पार्टीभित्रको गुट अन्त्य गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

 असार ६, २०७५ बुधबार ८:३३:३२ | उज्यालो सहकर्मी

मकवानपुर - नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीभित्रको गुट, उपगुट अन्त्य गर्न माग गरेका छन् ।

हेटौंडामा चलिरहेको पार्टी सभापतिहरुको राष्ट्रिय भेलाबाट अब पार्टीलाई एक ढिक्का भएको सन्देश दिनुपर्ने उनीहको माग छ ।

पार्टी भित्रको चरम गुट, उपगुट र कम्युनिष्टका दुई पार्टी एक भएर चुनाव लडेका कारण पराजय भोग्नुपरेको पनि उनीहरुको ठम्याई छ । 

नेपाली कांग्रेस बागलुङ सभापति दिपेन्द्र बहादुर थापा भन्नुहुन्छ, ‘अब व्यक्तिवादीभन्दा पनि सिंगो कांग्रेसको हितका निम्ति एउटा सन्देश लिएर जानैपर्छ, व्यक्ति भन्दा पनि संस्थालाई ध्यानमा राखेर सबैले काम गर्नुपर्छ ।’ 

मंगलबार सुरु भएको भेलामा पार्टी सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला सम्मका नेताहरुले पनि एकतामा जोड दिए ।

तर एकताको कुरा गरेपनि संस्थापन र पौडेल पक्षले आफ्नो गुटलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा भेलामा पनि अनौपचारिक छलफल गरिरहेका छन् ।

भेलामा आफ्ना पक्षका सभापति र केन्द्रीय समितिका नेताले कुरा एकताको गर्ने, तर आफ्नो गुटलाई नै हाबी बनाउने तयारीमा लागेको भन्दै सभापतिहरु रुष्ट समेत भएका छन् ।

‘दुई किनारामा रहेका दुई कम्युनिष्टबीच एकता भैसक्दा समेत एउटै कांग्रेसभित्रका दुई खेमा चाहिँ किन एक हुन सक्दैनन् ?’ महोत्तरीका कांग्रेस सभापति महेन्द्र कुमार राय यादवले प्रश्न गर्नुभयो । 

यस्तै कांग्रेस बर्दियाका सभापति सञ्जय गौतम भन्नुहुन्छ, ‘यही स्थितिमा कांग्रेस अगाडि बढ्न सक्दैन, अब पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुको विकल्प पनि छैन ।’ 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया