नेइमारको चोट बल्झियो, विश्वकप नै गुमाउँछन् कि भन्ने चिन्ता

 असार ६, २०७५ बुधबार ९:५७:५१ | उज्यालो सहकर्मी

ब्राजिलियन स्टार खेलाडी नेइमार खुट्टाको चोटका कारण मंगलबारको अभ्यासमा पूरा समय सहभागी हुन सकेनन् । 

अभ्यासका क्रममा पूरानै चोट बल्झिएपछि नेइमारले फिजियोथेरापिस्टसँग उपचार लिइरहेको डेलीमेलले जनाएको छ । रुसको सोचीमा भएको अभ्यासमा साह्रै नै दुखाई महसूस भएपछि नेइमारले अभ्यास गर्न सकेनन् । 

‘उनले निकै नै दुखाइै महसुस गरेका छन् । यसमा स्विट्जरल्याण्डले गरेका धेरै फाउलको पनि हात रहेको छ’, ब्राजिलियन फुटबल संघका प्रवक्ताले पत्रकारहरुसँग भने ।

उनका अनुसार नेइमारले बुधबार सामान्य अभ्यास गर्नेछन् । ब्राजिलले विश्वकप २०१८ को पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको थियो ।

उसले अब अर्को खेल शुक्रबार कोस्टारिकासँग खेल्नेछ ।

पीएसजीबाट खेल्दै गर्दा गएको फेब्रुअरीमा नेइमारको खुट्टा भाँचिएको थियो । त्यसपछि लामो समय आराम गरेका नेइमार अझै पनि पूर्ण रुपमा निको भएका छैनन् । 

सन् २०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा फ्र्याक्चर भएपछि सेमिफाइनल खेल गुमाएका थिए । 

त्यसबेला क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले ८८ औँ मिनेटमा नेइमारलाई कुहिनाले धक्का दिएपछि नेइमारलाई चोट लागेको थियो ।

नेइमारविना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले स्तब्ध भएको थियो । चालु विश्वकपमो पहिलो खेल नै ड्र खेलेको ब्राजिलले समूह चरणका बाँकी दुई खेलमा भने राम्रो गर्नु पर्नेछ । 

त्यसका लागि सबैको ध्यान नेइमारमा छ । आशा गरौँ नेइमारको चोट चाँडै निको होस् र उत्कृष्ट प्रदर्शन गर्न सकून् ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया