निर्मलाको ‘भेजाइनल स्वाब’सँग आमाको डीएनए मिल्यो

 माघ १४, २०७५ सोमबार १२:३१:२४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर  – कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको भेजाइनल स्वाब’सँग आमाको डीएनए मेल खाएकोे छ । 

प्रहरीको विधि विज्ञान प्रयोगशालाको रिपोर्ट सोमबार कञ्चनपुर पुगेको छ । रिपोर्टमा “मृतक निर्मलाको योनीबाट संकलन गरिएका स्वाबहरुबाट तयार पारिएको डीएनए प्रोफाइलको अटो स्वमल एसटीआर दुर्गादेवी पन्तको रगत नमुनाबाट तयार परिएको डीएनए प्रोफाइलसँग मेल खाएको छ” भन्ने उल्लेख गरिएको छ ।

दुर्गादेवीको डीएनए निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको डिएनएसँग मेल खाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताउनुभयो । 

‘जनमानसमा एक किसिमको आशंका फैलिएको थियो, त्यसको ‘भेरिफाई’ गर्न मृतकको आमाको ब्लड स्याम्पल हामीले विधिविज्ञान प्रयोगशालामा पठाएको थियाैँ’, उहाँले भन्नुभयो ‘त्यसको रिजल्ट सोमबार आइपुगेको छ । रिपोर्टमा निर्मलाको डीएनए रिपोर्टसँग दुर्गादेवीको डीएनए मेल खाएको भन्ने उल्लेख गरिएको छ ।’

घटनामा प्रमाण मेट्न प्रहरी नै संलग्न रहेपछि निर्मलाको शरीरबाट निकालिएको डीएनएमाथि पीडित परिवार र सर्वसाधारणले शंका व्यक्त गर्दै आएका थिए । उनीहरुले निर्मलाको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न माग गर्दै आएका थिए । 

यस्तै, छोरीको डीएनए वास्तविक भएको नभएको पुष्टि गर्न दुर्गादेवीले गएको पुस २५ गते आफ्नो रगतको नमूना दिनुभएको थियो । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको हत्या भएको ६ महिना बितिसकेको छ । तर, अहिलेसम्म वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । 

अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टलगायत झण्डै एकसय जना शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरिसकेको छ । आफूले अपराध गरेको स्वीकार गरेकै व्यक्तिहरुको डीएनए नमिलेपछि निर्मलाको भेजाइनल स्वाबबाट संकलन गरिएको डीएनएमाथि नै शंका उत्पन्न भएको थियो ।

अन्तिम अपडेट: चैत २, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया