी बनाउन लगभग सबै विद्यालय र शिक्षक धेरै पछाडि छन् । थोरैले मात्रै अघि बढेर सोचेका छन् ।

उनकी साथी तेन्जिङले पनि ठूलो स्टार बन्ने सपना पालेकी छन् । तर कलाकार भन्दा उनलाई समाजसेवा गर्ने रहर छ । दुबैको लक्ष्य एउटै भए पनि बाटो फरक फरक छ ।

‘पूर्णिमाको सपना’ नाटकमा अभिनय गरेका अरु बाल कलाकारको सपना पनि उस्तै छ । पेशा डाक्टर इन्जिनियर नै किन नहोश । अभिनय कला सिक्ने र यसबारे जान्ने बुझ्ने रहर सबैलाई छ । तर रहर गरेजस्तो सिक्न सजिलो कसैलाई छैन ।

‘मैले भविष्यमा के बन्छौ ? भनेर विद्यार्थीलाई सोधे भने धेरैले जवाफ दिने भनेको डाक्टर इन्जिनियर नै हो । तर केही विद्यार्थीले भन्न थालेका छन्, म नेपाली फिल्मको सुपरस्टार बन्छु । गायक बन्छु । साहित्यकार बन्छु भन्ने आवाज पनि थपिने गरेको छ । यो राम्रो संकेत हो’ उत्साहित स्वरमा रंगकर्मी दिवाकर भन्छन् । 

कहिलेकाहीँ अभिनय गरेकै भरमा रंगकर्मी बन्ने रहर विद्यार्थीलाई जाग्नु स्वभाविक हो । तर बुझाईमा अझै पनि फरक छ । त्यो भन्दा ठूलो समस्या स्कुलदेखि नै अभिनय र संगीतबारे न्यूनतम जानकारी पनि छैन । जसकारण विद्यार्थी वर्षौं भौंतारिएपछि मात्रै आफ्नो लक्ष्य समात्न पुग्छन् ।

‘१० कक्षासम्म सबैले पढ्छन् । तर त्यसपछि कोही विज्ञान विषय पढेर कलाकारितामा लाग्छन् । कोही दुई चार वर्ष व्यवस्थापन पढेपछि थिएटर कक्षा धाउँछन्’ रंगकर्मी सरोज अर्याल भन्नुहुन्छ ‘कला र संगीतमा रुची भएका विद्यार्थीलाई स्कुलदेखि सिक्ने ठाउँ छैन । अनि आफूले इच्छाएको विषय पढ्न धेरै हन्डर ठक्कर खानुपर्छ ।’

अनि सुरु भयो नवराजको संघर्ष !

कलाकार बन्नैका लागि बालबालिकाले हन्डर ठक्कर खान नपरोस् भनेर आजभन्दा १० वर्षअघि नवराज बुढाथोकीले बाल नाटक महोत्सव आयोजना गर्न सुरु गर्नु भएको हो ।

शैली थिएटरको आयोजनामा रसियन कल्चर सेन्टरमा चलिरहेको यो १० औँ बाल नाटक महोत्सव हो । पहिलो बाल नाटक महोत्सव २०६६ सालमा सम्पन्न भएको थियो । त्यतिबेला जम्मा तीन वटा नाटकबाट शुरु भएको महोत्सवमा अहिले २० वटा विद्यालयबाट छनौट भएका बाल नाटक सहभागी छन् । सैमध्येको एक हो नाटक ‘पूर्णिमाको सपना’ । 

महोत्सवमा शैली थिएटरको आफ्नै नाटक पनि मञ्चन भइरहेको छ । दैनिक तीन वटा जति नाटक प्रदर्शन हुने महोत्सवमा कलिला विद्यार्थीले आफ्नो प्रतिभा देखाइरहेका छन् भने अग्रज रंगकर्मीबाट परिपक्व अभिनय कला सिकिरहेका छन् । 

सुपरस्टार बन्ने सपना पालेर बसेका पूर्णिमा नाटककी कृष्णाजस्ता कलिला विद्यार्थीका लागि यो ठूलो महाकुम्भ हो । यसैका लागि रंगकर्मी बुढाथोकीले रेडियो सगरमाथादेखि शैली थिएटरसम्म संघर्ष गर्नु परेको छ । 

‘रेडियो सगरमाथामा हामीले बाल कार्यक्रम चलाउँथ्यौ । कति कार्यक्रममा बाल नाटक पनि गर्‍याैँ । तर कति रेडियोमा मात्रै बाल प्रतिभाका कुरा गर्नु भनेर २०६६ सालमो बाल नाटक महोत्सव आयोजना गरेका हौँ’ रंगकर्मी सरोज अर्यालतर्फ फर्किंदै बुढाथोकीले भन्नुभयो ‘ त्यतिबेला ३ वटा नाटक थिए । यस वर्ष २० वटा विद्यालय छनौट भएर महोत्सवमा सहभागी छन् । यो हाम्रा लागि ठूलो उपलब्धि हो ।’

उहाँका अनुसार त्यतिबेला बालबालिकाको प्रतिभा रेडियोका बाल कार्यक्रममै सीमित थिए । बाल प्रतिभालाई रेडियोको स्टुडियोभन्दा बाहिर ल्याउन खोज्दा धेरैलाई पत्यार लागेकै थिएन । अर्यालसँग मिलेर सुरु गरेको महोत्सवमा आज हजाराैँ बालबालिकाले थिएटरमा प्रत्यक्ष उभिएर नाटक खेलेको देख्दा बुढाथोकी प्रफूल्ल हुनुहुन्छ ।

‘बालबालिकामा प्रतिभा छ । नाटकको जग नै उनीहरु हुन् । तर कसले त्यो अवसर दिने ? कसले पल्याटफर्म दिने भन्दा सब चुपचाप थिए । हामीले केही फरक गरौँ न त भनेर शुरु गरेको बाल नाटक महोत्सव अहिले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा चम्किरहेको छ ।’

बालबालिकाले पाइरहेको दुःख, समस्या र हिंसाबारे नाटकबाटै बोल्न थालेका छन् । अर्थात कतै न कतै बालअधिकार हनन भएमा त्यसको विरोध भइरहेको छ । अनि अधिकारका लागि सचेतना जगाउनमा पनि यसले ठूलो भूमिका खेलेको छ । अर्कोतर्फ उनीहरुको प्रतिभा पनि प्रष्फुटन भएको रंगकर्मी बुढाथोकीको भनाई छ ।

सुपरस्टार सपना अब कसले पूरा गरिदिने ? शिक्षक वा जनप्रतिनिधिले ?

अहिले काठमाण्डौ उपत्यकामा पर्याप्त थिएटर छन् । कला र संगीत विधाबारे उपत्यकाका धेरैजसो निजी विद्यालयमा पढाई पनि हुन थालेको छ । कतिले विद्यालयमा त कतिले बाहिरै पनि संगीत र अभिनय सिक्ने मौका पाएका छन् ।

तर उपत्यका बाहिरको हकमा यो अझै पनि एकादेशको कथा जस्तै छ । धेरै विद्यालयमा संगीत र अभिनय कक्षा भनेको रेडियो नेपालमा बज्ने नाटकमै सीमित छ ।

जसले सुनेका छन् । तर कहिल्यै त्यसलाई अभ्यास गर्न पाएका छैनन् । अर्थात नाटक र संगीत पनि सिक्न पाइन्छ र ? भन्ने अवस्थामै छन् । 

अर्का रंगकर्मी तथा साहित्यकार पुरु लम्साल कक्षाकोठामा अभिनय कक्षाभन्दा पहिला विद्यार्थीले पढ्ने पाठ्यक्रममै नाटक विधा समेट्नुपर्नेमा जोड दिनुहुन्छ ।

‘नाटक विधा भनेको ७० प्रतिशत अभ्यास अर्थात प्रयोगात्मक र ३० प्रतिशत मात्रै सैद्धान्तिक विषय हो । यसका लागि पहिला पाठ्यक्रममै व्यवस्था गर्नुपर्छ’ लम्साल भन्नुहुन्छ, ‘अनि मात्रै नाटक विधालाई कक्षाकोठासम्म लैजान सकिन्छ ।’ 

पहिलेको तुलनामा कक्षाकोठामा अभिनयकलाबारे चर्चा, परिचर्चा, छलफल र चासो बढ्न थालेको छ । केही विद्यालयमा त पढाई पनि शुरु भएको छ । तर यो पर्याप्त छैन । 

‘पहिलेको तुलनामा केही न केही विकास भएको छ । अलिकति भए पनि अभिनय र संगीत क्षेत्र व्यवसायिक बन्न थालेको छ’ लम्साल अगाडि भन्नुहुन्छ, ‘तर यस क्षेत्रको व्यवस्थित विकासका लागि पहिला जग बलियो हुनुपर्छ । त्यो जग भनेको आजका बालबालिका हुन् । स्कुलदेखि नै विद्यार्थीले यस क्षेत्रबारे जान्ने बुझ्ने मौका पाए मात्रै भोलि घर बलियो हुन्छ ।’

रंगकर्मी अर्याल र लम्साल महोत्सवमा निर्णायक अर्थात ‘जज’को भूमिकामा छन् । रंग पत्रकार स्मृति ढुंगाना पनि निर्णायककै भूमिकामा हुनुहुन्छ । बाल नाटकमा बालबालिकाको क्षमता, प्रतिभा र अहिले पाएको अवसरलाई तीनै जनाले नजिकबाट नियालिरहेका छन् ।

तर कहिलेकाहीँ फाट्टफुट्ट हुने नाटक महोत्सव, स्कुलका अतिरिक्त क्रियाकलापले मात्रै बालबालिकाको प्रतिभाले सफलता पाउन नसक्नेमा तीनै जना सहमत छन् । 

स–साना भए पनि केही बालबालिकामा परिपक्व र सबैलाई लोभ्याउने अभिनय कला छ । तर त्यो अवसर नपाएर उनीहरुभित्रै गुम्सिएको छ, खुम्चिएको छ ।

अहिले विद्यालय तहको शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहले पाएका छन् । स्थानीय स्तरमा भविष्यका सुपरस्टार जन्माउने नाटक, कला र संगीतबारे विद्यार्थीलाई सिकाउने मौका यही हो ।

‘स्थानीय तहसँग अहिले बजेट छ । विद्यालयले पनि त्यही स्थानीय तहबाट बजेट पाउने हो । अब त्यो बजेटको केही अंश नाटक, अभिनय र संगीत कक्षाका लागि किन नछुट्याउने ?’ रंग पत्रकार स्मृति ढुंगाना भन्नुहुन्छ, ‘आखिर राष्ट्रका गहना भनेर चिनिने कलाकार भनेका तिनै बालबालिका हुन । जसलाई आज राम्रो शिक्षा दिक्षाको खाँचो छ ।’

शुरु शुरुमा जनशक्तिको अभाव देखिए पनि अहिले बजारमा पर्याप्त रंगकर्मी छन् । कति पेशागत रुपमा सक्रिय छन् भने कतिले बर्षौ रंगक्षेत्रमा बिताएका छन् । उनीहरुलाई निश्चित निजी स्रोतमै नियुक्त गरेर हरेक विद्यालयमा नाटक र संगीत विधा पठनपाठन गर्ने हो भने अहिले हरेक विद्यालयका विद्यार्थी भोलि सुपरस्टार बन्न सक्छन् ।

तर यसका लागि स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकको गहिरो इच्छाशक्ति हुनुपर्ने महोत्सव संयोजक तथा रंगकर्मी बुढाथोकी बताउनुहुन्छ ।

‘आगामी बर्ष हुने महोत्सवमा हामी ७ वटै प्रदेशका विद्यालयलाई छनौट गर्ने सोचमा छाैँ । यसका लागि हरेक प्रदेशमा पनि छनौट प्रतियोगिता हुन्छ । त्यही अवसर पनि धेरै बालबालिकाका लागि प्रतिभा देखाउने ठाउँ बन्छ’ रंगकर्मी बुढाथोकीले भन्नुभयो ‘अहिलेदेखि नै बालबालिकाले कक्षाकोठामै नाटक विधा पढ्ने मौका पाए भने उनीहरु नै भोलिका सुपरस्टार बन्ने हुन् ।’

अन्तिम अपडेट: असार २३, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया