विद्यालयमै स्यानिटरी प्याडकाे व्यवस्था: अबदेखि महिनावारी हुँदा घर फर्कनु पर्दैन

 माघ १५, २०७५ मंगलबार १८:४०:५४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - विद्यालय पढ्न आएर महिनावारी हुनेबित्तिकै घर फर्कनुपर्ने बाध्यता भोग्दै आएका हेटौंडाका ५० वटा सरकारी विद्यालयका छात्राहरुको समस्या अब हटेको छ ।

हेटौंडा उपमहानगरपालिकाले यस क्षेत्रका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड वितरण गरेपछि घर फर्कनुपर्ने वषौैदेखिको बाध्यता हटेको हो । 

नगरका आधारभूत तथा माध्यमिक तहका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालय छोडेर घर बस्नुपर्ने बाध्यता, विद्यालय आए पनि घर फर्कनुपर्ने समस्या अब हुन नदिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

पहिलो चरणमा यहाँका सामुदायिक विद्यालयमा ५ हजार ५ सय ५६ वटा प्याड वितरण गरिसकेको मेयर महतले बताउनुभयो । नगरका ८१ वटा सामुदायिक विद्यालय मध्ये प्राथमिक तहबाहेक १२ कक्षासम्मका छात्राहरुलाई महिनावारीको समयमा हुने समस्या हटाउनका प्याड वितरण गरिएको हो । 

चालु आर्थिक वर्षको असार महिनासम्मका लागि प्रत्येक छात्रालाई पुग्नेगरी अब थप ६ हजार ५ सय ५० पाकेट सेनेटरी प्याड वितरण गरिने उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख उपसचिव लिला गौतमले बताउनुभयो । प्याड फेर्न समस्या भएका विद्यालयमा यस्ता कोठाहरु पनि बनाउने तयारी उपमहानगरपालिकाको छ ।

हेटौंडा नगरक्षेत्रका सबै श्रोतकेन्द्रहरुमा प्याड लैजानका लागि पत्राचार भइसकेको र लैजाने क्रममा पनि रहेको मेयर महतले बताउनुभयो । यसभन्दा अगाडि महिनावारी हुनेबित्तिकै छात्राहरु लाजका कारण विद्यालयका शिक्षकलाई सोधेर घर जाने भए पनि अहिले भने त्यो समस्या हटेको विद्यालयका शिक्षकहरु बताउँछन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया